लामिछाने पक्राउ परे प्रतिवाद गर्ने विपक्षी दलहरुको निर्णय

लामिछाने पक्राउ परे प्रतिवाद गर्ने विपक्षी दलहरुको निर्णय


सहकारीको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संकेत गरेका छन् । आज (२ कात्तिक) बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष प्रचण्डले रास्वपा सभापति लामिछाने पक्राउ पर्नसक्ने सूचना आफूले पाएको ब्रिफिङ गरेका हुन् ।

बिहीबार बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगृहमन्त्री लामिछाने पक्राउ पर्न सक्ने संकेत गरेको भन्दै प्रचण्डले बैठकमा सो खुलासा गरेका आजको बैठकमा सहभागी एक नेताको भनाइ छ । लामिछाने पक्राउ परेमा प्रतिवाद गर्ने विषयमा बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिपक्षी दहरुको सोही बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ । विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष बैठकले निकालेको बताइएको छ ।

जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमासमेत छलफल भएको जानकारी दिँदै माओवादी नेता शक्ति बस्नेतले भनेका छन्- ‘प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भएको छ ।’