लामो समयदेखि चल्दै आएको नेपाल ओलम्पिक कमिटीको विवाद साम्य हुने कुनै सङ्केत देखिएको छैन । गत साता एनओसीले आफ्नो छैटौँ नियमित साधारणसभाको आयोजना गरी राखेपलाई चुनौती दिएपछि यो विवाद अझ बल्झेको छ । राखेपले आफूमातहतमा रहेका राष्ट्रिय खेलकुद सङ्घहरूलाई सर्वोच्चको आदेशको स्मरण गराउँदै उक्त साधारणसभामा नजान ह्विप जारी गरे पनि सङ्घका पदाधिकारीहरूले राखेपको आदेशलाई अवज्ञा गरेका थिए । एनओसीमा २५ सदस्य रहेकोमा २१ सदस्यले साधारणसभामा सहभागिता जनाएर उल्टै आफ्नो मातृ संस्थालाई चुनौती दिएका थिए । उक्त साधारणसभामा एथलेटिक्स, फुटबल, तेक्वान्दो, कबड्डी र ट्रायथोलनले भने भाग लिएका थिएनन् । यसरी राखेप र ओलम्पिकको विवादको दूरी बढ्दै गएको बेलामा सङ्घका पदाधिकारीहरूले खेलेको भूमिकाले आगोमा घ्यू थप्ने कार्य गरेको छ । राखेप र एनओसीको दूरीलाई कम गर्न र विवाद मत्थर गर्नका लागि सङ्घहरूले प्रेरणादयिक भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै राखेपलाई वाइपास गर्दै चुनौती दिएपछि ओलम्पिककोे विवाद अझ गहिरिन पुगेको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रव प्रधानले साधारणसभालाई सम्बोधन गर्दै केही सङ्घका पदाधिकारी डराएर कमिटीको साधाराणसभामा उपस्थिति नभएको आरोप लगाएका छन् । ‘जसले हिम्मत गर्छ उसको विजय हुन्छ, डराएर बस्नेहरू पराजित हुन्छन्,’ प्रधानले भने । आफू खेलकुद सङ्घहरू स्वायत्त बनाउने अभियानमा रहेको प्रस्ट पार्दै ‘हामी हाम्रा लागि लडिरहेका छैनौँ, हामी खेलकुदका सङ्घहरूको स्वायत्तताका लागि लडेका छौँ ।’ प्रधानले ओलम्पिकको विवाद मिलाउन सहकार्य गरेर अगाडि बढ्न तयार रहेको अभिव्यक्ति दिएका छन् । उनले त्यसका लागि वर्ता कमिटी बनाएकोसमेत बताए । ‘तर, राखेपको काम खेलाडी र पदाधिकारीलाई तर्साउने मात्र भएको र त्यसले खेलकुदको विकासमा तगारो लगाएको प्रस्ट पारेका थिए । ‘अन्तर्राष्ट्रिय सभागिता सङ्घ र ओलम्पिकबाहेक अन्यले गराउन नसक्ने दाबी गर्दै प्रधानले खेलाडी सहभागिता हुँदा कारबाही हुने धम्की आएपछि डराएको खेलाडीले कसरी प्रतिस्पर्धा गर्न सक्छ । त्यसैले अब सबैले बुझिसकेका छन्, ‘खेलाडीलाई कारबाही गर्छु भन्नेलाई खेलाडीले नै गालामा थप्पड हान्नेछन् ।’
त्यस्तै एनओसीको महासचिव जीवनराम श्रेष्ठले सरकारले ऐन परिवर्तन गरेर ओलम्पिक विवाद अन्त्य गर्नुपर्ने बताए । श्रेष्ठले खेलकुदका लागि एकजुट भएर जाने बताउँदै त्यसका लागि सरकार गम्भीर हुनुपर्ने बताए । राष्ट्रिय खेलकूद प्रतियोगिताको मुख्य सञ्चालन अन्तर्राष्ट्रिय मापदण्डअनुसार ओलम्पिक कमिटीले गर्न पाउने धारणा राख्दै श्रेष्ठले दोहोरो चरित्रले खेलकुदको विकास नहुने प्रस्ट पारेका थिए । त्यस्तै जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिकको विवादका कारण सङ्घ र खेलाडी मर्कामा परेको बताउँदै यथाशीघ्र समाधानको उपाय पत्ता लगाउन जोड दिएका थिए । त्यस्तै छानबिन समितिको प्रतिवेदनको आधारमा एनओसीका कार्यकारिणी सदस्य रवि राजकर्णिकारले ओलम्पिक मुभमेन्टविरुद्ध क्रियाकलाप गरेको भन्दै साधारण सदस्य मात्र रहनेगरी कार्यकारी सदस्यबाट हटाएको छ । राजकर्णिकारले लन्डन ओलम्पिकताका कमिटी अपारदर्शी र ओलम्पिकको भावनाविपरीत चलेको भन्दै विद्रोह गरेका थिए ।
