भनिन्छ, बाह्र वर्षपछि खोला पनि फर्कन्छ । तर विपना बस्नेतको जीवन भने चार दशकपछि फर्किएको छ । सिनेमा क्षेत्रमा उनको यात्रा लामै भइसकेको छ । मेकअप म्यान र हेयर डे«सरको विधामा सक्रिय विपनाले थुपै्रलाई पर्दामा सुन्दर बनाइन् । यसरी राम्री भइन्छ, उसरी भइन्छ भनेर ‘आइडिया’ पनि दिइन् । उनले मिलाइदिएको कपाल र उनले नै गरिदिएको मेकअपले नायक–नायिका सुन्दर पनि भए, तर पर्दापछाडिकी विपना जहिले पनि पर्दापछाडि नै ।
अब भने चार दशकपछि उनको पनि वाहवाही पाउने समय आएको छ । तीन महिनाअघि मात्र उनको वास्तविक क्षमता र प्रतिभा प्रस्फुटन भएको छ टेलिभिजनमार्फत । उनले कर्म त ठूलो पर्दाको चलचित्रमा गरेकी हुन् तर यतिबेला आएर विपनाले ‘वाहवाही’ सानो पर्दाबाट हात पारेकी छिन् । हेयरडे«सरका रूपमा ठूलो पर्दामा काम गर्दै आएकी विपना बस्नेतलाई यतिबेला दीपकराज गिरीले चर्चित हास्यशृङ्खला ‘तीतो सत्य’मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी धर्मपत्नी हिसिला यमीको रूपमा प्रस्तुत भएपछि रातारात विपना चर्चामा आइन्, यसकारणले पनि अहिले आफ्नो पुरानो विधामा सक्रिय हुन उनलाई समय नै छैन । विपना भन्छिन्, ‘दीपकजीले तीतो सत्यमा खेल्नुप-यो भन्दा म तिनछक परेँ । कुनै सानोतिनो भूमिका होला भन्ठानेकी थिएँ । तर, आज उहाँले यत्रो चर्चामा पु-याइदिनुभयो,’ निकै दंग छिन् विपना ।
सुरुमा हिसिला यमीको चरित्र निभाउनुप-यो भन्दा विपनालाई अप्ठ्यारो लागेछ । कसैले केही भन्ने हो कि भन्ने डर पनि उनमा थियो । ‘पछि अभिनय हो, अभिनयमा नराम्रो हुँदैन भनेर ढाँडस मिलेपछि यो भूमिका निभाएकी हुँ । पछि आफूलाई हिसिला यमीजस्तै देखेपछि आफैं तिनछक परेँ,’ उनले भनिन् ।
तीतो सत्यमा आफू हिसिला यमी बनेको दृश्य प्रसारण भएपछि चिन्नेजान्नेहरूले रातभरि फोन गरेको कुरा उनी कहिले पनि बिर्सन्नन् । विपनाले थपिन्, ‘मलाई हिसिला दिदीले एकपटक भेट्नका लागि बोलाउनुभएको खबर पनि पाएकी छु । उहाँलाई एकपटक भेट्न जान्छु ।’
मेरी बास्सैमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई बनेका ज्योति काफ्ले पनि यतिबेला तीतो सत्यमा आएका छन् र यो जोडीलाई केही भागदेखि तीतो सत्यले प्रस्तुत गर्दै आइरहेको छ । सिनेमामा काम गर्दा स्वदेश मात्र घुमेकी विपनालाई अहिले भने विदेशको कार्यक्रमबाट पनि अफर आउन थालेको छ । ‘ज्योति भाइलाई प्रधानमन्त्री र मलाई हिसिलाको रूपमा अफर आइरहेको छ । यो कमेडी प्रस्तुति देखाउन हामी अब केही देशहरू एकसाथ जाँदै छौँ,’ उनले जानकारी गराइन् ।
