उत्तर कोरियाली जेलबाट तीन अमेरिकी रिहा

उत्तर कोरियाली जेलबाट तीन अमेरिकी रिहा


उत्तर कोरियाको थुनामा रहेका तीनजना अमेरिकी नागरिक रिहा भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको बुधबार भएको उत्तर कोरिया भ्रमणलगत्तै ती तीन अमेरिकी छुट्न सक्ने अनुमान गरिएको थियो । सोहीबमोजिम नै उनीहरु रिहा भएका हुन् ।

उत्तर कोरियाली सरकारले ती अमेरिकीलाई रिहा गर्ने तयारी गरेको थियो । कोरियाली अधिकारीहरूले अमेरिकी विदेशमन्त्रीको भ्रमणपछि छोड्ने जनाएका थिए । विगत लामो समयदेखि उत्तर कोरिया र अमेरिकाले दुवै तर्फका नागरिकलाई आआफ्नो देशको भ्रमणमा रोक लगाउने गरेको भएपनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरिया भ्रमण गर्ने गरेका थिए ।

उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर थुनामा राखेका ती अमेरिकीलाई जेलमै राखेको थियो । पछिल्लो समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा केही सुधार आउन थालेपछि भने ती अमेरिकी छुट्ने अपेक्षा गरिएको थियो ।

यसैबीच उत्तर कोरियाद्वारा रिहा गरिएका तीन अमेरिकीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन् । विहीबार वासिङ्टन डिसी पुगेका उनीहरुलाई राष्ट्रपति ट्रम्पले स्वागत गरेका बताइएको छ। उनीहरुलाई वासिङ्टन विमानस्थलमै पुगेर राष्ट्रपति ट्रम्पले स्वागत गरेका थिए ।

गत हप्ता मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली जेलमा रहेका अमेरिकी नागरिकलाई तत्कालै रिहा गर्न आग्रह गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको छ । सोही अवसरमा उनीहरूलाई रिहा गर्न उनले माग गरेका थिए ।

यसै उच्चस्तरीय भेटवार्ताको तयारीको लागि नै अमेरिकी विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाको भ्रमण गरेका थिए । सो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।