साधारणसभाले आर्थिक वर्ष सन् २०१३ लागि आईओसीसँग दुई करोड ८६ लाखको बजेट माग गर्ने, खेलकुद सङ्घहरूलाई राष्ट्रिय च्याम्पियनसिप गर्नका लागि अनुदान दिनेलगायतका निर्णय गरेको छ । साधारणसभाले पुरानै वार्ता कमिटीलाई निरन्तरता दिँदै जुडोका दीपकहर्ष बज्राचार्यलाई वार्ता कमिटीको सदस्यमा नियुक्ति गरेको छ । वार्ताको माध्यमबाट विवाद समाधान गर्न ढोका खुला राख्न सो कमिटी बनाएको वैद्यले बताए । कमिटीका उपाध्यक्ष गंगाबहादुर थापाको संयोजकत्वमा रहेको समितिको सदस्यमा चतुरानन्द वैद्य, लक्ष्मणकुमार श्रेष्ठ र दीपकहर्ष बज्राचार्य रहेका छन् । कमिटीको साधारणसभाले नेपाल फेन्सिङ सङ्घलाई पूर्ण सदस्यता प्रदान गरेको छ ।
सो अवसरमा नेपाल ओलम्पिक कमिटीका संस्थापक सदस्य सुशीलशमशेर राणा, ओलम्पिकको झन्डा सगरमाथा पुर्याउने कमिटीका कोषाध्यक्ष छिमी उर्गेन गुरुङ, ग्वान्जाओ एसियाडमा नेपाललाई कास्य पदक दिलाएको बक्सिङका दीपक महर्जन र वरिष्ठ खेलकुद पत्रकार श्याम चित्रकारलाई सम्मान गरिएको थियो । त्यसैगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने पहिलो महिला रिता शाह मुखर्जी, पहिलो महिला स्पोर्टस् कर्मचारी विमला मल्ल महर्जनलाई उक्त सभामा नेपाल ओलम्पिक कमिटीको महिला तथा स्पोर्टस् कमिसनकी अध्यक्ष गीता राणाले कमिसनका तर्फबाट २५ हजार रुपैयाँसहित सम्मान गरेकी थिइन् ।
राखेप विवाद समाधान गर्न तयार छ : लामा
० नेपाल ओलम्पिक कमिटीको विवादले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा मुलुकको मानमर्दन भइरहेको छ, यहाँ सर्वोच्चको फैसला एकातिर छ भने राखेप र एनओसीको आफ्नै अडान छ । यस्तो अवस्थामा विवादको चुरो ज्यँुको त्युँ रहेको छ । तसर्थ तपाईं सदस्यसचिव भएको नाताले ‘ब्लु आई’को प्रयोग कत्तिको उचित ठान्नुहुन्छ ?
– एनओसीको विवाद धेरै पुरानो र विवाद गर्ने दुई कमिटी (सर्वोच्चबाट निर्णीत कमिटी र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी वा मान्यता प्राप्त मानिने एनओसी) अहिले गुरु–चेलाजस्ता देखिएका छन् । हिजो सँगै बसेर खेलाडी शोषण तथा झगडा गरेको र सँगै विदेश सयरमा रमाएको देखिन्छ । यो दुई कमिटीको झगडा खेलकुद र खेलाडीको हितमा भन्दा पनि आफू एनओसीमा रहिरहनुपर्ने हठवादी, थुम्केली राजा प्रवृत्तिका कारणले विवाद भएको देखिन्छ । मैले यो झगडा मिलाउन उहाँहरूलाई बारम्बार आह्वान गरेको छु, पटकपटक उहाँहरूसँग बसेको छु । तर, उहाँहरू एक किसिमको हठवादी मैमत्ता र मेरोे गोरुको बाह्रैटक्का भन्ने अडानमा कायम छन् । एकातिर आईओसी अर्कोतर्फ सर्वोच्चको फैसलाको कारणले यो विवाद मिल्न सकिरहेको छैन । तसर्थ राखेप यो विवादको चेपुवामा परेको छ । जसले गर्दा नेपालको खेलकुदको विकासमा जुन प्रकारको सहयोग अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्न सकिन्थ्यो त्यो प्राप्त हुन सकेको छैन ।
० ओलम्पिकको विवादबारे प्रधानमन्त्री बाबुराम भट्टराईले समेत यो अन्तर्राष्ट्रिय मुद्दा हो, हामीले पहल मात्रै गर्ने हो, समाधान त आईओसीले गर्ने हो भन्ने अभिव्यक्ति दिएको अवस्थामा अब ओलम्पिक विवादको समाधान कसरी हुन्छ होला त ?
