सुस्तामा आशंका र त्रास कायमै, प्रधानमन्त्रीको अभिब्यक्तिका कारण समस्या बढेको जिकीर

सुस्तामा आशंका र त्रास कायमै, प्रधानमन्त्रीको अभिब्यक्तिका कारण समस्या बढेको जिकीर


  • आरपी उपाध्याय, पश्चिम नवलपरासी

पश्चिम नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारसहित प्रवेशले सुस्ता क्षेत्रमा पैदा गरेको आशंका र त्रास कायम नै रहेको छ ।

गत शुक्रबार बिहान भारतीय सुरक्षाकर्मीको प्रवेश भएपछि सुस्ताका नेपालीले कडा विरोधसहित प्रतिवादपछि पछाडि फर्किएका भारतीय सुरक्षाकर्मीहरुले सुस्ताका स्थानीयवासीलाई भारतको भेडिहारी बजारतर्फ आवतजावतमा कडाइ गरेको ‘सुस्ता बचाउ’ अभियानका अध्यक्ष आदम हुसेन खानले जानकारी दिएका छन् ।

दैनिक उपभोगको सामाग्री लिन भारत जाने सुस्ताका नेपालीलाई भारतीय सुरक्षाकर्मीले कडाइसहित रोक लगाएपछि अब सुस्ताबासीहरु आफ्नो खाँचो टार्न झोलुङ्गे पुलको प्रयोग गरी नेपालतर्फ नै आवतजावतसहित विकल्प खोज्न थालेका बुझिएको छ ।

सुस्तामा चुलिएको असहज परिस्थितिको प्रत्यक्ष जानकारी लिन पुगेका घटना र विचारका संवाददातासंगको कुराकानीमा सुस्ताकी एक साहसी महिला सब्ररुन नेसाले भावुकताका साथ आँखामा आँशु पार्दै ‘शरीरमा प्राण रहेसम्म नेपाली माटोको रक्षाको लागि अगाडि बढ्ने’ प्रतिक्रिया दिइन् । आफू खेतमा काम गरिरहेको अवस्थामा भारतीय सुरक्षाकर्मीको प्रवेश भएपछि चिच्याएर अन्य सुस्ताबासीलाई घटनास्थलमा बोलाएको जानकारी पनि उनले दिइन् ।

नारायणी नदीपारीको सुस्ता थारु टोलदेखि दक्षिणतर्फको कल्भटस्थित नेपाल-भारतको स्थायी सिमामा उपस्थित ‘सुस्ता बचाउ’ अभियानका अगुवाहरुले अझै पनि खतरा नटरेको र आफुहरु ‘बिनाबर्दीका प्रहरी’ भएको उल्लेख गर्दै आफू र आफ्नो माटोको सुरक्षा गर्न पछाडि नपर्ने बताए ।

उनीहरुले सुस्तामा दुईको सङ्ख्यामा सुरक्षा युनिट भएपनि परेको बेलामा आफुहरु एक्लै प्रतिवाद गर्नुपरेको पीडा पनि सुनाए ।

भारतीयहरुले सुस्तामा बन्दै गरेको तटबन्ध रोक्ने, नेपाली प्रशासनलाई नटेर्ने, केही महिनाको अन्तरालमा झुक्याएर सुस्ता प्रवेश गर्ने कार्य गरेको पनि सुस्ताबासीले जिकिर गरे ।

नेपाली पक्षले बाटो नबिराउने तर भारतीय पक्षले बाटो बिराएको बहाना गर्ने कार्य पनि पछिल्लो समय मौलाएको पीडित सुस्ताबासीको भनाइ थियो ।

नेपालमा केही महिनापूर्व सम्पन्न निर्वाचनपछि बनेको सरकारका प्रधानमन्त्री बालेन्द्र साहले सदनमा दिएको अभिव्यक्तिपछि सुस्तामा भारतीय दृष्टिकोण नकारात्मकरुपमा मौलाएको सुस्ताबासीको जिकीर छ।

सुस्तामा घटेको घटनाक्रमलाई लिएर ‘सुस्ता बचाउ’ अभियानका प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय र लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको ‘सुस्ता बचाउ’ अभियानका प्रवक्ता रविन्द्र जैसवालले जानकारी दिएका छन् ।