तीन वर्षभित्रै विद्युतमा आत्मनिर्भर हुने उर्जामन्त्रीको दाबी

तीन वर्षभित्रै विद्युतमा आत्मनिर्भर हुने उर्जामन्त्रीको दाबी


सरकारले आगामी १० बर्षमा ५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएको छ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने योजना बनाएको बताए । उत्पादित विद्युतमध्ये १० हजार मेगावाट मुलुकभित्र खपत गराउने र ५ हजार मेगावाट मुलुकबाहिर निर्यात गर्ने योजना सरकारको रहेको उनको भनाई छ ।

आगामी ३ वर्षभित्र मुलुकलाई विद्युतमा आत्मनिर्भर बनाउँदै निर्यातको लक्ष्यमा अघि बढ्ने मन्त्री पुनले दाबी गरे । उत्पादित विद्युत निर्यातको लागि उर्जा मन्त्रालयले पूर्वपश्चिम राजमार्गमा ७ सय ६५ केभी प्रसारण लाइनको निर्माण गर्ने जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको जलविद्युतसम्बन्धी अन्तरक्रिया कार्यक्रममा इपानका अध्यक्ष शैलेन्द्र गुरागाँईले ५ वर्षका लागि स्थायी सरकार आएकोले उर्जा क्षेत्रमा फड्को मार्ने विश्वास ब्यक्त गरे । उनले उर्जामा लगानी गर्नको लागि अर्थमन्त्रालय र राष्ट्र बैंकले नयाँ ब्याजदर नीति बनाउनुपर्नेमा जोड दिए ।

नेपाल सरकार, विद्युत प्राधिकरण र यसका सहायक कम्पनी तथा निजी क्षेत्रसमेतको सक्रियतामा आगामी ३ वर्षभित्र ३ हजार र ५ वर्षभित्र ५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखिएको छ । हाल प्राधिकरण र निजी क्षेत्रसमेतको गरेर जम्मा १ हजार ७३ मेगावाट विद्युत उत्पादन भइरहेको छ ।