– एनओसीको विवादको समाधानको प्रक्रिया एउटै तरिकाले मात्र हुने सम्भव देख्छु म । त्यो भनेको दुईवटै झगडिया बसेर मध्यावधि निर्वाचनको माध्यमबाट एकताबद्ध हुने र एनओसीले ओलम्पिक चार्टरलाई फलो गर्ने । जुन कुरा दुवै झगडालुले आ–आफ्नो कार्यकालमा ओलम्पिक चार्टरको भाषण छाँट्ने, अरूलाई उपदेश दिने, तर आफू पालना नगर्ने र व्यक्तिगत स्वार्थका लागि चार्टरको कुरा गर्ने प्रवृत्तिबाट मुक्त भएर यदि ओलम्पिक चार्टरलाई अक्षरश: पालना गर्ने हो भने ओलम्पिकको विवाद तत्काल समाधान हुन्छ । राखेप विवाद समाधान गर्न सहजकर्ताको रूपमा काम गर्न आज पनि तयार छ । मूलभूत रूपमा सदस्यसचिव हुनेबित्तिकै एनओसीमा जाने रुक्मशमशेर राणा, जीवनराम श्रेष्ठ र किशोरबहादुर सिंहकै कारणले ओलम्पिकमा विवादको बिउ रोपिएको देखिन्छ । म उहाँहरूको यो प्रवृत्तिलाई खारेज गर्न चाहन्छु, निन्दा गर्न चाहन्छु । एउटा सहजकर्ताको भूमिका निर्वाह गर्न चाहन्छु र यो विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहन्छु । उहाँहरूलाई पनि यो विवादको कलङ्क नबोक्न अनुरोध गर्दछु ।
बज्रबाराही तेक्वान्दो डोजाङ टिम च्याम्पियन
आयोजक बज्रबाराही तेक्वान्दो डोजाङले प्रथम जीपी कोइराला स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । बज्रबाराहीले तीन स्वर्ण, दुई रजत र दुई कास्य जित्यो । दुई स्वर्ण, दुई रजत र एक कास्य जितेको छ्यासीकोट तेक्वान्दो डोजाङ दोस्रो भयो । तेस्रो स्थानमा रहेको खुमल तेक्वान्दो डोजाङले दुई स्वर्ण, एक रजत र तीन कास्य हात पारेको थियो । बज्रबाराही र नेपाली काङ्ग्रेस चापागाउँ, गाउँ इकाइ समितिद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको पुरुषमा न्यु गोल्डका उज्ज्वल ढकाल तथा महिलामा सानोठिमी तेक्वान्दो डोजाङकी रिता मुस्याख्वा उत्कृष्ट खेलाडी घोषित भएका थिए । विजेतालाई नेपाल काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा दुई सय ५० खेलाडीले १४ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक बज्रबाराहीका प्रमुख दिल महर्जनले जनाएका छन् ।
सविना र वीरमान राष्ट्रिय च्याम्पियन
मध्यमाञ्चलकी सविना श्रेष्ठ १७औँ पुरुष तथा १०औँ महिला तौलसमूह राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिताको महिला खुला तौल समूहमा पहिलो भएकी छन् । फाइनलमा सविनाले एसियाली रजत विजेता मध्यमाञ्चलकै ज्योति लामालाई पराजित गरेकी थिइन् । सुदूरपश्चिमाञ्चलकी निर्मला बज्राचार्य तेस्रो तथा मध्यपश्चिमाञ्चलकी सविना लामा चौथो भएका थिए ।
महिला ५५ केजीमुनिको उपाधि भिडन्तमा पश्चिमाञ्चलकी प्रतिमा माझीले मध्यमाञ्चलकी सलिना लामालाई हराउँदै स्वर्ण जितिन् । पश्चिमाञ्चलकी सुजाता राई तेस्रो तथा सुदूरपश्चिमाञ्चलकी सीता राई चौथो स्थानमा रहेका थिए । महिलाको दुवै स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार, तेस्रोले दुई हजार पाँच सय र चौथोले एक हजार दुई सय ५० रुपैयाँ प्राप्त गरेका थिए ।
नेपाल क्योकुसिन कराते डो सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुष खुलामा मध्यमाञ्चलका वीरमान लामाले बाजी मारे । फाइनलमा उनले आफ्नै क्षेत्रका ज्ञानबहादुर तामाङलाई पाखा लगाएका थिए । मध्यमाञ्चलकै सञ्जय राई तेस्रो तथा पश्चिमाञ्चलका नारायण आचार्य चौथो भए । पुरुषमा चार स्थान हात पार्नेले क्रमश: ३० हजार, १५ हजार, सात हजार ५ सय र तीन हजार पाँच सय नगद पुरस्कार प्राप्त गरेका थिए । विजेतालाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, आयोजक सङ्घका अध्यक्ष सिहान जगतप्रसाद गौचनलगायतले पुरस्कृत गरेका थिए । दुईदिने प्रतियोगितामा ४६ खेलाडीले तीन स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
