सडक बालबालिकाको विश्व कपमा नेपाली टोली

सडक बालबालिकाको विश्व कपमा नेपाली टोली


रुसको मस्कोमा हुने सडक बालबालिकाहरुको विश्वकप स्ट्रिट चाइल्ड वल्र्डकप ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा सहभागि हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदले बिदाई गरेको छ ।

त्रिपुरेश्वरस्थित ओलम्पियन सेमी कवर्डहलमा आयोजित कार्यक्रममा परिषदका सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई सफलताको शुभकामना दिदै बिदाई गरेका थिए ।

नेपाली टोलीलाई बिदाई गर्दै सदस्यसचिव विष्टले देशको नाम अन्तर्राष्ट्रिय समुदायमा फैलाउन र आफूजस्तै अन्य सडक बालबालिकाको लागि प्रेरणा बन्न शुभकामना दिएका थिए ।

उक्त विश्वकपमा ९ जना खेलाडीले मस्कोमा नेपालको प्रतिनिधित्व गर्नेछन् । स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा हुने प्रतियोगिता सेभेन ए साईडको स्वरुपमा हुनेछ । नेपाली टिम बैशाख २६ गते बुधबार मस्को प्रस्थान गर्नेछ ।

रुस जाने नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनवीर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन् । सेल्टर आश्रय नेपालले सडक बालबालिकाहरुको राष्ट्रिय लिग सञ्चालन गरेर टिम छनोट गरेको थियो ।