स्वदेशमा हुने सांस्कृतिक कार्यक्रममा भने विपनालाई भ्याइनभ्याई छ । पुराना कलाकार दीपक क्षेत्रीकी धर्मपत्नी विपनाकी एक मात्र छोरी पनि यतिबेला सिनेमा क्षेत्रमा देखापरेकी छिन् । उनी होस्टेल नामक सिनेमामा नायिकाको रूपमा प्रवेश गरेकी छिन् । नक्कली हिसिला यमी विपना बस्नेतको परिवार नै हाल अभिनयमा होमिएको छ । ‘बाटोमा नक्कली हिसिला यमी भनेर जिस्क्याउँदा मलाई खुसी नै लाग्छ । ठूलो मान्छेको नक्कल गरेर पर्दामा उभिन पाउनु पनि कम गर्वको कुरा होइन । म खुसी छु,’ उनले भनिन् ।
अब पर्दामा ‘विधानको मृत्यु’
पुराना कलाकर्मी विष्णुभक्त फुँयाल नयाँ जोस र जाँगरका साथ अझै पनि कलाकारिता क्षेत्रमा सक्रिय छन् । अरूको निर्देशनमा स्टेज नाटक, नाटक, ठूलो पर्दाको चलचित्र र टेलिचलचित्रमा अभिनय गर्दै आएका फँुयालले हालै आफ्नो लेखन तथा निर्देशनमा एउटा फरक धारको चलचित्र तयार पारेका छन् । ‘विधानको मृत्यु’ नामक यो चलचित्र अब नेपाललगायत विदेशमा रहेका नेपालीमाझ पनि प्रदर्शन हुने भएको छ । राजकुमार विष्ट, विनोदशमशेर कुँवर र श्रीकुमार श्रेष्ठ निर्माता रहेको विधानको मृत्युको सहायक निर्देशकमा मधु बोगटी रहेका छन् भने सङ्गीत डम्बर ढकालको रहेको छ ।
यो चलचित्रका लागि कृष्णप्रसाद पराजुलीले गीत लेखेका हुन् । खिच्ने काम श्याम नेवाले गरेका छन् भने चलचित्रमा विष्णुभक्त फुँयाल, डम्बर ढकाल, राजकुमार विष्ट, मेम्बर लामा, दिलबहादुर थापा, मुरारी ढकाल, अनिता अधिकारी, विनोदशमशेर कुँवर र प्रदीप थुलुङको अभिनय रहेको छ ।
विनिताको बिहे !
चलचित्र हिट भए पनि फ्लप भए पनि विनिता बराल सधैँ चर्चामा । उनको गजब र फरक अभिव्यक्ति पनि चर्चाका लागि कारण बन्दै आइरहेका छन् ।
उनी त्योभन्दा अगाडि कहाँ के गरेर लुकेर बसेकी थिइन् ? सबै अनविज्ञ थिए तर चलचित्र ‘चपली हाइट’बाट एक्कासि उनले आफ्नो यस्तो हाइट बनाइन् कि सबै विनिताको प्रशंसा नगरीकन बस्न सकेनन् । रातारात चर्चा र नाम बटुल्न सफल यिनै विनितालाई फेरि अर्को चलचित्र ‘फुलस्टप’ले गुमनाम नै बनाइदियो केही समय । चपली हाइटबाट ‘हाइट’मा पुगेकी विनिता ‘फुलस्टप’बाट गुमनाम भएपछि उनी सेलाइन् केही समय चलचित्र बजारबाट । तर, अहिले केही समययता फेरि उनी चर्चामा आइरहेकी छिन् ।
यसपटक विनिता चर्चामा आउनुको कारण भने कुनै चलचित्र हिट वा फ्लप नभएर एउटा सिनेमाका निर्देशकसँगको कारण हो । ती निर्देशकसँग सुटिङस्टपमा कुनै क्रियाकलापका कारण या पे्रमसँग पनि होइन । विवाहको कारण बन्न पुगेको छ । चलचित्र हो सुपरहिट र निर्देशक हुन् निरञ्जन पाडे । विनिताको प्रमुख भूमिका रहेको चलचित्र सुपरहिटका यिनै निर्देशकसँग विनिताले लगनगाँठो कसिन् भन्ने चर्चा–परिचर्चा गरम भइरहेको समयमा यो पङ्क्तिकारले पनि विनितालाई सोध्यो– कुरा के हो ? विनिताले पनि खुलस्त ‘होइन’ भन्न सकिनन् र निकै कूटनीतिक पाराले टार्ने खालको जवाफ दिइन् । उनले भनिन्, ‘धेरैले सोधे अनि धेरैलाई मैले जवाफ पनि दिइनँ । चर्चा धेरै होस् भनेर मैले नो कमेन्ट भनेकी छु’ यही नै थियो उनको जवाफ ।
