जापानमा पहिलाे नेपाली

जापानमा पहिलाे नेपाली


जुन १७, १९०२ अर्थात आज भन्दा ठिक १२४ बर्ष पहिला नेपाली विद्यार्थी र उनका सहयोगीहरूको टोली पहिलो पटक जापान पुगेका थिए । जनवरी २६, १८९९ मा जापानी भिक्षु इकाइ कावागुची सुगौली हुँदै वीरगञ्ज प्रवेश गरेको करिव साढे तीन वर्षपछि नेपाली विद्यार्थीहरू जापान पुगेका थिए । नेपाली जनताले पनि शिक्षा पाउनुपर्छ भनेर देश भर पाठशाला शिक्षाको शुरूवात गरेर संस्कृत पाठशाला खोलिदिने राणा प्रधानमन्त्री देवशम्शेरले नै जापानमा नेपाली विद्यार्थी पढ्न पठाउने सोच बनाएका थिए ।

जापानको इतिहासमा मेइजी पुनर्स्थापनाको बारेमा देवशमशेरले गहिरो अध्ययन गरेका थिए । सन् १८६८ मा तानाशाह शोगुनको शासन समाप्त गराइ सम्राट मेइजीको शासनकालको शुरूवात भएको थियो । सम्राट मेइजीको शासनपछि जापानको विकासको शुभारम्भ भएको थियो । यसैबाट प्रभावित भएका देवशमशेरले नेपालबाट केही विद्यार्थीलाई जापानमा अध्ययन गर्न पठाउने विचार गरे । तर उनको शासनकाल निकै छोटो रह्यो । उनका भाइ चन्द्रशमशेरले उनलाई केवल १४४ दिनमा नै सत्ताच्युत गराए ।

सत्ता परिवर्तन भएपनि देवशमशेरको सपनालाई चन्द्रशमशेरले साथ दिए । यसै कारणले मार्च १९०२ मा मुन्शीखानाले तैयार गरेको पत्रमा लेखिएको थियो- ‘श्री ३ चन्द्रशमशेर महाराजाका निगाहबाट तिमीहरूलाई देशलाई आवश्यक विषयमा अध्ययन गर्नको लागी जापान जाने अनुमति प्रदान गरिएको छ । अप्रिल २१ मा बम्बइ पुगि थोमस कुक एण्ड सन्स लिमिटेड, जहाज कम्पनीसंग सम्पर्क राख्ने, यसले बाकी इन्तजाम मिलाउने छ । २९ अप्रिलको दिन जहाज जापानको लागिरवाना हुनेछ । १००० भारू जम्मा गरिसकिएको छ, नेपालबाट जापानसम्मको लागी तिमी ८ जना र सहयोगी १७ जनाको सम्पूर्ण खर्च ६७०० जम्मा गरिनेछ । साथै जापान बसोबासको लागि लाग्ने अन्य खर्च बापतको १२८४० भारू पनि वीरगञ्ज मुलुकी खानाबाट बुझि थोमस कुक एण्ड कम्पनीबाट नै सतही गरि लिनु । यो रकम जापान पुगि बैंकमा जम्मा गरि महिनाको खर्च लिने गर्नु ।’

यसरी मुन्शीखानाको निर्देशनबमोजिम नेपालबाट आठ विद्यार्थी तथा उनका एक सहयोगी एवम् १७ कामदारहरु सहितको टोलीलाई सम्पूर्ण हेरविचार गर्ने जिम्मा स्वामी गिरी भन्ने एक ब्यक्तिलाई दिइएको थियो । विद्यार्थीहरूको बारेमा ध्यान दिन ब्रिटिस लेगेसी तथा ब्रिटिस मन्त्री अर्थात जापानमा रहेको बेलायती राजदुतावास तथा राजदूतलाई पनि पत्र लेखिएको थियो । विद्यार्थीलाई जापानमा रहँदा कसैसँग पनि झैझगडा नगर्नसमेत अनुरोध गरिएको थियो ।

यात्रा-तालिकाअनुसार २९ अप्रिल १९०२ मा बम्बईबाट यात्रा आरम्भ गरेको पानीजहाज कोलम्बो, रङ्गुन, सिङ्गापुर, हङकङ, कोबे हुँदै ४६औं दिनमा योकोहामाको समुन्द्र तट पुगेको थियो । यसरी १७ जुन १९०२ मा जापानमा नेपालीले पहिलो पटक पाइला टेकेका थिए । केही दिन योकोहामा र टोक्योको भ्रमण पछि उनिहरू १३, रेनान्जाका चो, अकासाकामा डेरा लिएर बसेका थिए । यसपछि चन्द्रशमशेरको पत्र बेलायती राजदुतलाई बुझाउन गए । बेलायती राजदुतले जापानी बिदेश मन्त्री जुतारो कामुरालाई पत्र लेखेर सहयोग गर्न आग्रह गरे । पत्रमा नेपाल सरकारको विद्यार्थी भएको हुँदा बिशेष महत्व दिन अनुरोध गरिएको थियो ।

यसरी जापानी शिक्षा मन्त्रालयको पहलमा आठ विद्यार्थी तीनवटा इन्स्टिच्युटमा भर्ना गराइए ।

१. Tokyo Teikoku Daigaku (हाल Tokyo Univ. Dept of Tech)

२. Tokyo Koto Kogyo gakko (हाल Tokyo Inst of Tech)

३. Noka Daigaku (हाल Tokyo Univ, Dept of Agriculture.)

यसपछि आठ विद्यार्थीका लागि चारवटा डेरा खोजियो, उनका सहयोगीहरू पनि बाँडिए । विद्यार्थीको नाम र ठेगाना यस्तो थियो ।

१. जंगनरसिंह राणा र देवनरसिंह राणा, 137, Higashikata machi, Hongo-ku. भाडा मासिक ३० येन.

२. भक्तबहादुर बस्नेत र बालनरसिंह रायमाझी, 22, Masago-cho, Hongo-ku. भाडा मासिक ३० येन

३. विचारमान सिंह, रूद्रलाल सिंह तथा हेमबहादुर राजभण्डारी, 19 Kitatomizaka-cho, Kurumai, Asakusa. भाडा मासिक २० येन

४. दीपनरसिंह राणा, 272. Naka Shibuya mura. Toyotama Kori (gun), Village house, भाडा मासिक १० येन.

१९०४ मा कोरियामाथि रूसको हस्तक्षेपविरुद्ध जापानले रूसलाई आक्रमणको तयारी गरेपछि जापान सरकारद्वारा नेपाली विद्यार्थीलाई नेपाल फर्कन भनियो, तर पढाइ पूरा नभएको हुँदा पढाइ पूरा गरेर फर्कन पाउँ भनि अनुरोध गरियो, जुन स्वीकार भएपछि सम्पूर्ण विद्यार्थी १९०५ को सेप्टेम्बरको अन्त्यमा नेपाल फर्किए ।

नेपाल फर्केपछि जंगनरसिंह राणा, भक्तबहादुर बस्नेत, हेमबहादुर राजभन्डारी र बालनरसिंह रायमाझीले बारूद तथा हतियार कारखानामा जागिर पाए । जहाँ जंगनरसिंह राणा र भक्तबहादुर बस्नेतले हाउजर गन र सिकस राउजर गन बनाए । भक्तबहादुर बस्नेतले हाउजर माउन्टेन गन, ३ पाउन्ड गन तथा अन्य हतियारहरू बनाए । दिपनरसिंह राणाले जापानबाट केही फलफूलको बिरूवा ल्याएका थिए । जसमध्य ठूलो कटुस, गोदावरी फूल, जापानी हलुवावेद, तथा नील लहर फूल उनैले नेपाल भित्राएका थिए । साथै चन्द्र नहरको डिजाइन पनि उनले नै गरेका थिए । बालनरसिंह रायमाझीपछि बागलुङको तामाखानीको प्रमुख बनाइए, जहाँबाट एक पैसे र पाँच पैसे तामाको सिक्का छापियो । हेमबहादुर विभिन्न स्थानमा काम गर्दै पछि खानी विभागको प्रमुख पनि भए । देवनरसिंह बिरामी भएर छिट्टै फर्केका थिए, जसले गर्दा उनकाे मृत्यु भयो । अन्य विचारमान र रुद्रलालको जानकारी प्राप्त छैन, नेपाल फर्केपछि कहाँ के गरे भन्ने कहि उल्लेख छैन ।

यसरी पहिलो जापान पुगेको टोली पछि नेपालीहरू जापानप्रति आकर्षण बढ्दै गयो । आज जापानमा लाखौँ नेपाली पुगिसकेका छन् । जसमा कतिपयले जापानमा पनि नेपालकाे नामलाई चम्काएका छन् । कतिपय लुकिछिपि जापानमा बसिरहेका छन् । जापानमा अध्ययन गर्न जाने विद्यार्थीकाे संख्या पनि अहिलेे अत्यधिक भइसकेकाे छ ।