म नेपाल देश– कृष्णप्रसाद कटुवाल

म नेपाल देश– कृष्णप्रसाद कटुवाल


indreniविश्वको सबैभन्दा उच्च हिमाल सगरमाथा भएको म नेपाल देश
सेता हिमाल र नीला नदीहरूले जेलिएको म नेपाल देश ।

लालीगुराँस र सुनाखरी फूलहरूले ढकमक्क ढाकेको म नेपाल देश
डाँफे, मुनाल र मयुरको धुनले मुस्काइरहेको म नेपाल देश ।

हरियो वन नेपालको धन भनी बोलाउने गरेको म नेपाल देश
बहुमूल्य हीरामोती र जडीबुटीको खानीले सम्पन्न म नेपाल देश

मेरा वीर सपूत सन्तानहरूको रगतले बचाएको म नेपाल देश
इतिहासका वीर सन्तानहरूको वीरता गुमाउन लागेको म नेपाल देश

विकास र उन्नतिले मुहार फेर्न नपाएको म नेपाल देश
अशिक्षा र गरिबीका सन्तान काखी च्यापेर रुन्चे हाँसोमा म नेपाल देश

विविध जातजाति, भाषा र संस्कृतिको धनी म नेपाल देश
जनजाति र आदिवासी नेपाली सन्तानको सौतेनी आमा म नेपाल देश

सिमाना र नीला नदीहरूमा बलात्कार भएको म नेपाल देश
अर्धऔपनिवेशिक जीवन बिताइरहेको म नेपाल देश

सन्तानहरूको द्वन्द्व र युद्धका कारण पराइको हुन लागेको म नेपाल देश
मेरो प्यारो नाम ‘शान्ति नेपाल’ गुमाइसकेको म नेपाल देश

सिउँदोको सिन्दुर पुछिएका अबला छोरी, टुहुरा र अपाङ्ग सन्तानको धनी म नेपाल देश
अन्याय, भ्रष्टाचार र शोषणको राजनीतिले गुमराहमा पारेको म नेपाल देश
झुटो इतिहासको ठेलीहरूले अनुहार छोपिएको म नेपाल देश
इतिहासका पारखी र कर्मठ सन्तानको सम्मान गर्न चुकेको म नेपाल देश

मूर्ख अनि महामूर्ख सन्तानको कलहले दुःखमा परी रोएको म नेपाल देश
सन्तानहरूको अंशवण्डा गर्न नसकी चिरनिद्रामा रहेको म म नेपाल देश

न त्यागी न ज्ञानी – तारा दाहाल
न त्यागी न ज्ञानी
न म हुँ कोही
न बन्धनविनाको
बन्धनविनाको
बन्धनमा छु कहीँ
न जन्ममा गर्व
न मृत्युको भय
न सृष्टिमा देख्छु
कुनै लय
न निरासाको बुझ्छु अर्थ
न सुख–दुखसँग कुनै सर्त
न तर्क–वितर्कको समुन्द्रमा छु
न छ ममा असत्यको रङ्ग दल्ने ढङ्ग
न विलासी, न बैरागी
न म हुँ कोही
न बन्धनविनाको
बन्धनविनाको
बन्धनमा छु कहीँ
न तृष्णा, न मोह
न कुनै छालमा
न त्यागी न ज्ञानी
न म हुँ कोही
न बन्धनविनाको
बन्धनविनाको
बन्धनमा छु कहीँ
– एरफोर्ट जर्मनी