पृथ्वीनारायणको कूटनीति !

पृथ्वीनारायणको कूटनीति !


यो दिन (माघ १ गते) १० जनवरी, १७६९ मंगलबारको दिन परेको थियो । यसै समयमा सौरमासले माघ महिना लाग्यो र उत्तरायणको आरम्भ भयो । यस उत्तरायणका आरम्भमा नै सम्भवतः १४ जनवरीका दिन श्री ५ पृथ्वीनारायण शाहले सजधजसँग सिन्दूरयात्रा गर्दै भाइभारादार र कम्पनीका अफिसर, सैन्यसमेत लिई ललितपुरका राजदरबारमा प्रवेश गरे ।

तनहुँका राजा त्रिविक्रम सेन श्री ५ पृथ्वीनारायण शाहका जीवनभर छँदै थिए । यसकारण किनलकको अभियान देखेर यिनी हर्ष मनाइरहेका थिए । किनलकको पहिलो अभियान असफल भएर दोस्रो अभियानको तयारी हुन लाग्दा यस दोस्रो अभियानका निमित्त रसद र हुन सक्नेसम्म अरू सहायता पनि दिन्छु भनी यिनले गोल्डिङलाई पत्र लेखेको कुरा श्री ५ पृथ्वीनारायण शाहले थाहा पाइसकेका र दोस्रो अभियान नहुँदा त्रिविक्रम सेन खुम्चिएर रहेका थिए । एकै घानमा कान्तिपुर र ललितपुरका ठकुराई खत्तम भएकाले अब अङ्ग्रेजको दोस्रो अभियान नहुने निश्चय भइसकेको थियो ।

यसकारण भक्तपुर ठकुराईलाई ठाना बार्दै घेरा खुम्च्याउने काम श्रीकृष्ण पाठकको जिम्मा लगाई आफ्नो अनुपस्थितिमा यहाँको प्रशासनको काम सम्हाल्न युवराज प्रतापसिंह शाहलाई कीर्तिपुरमा बोलाई केपुचिन पादरीहरूलाई निकाल्ने कामसमेत उनको जिम्मा लगाएर तनहुँमा आक्रमण गर्न भनी काठमाडौं उपत्यकामा र नुवाकोटमा रहेकासमेत आवश्यक भारदार र सैनिक लिई श्री ५ पृथ्वीनारायण शाह गोर्खाका राजदरबारमा पुगी लडाइँको सञ्चालन गर्न लागे । तनहुँमा गोर्खाली सैनिक दलले धावा गर्दा लमजुङका राजा रिपुमर्दन शाहले पनि त्रिविक्रम सेनको सहायता गर्नाका निमित्त लमजुङे सर्दार र सैनिक दल खटाए । बन्दीपुरका लडाइँमा एक सय बीस लमजुङे सैनिक मारिएपछि गोर्खाली सैनिक महिबलसम्म पुगे ।

श्री ५ पृथ्वीनारायण शाहले यो जितको समाचार श्रीकृष्ण पाठकलाई लेखेर भक्तपुरका घेरामा रहेका प्रत्येक ठानामा बढाइँ गर्न लगाई रणजित मल्ल र जयप्रकाश मल्ललाई समेत थर्काए (१५ फ्रेबुअरी, १७६९ आ.) । यस अन्तिम पराजयका शोकले अभागी राजा त्रिविक्रम सेनको देहान्त हुँदा यिनका जेठा छोरा कामारिदत्त सेन तनहुँका राजा भए र यिनको भाइहरूसँग खटपट चल्दा अरू चौबीसी राजा पनि त्यस गृहकलहमा लागेका हुनाले तनहुँतिरबाट कुनै खतरा आफूतिर नआउने देखेर श्री ५ पृथ्वीनारायण शाह भक्तपुरका ठकुराईपट्टि दृष्टि दिन नुवाकोटमा बसे ।

इ. सं. १७६९ का विजयादशमी (१० अक्टोबर) सम्मका भक्तपुरका गिर्दापर्खालका वरिपरि चारैतिर ढेपेर गोर्खालीका ठाना बारिसकिएका थिए र त्यहाँ लुकेर रहेका नागा वैरागीजति सबै खत्तम भइसकेका थिए । यसकारण भक्तपुर सहरभित्र आक्रमण गर्नालाई सम्भवतः यसै समयमा पजनी र खटनपटन पनि भयो ।