विशेष तेक्वान्दो प्रशिक्षण सम्पन्न
काठामाडौंमा एकदिने विशेष तेक्वान्दो प्रशिक्षण सम्पन्न भएको छ । मूलपानीस्थित बाल गीताञ्जली विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विविध तेक्वान्दो प्रदर्शनसमेत गरिएको थियो । आठौँ दक्षिण एसियाला खेलकुलका स्वर्णपदक विजेता मास्टर राजकुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले आप्mनो अनुभवसमेत बाँडेका थिए । क्यानडाको मुडुक्वान तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत रहनुभएका कुकिवन ७औँ डान राईले तेक्वान्दोसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा एक सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक महेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन भने डोजाङ प्रमुख अशोक खड्काले गरेका थिए । द कमान्डो चलचित्रका नायकसमेत रहनुभएका राईलाई घिमिरे र खड्काले संयुक्त रूपमा मायाको चिनो प्रदान गरेका थिए ।
ह्यान्डबल टोलीको छनोट
मित्रराष्ट्र पाकिस्तानको फैसलावादमा हुने दक्षिण एसियाली पुरुष बिच ह्यान्डबल प्रतियोगितामा भाग लिने नेपाली टोलीको छनोट पूरा भएको छ । प्रतियोगिता चैत १४ गतेदेखि चार दिनसम्म चल्नेछ । छनोट भएका खेलाडीमा अमर श्रेष्ठ, विमल अधिकारी, प्रदीप रसाइली, वीरेन्द्र चन्द, श्रीबहादुर सिँजाली, सुनील खत्री, जुक्तबहादुर श्रेष्ठ र मदन चुनारा रहेका छन् । टिम म्यानेजरमा रविन धौभडेल, टिम प्रशिक्षकमा जयन्तकुमार शर्मा र अरुणलाल कर्ण छन् । रेफ्रीमा सन्देशकुमार रेग्मी र चित्रबहादुर थापा, अफिसियलमा नेपाल ह्यान्डबल सङ्घका वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, कोषाध्यक्ष मीठाराम अधिकारी तथा सदस्य प्रवीणकुमार थोकर (तामाङ) रहेको नेपाल ह्यान्डबल सङ्घले जनाएको छ ।
सुरोज ब्याटमिन्टन च्याम्पियन
रिमिक्सका सुरोज महर्जन ‘तेस्रो ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन च्यामिपयनसिप–२०६९’को च्याम्पियन भएका छन् । उनले प्रयागपोखरीका सुनिल बाराहीलाई फाइनलमा २१–१०, १८–२१ र २१–१८ को कठिन जित निकाल्दै उपाधि प्राप्त गरेका हुन् । विजेताले नगद रु. पाँच हजार, दोस्रोले दुई हजार पाँच सय र तेस्रो हुनेले एक हजार पाँच सय प्राप्त गरेका थिए । सिर्जनशील युनिक क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको सम्पन्न फाइनल खेलको यू– १५ छात्रतर्फको खेलमा यङगुबाहालका रुकेश महर्जनले दथुलंका प्रफुल्ल महर्जनलाई १५–२१, २१–१२ र २१–१४ ले पराजित गरे । प्रथमलाई नगद ४००० प्रदान गरियो भने दोस्रोलाई २००० र तेस्रो हुनेले १÷१ हजार प्राप्त गरेका थिए ।
लगनखेलस्थित साझा किनमेल केन्द्रको प्राङ्गणमा सम्पन्न पुरुष डबल्सको फाइनलमा आयोजकका दत्त थापा र राजु देउजाको जोडीले रिमिक्सका सुरोज महर्जन र किशोर ब्यञ्जनकारको जोडीलाई २१–१७, १५–२१ र २२–२० ले पराजित गरेका थिए । विजेताले नगद १० हजार प्राप्त गरे भने दोस्रो हुनेले ६ हजार र तेस्रोले तीन÷तीन हजार प्राप्त गरेका थिए । प्रतियोगितामा उत्कृृष्ट खेलाडीको पुरस्कार भिन्छेबहालका सुजित बज्राचार्यले पाएका थिए । अपाङ्गताका कारण पनि प्रतियोगितामा समावेश भई खेल खेलेबापत राम राईलाई सम्मान गरिएको थियो । विजेता खेलाडीलाई प्रमुख अतिथि ललितपुरका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठ, वरिष्ठ ब्याडमिन्टन खेलाडी मोहनबहादुर शाही, ब्याडमिन्टन एसिया कन्फेडेरेसनका कार्यकारी सदस्य प्रकाशबहादुर शाही, नेपाल ब्याडमिन्टन सङ्घका महासचिव रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