सिनेमा क्षेत्रमा लभ प-यो रे भन्ने समाचार आउँदा त आत्तिने संस्कार भएको क्षेत्रमा विवाह नै भयो भन्ने गाइँगुइँ चल्दा पनि विनिताले कुनै बलियो जवाफ वा इन्कारलाई प्रस्तुत गर्न नसक्नुले ‘दाल मे कुछ काला है’ भन्दा फरक नपर्ने भएको छ । उनले यस्तो हल्ला गलत र खराब भएको अभिव्यक्ति नै दिइनन् । उनले यति मात्र भनिन्, ‘म कुनै न कुनै कारण चर्चामा आइरहन्थँे, यो पनि चर्चामा आउने कुरा हो कि ?’ यति मात्र जवाफ दिएर पन्छिएकी विनिताले चलचित्र सुपरहिटमा निर्देशकसँग विवाह गरेको कुरा सही हो भन्न पनि किन सकिन्छ भने यो चलचित्रको सम्पूर्ण रेखदेख र जानकारी उनले नै राख्ने गरेकी छिन् । डिजाइनदेखि प्रचारप्रसारसम्मको सम्पूर्ण आइडिया बोकेर हिँडेकी विनिताले आफू र सुपरहिट चलचित्रका निर्देशकसँगको विवाहको कुरा वा प्रसङ्गलाई सहजै लिनु र उत्तेजक अभिव्यक्ति नदिनुले हल्ला झुटो होइन कि भन्ने अवस्था भने छ ।
‘हो, सेक्सी चलचित्रमा खेलेँ’
कुनै समय गालामा चुम्बन खाएको दृश्य दिन पनि लाज मान्ने वा हिच्किचाउने अभिनेत्रीहरूको जमात नेपाली चलचित्र क्षेत्रमा ठूलै थियो । तर, अहिले समयको फराकिलो रूप र मागअनुरूप यस्ता दृश्यहरू सामान्य मात्र भएका छैनन् कि नायिकाहरू सेक्सको अभिव्यक्ति पनि खुलेर नै दिन थालेका छन् ।
प्रसङ्ग हो चलचित्र नाइन ओ क्लक र नायिका सुमिना घिमिरेको । यतिबेला व्यस्ततम् नायिकाको रूपमा पर्छिन् उनी । छायाङ्कनको समयदेखि नै बजार तताउन सफल चलचित्र ‘नाइन ओ क्लक’ सेक्ससम्बन्धी चलचित्र भएको कुरा हाल खुलस्त भइसकेको छ । यो कुरा यसै चलचित्रकी प्रमुख पात्र नायिका सुमिना घिमिरेले पनि लुकाइनन् । उनले थपिन्, ‘सेक्ससम्बन्धी चलचित्र भए तापनि त्यस्तो भद्दा र हेर्ने नमिल्ने भने छैन । हामीले त्यो विषय उठाए तापनि समाजमा पच्ने खालको छ र भद्दा छैन ।’ रमेश संवेदनाको निर्माण तथा बाबुराम ढकाल निर्देशित यो चलचित्र नेपालमा चैत १६ गतेदेखि प्रदर्शनमा आउने निश्चित भइसकेको छ । यसैबीच बेलायतमा मार्च १५, १६ र १७ का साथै हङकङमा भने मार्च २४ मा ‘नाइन ओ क्लक’ प्रदर्शनमा आउने कुरा बताइएको छ । विदेशको यो चाँजोपाँचो भने लामो समयदेखि बेलायतमा बस्दै आएका यसै चलचित्रका नायक धु्रव दत्तले मिलाएका हुन् । चलचित्र ‘नाइज ओ क्लक’मा आफूले निभाएको भूमिका अन्य केही नायिकाले इन्कार गरेपछि चुनौतीको रूपमा यो भूमिका आफूले निभाएको कुरा सुमिनाले बताइन् । ‘सधैं सजिलो होइन अप्ठ्यारो र चुनौतीपूर्ण काम पनि गर्नुपर्छ,’ उनले भनिन् ।
प्रतिक्रिया