लुलुगाई मारेको आरोपमा मनाङमा तीन जना पक्राउ

लुलुगाई मारेको आरोपमा मनाङमा तीन जना पक्राउ


मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका-६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलुगाई हत्या आरोपमा निजहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार डोल्पाको काकोट गाउँपालिका-९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका-१ का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङलाई नियन्त्रणमा लिइएको छ । उनीहरू ङिस्याङमा ज्याला मजदुरी गर्दै आएका छन् ।

उनीहरुले आइतबार साँझ डिस्याङ-६ माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रयोजनका लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । उनले भने, ‘जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही गरिनेछ ।’

ज्ञातव्य छ, लुलुगाई लोपोन्मुख अवस्थामा रहेको छ ।

symbolic image