राष्ट्रिय ब्याडमिन्टन चैतमा
नेपाल ब्याडमिन्टन सङ्घको तत्वावधान तथा काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा ३६औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ४० जिल्ला, नेपाल प्रहरी क्लब, एपीएफ क्लब र नेपाल आर्मी क्लबका करिब ६ सय खेलाडीको सहाभागिता रहने आयोजक एवम् प्रतियोगिता मूल आयोजक कमिटीका अध्यक्ष दीपक थापाले जानकारी गराएका छन् ।
प्रतियोगितामा विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एउटै प्रतियोगितामा धेरै स्पर्धाले गर्दा हुने चापलाई कम गर्न आगामी वर्षदेखि प्रतियोगिता विभिन्न तीन चरणमा सञ्चालन गरिने ब्याडमिन्टन सङ्घका केन्द्रीय महासचिव रामजीबहादुर श्रेष्ठले बताए । उनले प्रतियोगितालाई सिनियर, जुनियर र टिम गरी तीन चरणमा गर्ने प्रस्ट पारे ।
प्रतियोगिताको मुख्य प्रायोजक मिस्क रहेको छ । सहप्रायोजकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप), काठमाडौं महानगरपालिका, नोबेल अस्पताल, सिनामंगल, एनएमबी बैंक, एन्फा, हिमालयन ब्रुअरी तथा स्काई केबुल नेटवर्क छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ३८ लाख रुपैयाँ खर्च हुनेछ । ६ दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछन् ।
अम्बिका स्मृति जुडोमा मोहन र लीलालाई स्वर्ण
चौथो अम्बिका स्मृति राष्ट्रव्यापी खुला तौल जुडो प्रतियोगिताको पुरुषमा काठमाडौंका मोहन सुनवार र महिलामा लीला अधिकारीले स्वर्ण जितेका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको फाइनलमा मोहनले नेपाली आर्मी क्लबका जंगबहादुर सारुलाई पराजित गरेका थिए । आर्मीका कालुमान तामाङ तथा काठमाडौंका सरोज महर्जन संयुक्त रूपमा तेस्रो स्थानमा रहे । शीर्ष तीन स्थान हात पार्ने क्रमश: सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार हात पारेका थिए ।
नेपाल जुडो सङ्घद्वारा आयोजित प्रतियोगिताको अर्को उपाधि भिडन्तमा लीलाले कैलालीकी गंगा चौधरीलाई हराइन् । नेपाल प्रहरी क्लबकी इन्दिरा राई तथा एपीएफ क्लबकी देविका खड्का तेस्रो भए । पहिलोले पाँच हजार, दोस्रोले तीन हजार तथा तेस्रोले दुई हजार नगद पुरस्कार प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा मोहन र लीला उत्कृष्ट खेलाडी पनि घोषित भएबापत थप १–१ हजार हात पारेका थिए । पुरुषमा आर्मीका जंगबहादुर सारु तथा महिलामा लीलाले उत्कृष्ट इप्पोनको उपाधिसमेत हात पारे । दुवैले १–१ हजार नगद पुरस्कार जितेका थिए ।
नेपाल जुडो सङ्घका पूर्वउपाध्यक्ष स्व. अम्बिकाबहादुर क्षेत्रीको स्मृतिमा सञ्चालित प्रतियोगिताको पुरुषमा ३२ तथा महिलामा १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको सम्पूर्ण खर्च स्व. अम्बिकाका परिवारले प्रायोजन गरेको हो । विजेतालाई न्यायाधीश शम्भुबहादुर खड्का, स्व. अम्बिकाका छोरा प्रमोदलगायतले पुरस्कार प्रदान गरेका थिए । यसअघि प्रतियोगिताको उद्घाटन जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले गरेका थिए ।
प्रतिक्रिया