तिब्बतसँग व्यवहार गर्नालाई कान्तिपुर र गोर्खाका टक एकनासका शुद्ध चाँदीका गराउनू भन्ने श्री ५ पृथ्वीनारायण शाहको र जयप्रकाश मल्लको सम्झौता भइसकेपछि पनि तिब्बतीहरूले गोर्खाली टक लिन आनाकानी गर्दै रहेका र यस विषयमा जयप्रकाश मल्लको समेत सहयोग नमिल्दा यो समस्या काँचै रहेको थियो । अहिले कान्तिपुरमा गोर्खालीको अधिकार भएपछि कुतीतिरबाट आउने नुन पनि उनीहरूले रोकिदिएका हुनाले यस विषयमा तिब्बतका राजासँग वाणिज्य सन्धि गर्नालाई एक दूतमण्डल पठाउन आवश्यक भयो । यसकारण श्री ५ पृथ्वीनारायण शाहले दोलखाका हाकिम भएर रहेका सरदार नन्दु शाही, खासामा वाणिज्यदूत भएर बसेका वृहस्पति उपाध्याय र अघि धेरै साल दोलखामा रही कुतीका ढेवाहरूसँग हेमचेम भएका र यस समयमा ललितपुरका हाकिम भएर रहेका केहरसिंह बस्न्यातसमेत तीनजनाको एक वाणिज्यदूतमण्डल बनाएर ल्हासातिर रवाना गराए । यो दूतमण्डलले खासामा पुगेर कुतीका ढेवामार्फत सन्देश पठाउँदा यस कामका निमित्त ल्हासाबाट एक ढेवालाई खासासम्म पठाए ।

यिनी कुतीमा आएपछि यिनीसित नेपाली दूतमण्डलको तिब्बत र नेपालका बीचमा हुने वाणिज्य–व्यापारको र तिब्बतबाट नेपालमा आउने नुनका विषयमा कुराकानी हुँदै थियो । यत्तिकैमा कुतीमा आएको दूतलाई ल्हासाका राजाले झिकाइपठाउँदा कुराको टुङ्गो लाग्न नपाउँदै उनी ल्हासातिर फर्केर गएका र समयमा उनी नफर्केका हुनाले यो काम यस समयमा नहुने देखेर श्री ५ पृथ्वीनारायण शाहले भक्तपुरमा अधिकार गर्ने कामका निमित्त केहरसिंह बस्न्यातको आवश्यक हुँदा यिनलाई र नन्दु शाहीलाई समेत फिर्ता बोलाए र भक्तपुरको आक्रमणको बन्दोबस्त गर्नाका निमित्त आफू पनि नुवाकोट आए ।

इ. सं. १७६९ का विजयादशमी (१० अक्टोबर) सम्मका भक्तपुरका गिर्दापर्खालका वरिपरि चारैतिर ढेपेर गोर्खालीका ठाना बारिसकिएका थिए र त्यहाँ लुकेर रहेका नागा वैरागीजति सबै खत्तम भइसकेका थिए । यसकारण भक्तपुर सहरभित्र आक्रमण गर्नालाई सम्भवतः यसै समयमा पजनी र खटनपटन पनि भयो । कान्तिपुरमा आक्रमण हुँदा साथ रहेका श्री ५ पृथ्वीनारायण शाहका भाइहरूमा काजी शूरप्रताप शाहले फुर्ती देखाएका हुनाले यिनी भक्तपुरको आक्रमणमा पनि खटिए ।

तर, अरू तीन भाइ चौतारा महोद्दामकीर्ति शाह, चौतारा दलमर्दन शाह र काजी दलजित शाह नुवाकोटमा रहेर विजयकामनाका निमित्त भगवतीको पुरश्चरण गर्ने काममा खटिएर युवराज प्रतापसिंहका साथ नुवाकोटमा नै रहने भए । पर्वतका राजपरिवारका प्रभुनारायण मल्लले गोर्खाराज्यका आश्रयमा रहने इच्छा प्रकट गरेका हुनाले र लमजुङबाट शरणार्थी भएर गोर्खामा आई बसेका पारथ भण्डारीलाई समेत सम्भवतः यसै पजनीमा श्री ५ पृथ्वीनारायण शाहले सर्दारी दिए ।

(बाबुराम आचार्यकृत ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट)