एउटी देखाउने अर्की लुकाउने !

एउटी देखाउने अर्की लुकाउने !


funtimeसिनेमाका पर्दामा भल्गारिटी पस्कियो भने नाम कमाइन्छ अनि सबैबाट वाहवाही कमाइन्छ भन्ने सुष्मा कार्कीको सोच र योजना यतिबेला आएर ‘फेल’ खाएको छ । अभिनय क्षमताभन्दा शरीरका संवेदनशील अङ्गहरू प्रस्तुत गर्ने मामिलामा अगाडि देखापरेकी सुष्मालाई विशेष गरेर चलचित्र लुटले चर्चामा ल्याएको हो । यो चलचित्रमा ‘उधे्रको चोली…’ बोलको गीतमा नाचेपछि बजारमा छाएकी सुष्माको लुटमा त चोली उधे्रको मात्र थियो तर त्यसपछिका चलचित्रहरूमा उनको चोली उधे्रकोमा मात्र सीमित रहेन कि त्यसपछि त सुष्माले धेरै चलचित्रहरूमा चोली नै फुकालिदिइन् ।
चोली फुकालेर चर्चामा आउने उनको सपनामा भने अहिले आएर तुषारापात भएको छ । एउटै गीतबाट देशदेखि विदेशसम्म घुम्ने अवसर पाएकी सुष्मा यतिबेला कोठामा नै थन्किएर बसेकी छिन् । ग्ल्यामर्सको नाममा भल्गारिटी प्रस्तुत गर्न उत्तेजित हुन थालेपछि सुष्माको साख क्रमशः गिर्दै जान थालेको हो । सिनेमामा कुनै ‘आइटम’ गीत छ भने उनलाई सम्झिहाल्ने निर्माता, निर्देशकहरू पनि अहिले सुष्माको नाम लिन चाहँदैनन् । उनीहरूको भनाइ भने यस्तो छ, ‘जति देखाउनु देखाइसकिन् सुष्माले । अब उनको हेर्न बाँकी केही पनि छैन ।’
त्यसो त सिनेमाको पर्दामा सुष्माको प्रवेश पनि नकारात्मक उपस्थितिबाट हुनुले पनि यो क्षेत्रमा उनको निरन्तरता नहुन सक्ने कुराको अनुमान लगाउन सकिन्थ्यो । त्यही अनुमान अहिले सुष्मा हात खाली हुनुबाट सही निस्किएको छ ।
यता सुष्मा कार्कीको अवस्था यस्तो छ भने अर्कोतर्फ अर्की सुष्मा अर्थात् सुष्मा अधिकारीको आगमनले भने राम्रो सङ्केत देखाएको छ । सिनेमा खेल्ने लोभ र लालचमा जसरी पनि प्रस्तुत हुने विचार र सोचको विरुद्धमा छिन् उनी । लगभग दुई दर्जन म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरिसकेकी सुष्माले टेलिभिजन र पेपर विज्ञापनमा पनि रामै्र स्थान
पाएकी छिन् ।
म्युजिक भिडियो खेल्ने क्रममा पनि उनलाई केही सिनेमाबाट नायिकाको अफर नआएको होइन । ‘तर पनि राम्रो कथा र व्यानरको पर्खाइमा थिएँ म । त्यो पर्खाई यतिबेला आएर पूरा भएको छ,’ यसै भनिन् सुष्माले । त्यसो त सिनेमाहरूबाट धेरैपटक उनलाई ‘आइटम’ गीतबाट पनि प्रस्ताव आएका थिए । तर, उनले मानिनन्, किन
त ? ‘यस्तो गीतमा काम गरेपछि छाप नै त्यस्तै हुन्छ र पछि अन्य भूमिकातिर खेल्न पाइन्न । त्यसकारणले पनि म आफ्नो परिचय सीमित राखेर उद्देश्यलाई मार्न चाहन्नँ,’ सुष्मा अधिकारीले भनिन् ।
प्रतीक्षाको फल मीठो हुन्छ भनेजस्तै सुष्माले पनि धैर्य गरेपछि अहिले आएर मीठो फल पाएकी छिन् । एउटा स्वच्छ, भद्र र शालीन चलचित्रमा एकल नायिकाको रूपमा आउने भएकी छिन् उनी । आइतबार मात्र सुष्मा चलचित्र ‘पीपल’मा नायिकाको रूपमा अनुबन्धित भएकी छिन् । निरञ्जन कसजु ‘माइला दाइ’को निर्देशन रहने यो चलचित्रका कार्यकारी निर्मातामा सचिनराज अमात्य रहेका छन् भने ‘पीपल’मा सुभाषराज काफ्लेको निर्माण नियन्त्रण रहेको छ ।
नामजस्तै कथा अनि युनिट पनि शालीन भएपछि नै सुष्माले यो चलचित्रमा काम गरेको कुरा बताइन् । ‘हिरोइन बन्ने इच्छामा नाङ्गिने र भल्गारिटी प्रस्तुत गर्ने सोच र उद्देश्य मेरो होइन । थोरै फिल्म खेल्ने तर राम्रो खेल्ने मेरो योजना हो,’ उनको योजना छ ।

अपेक्षाको ग्ल्यामर राजस्थानमा प्रस्फुटन
अब नेपाली म्युजिक भिडियोका छायाङ्कन पनि क्रमशः विदेशी भूमिमा गर्ने कार्यले तीव्रता पाइरहेको छ । यो विधाका दर्शकका लागि नयाँ स्वाद दिने उद्देश्यले छायाङ्कन गरिएका भीडमा यतिबेला एकजना मोडल हालै भारतको राजस्थानमा गएर म्युजिक भिडियोको छायाङ्कन गरेर फर्किएकी छिन् । अपेक्षा सिलवालले भारतको राजस्थानमा विभिन्न स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा आफूलाई प्रस्तुत गरेकी छिन् ।
समन अधिकारीले यी म्युजिक भिडियोको निर्देशन गरेका थिए । अपेक्षाले राजस्थानमा गायक उदीतनारायण झा र गायिका माण्डवी त्रिपाठीको गीतमा आफूलाई प्रस्तुत गरिन् । कस्तो रह्यो त नयाँ लोकेसनको नयाँ अभिनय ? अपेक्षाले भनिन्, ‘बिल्कुलै नयाँ अनुभव भयो । काठमाडौंको लोकेसनमा मात्र मैले काम गरेकी थिएँ । तर, विदेशी भूमिमा गएर गर्दा झनै उत्साह थपियो ।’
यता नयाँ अनुहार र प्रतिभाशाली कलाकारहरूलाई प्रोत्साहित गर्दै आउनुभएका विपिन कर्माचार्य पनि कम खुसी छैनन् यतिबेला । दर्शकहरूलाई नयाँ स्वाद दिन पाएकोमा म्युजिक भिडियोका निर्माता विपिन कर्माचार्यले भने, ‘एउटै लोकेसनमा तयार भएका म्युजिक भिडियो हेर्दा दर्शकहरू दिक्क भइसक्नुभएको छ । दर्शकहरूको आँखामा नयाँ दृश्य दिनका लागि म राजस्थान पुगेको हुँ । अन्य योजना पनि छन् अब ।’
गीत–सङ्गीतप्रेमी तथा कलाकारिता क्षेत्रमा केही गरौँ भन्ने उत्साहित कलाकर्मीलाई सहयोग गर्दै आएका विपिन कर्माचार्य अब फेरि थप म्युजिक भिडियो छायाङ्कनका लागि निकै मनमोहक र आकर्षण स्थानको रूपमा लिइने मौरिसस पनि जाँदै छन् ।

बेलायतमा पनि नौ बज्यो
नेपालमा नै सिनेमा रिलिज गर्दा सिनेमा नचलेर निर्माताहरू आर्थिक मारमा परिरहेको अवस्थामा एउटा सिनेमाले भने अहिले बेलायतमा रहेका नेपालीबाट ‘वाहवाही’ पाइरहेको छ । ‘नाइन ओ क्लक’ नामक उक्त सिनेमाले यसै साता बेलायतमा रहेका नेपालीबाट स्यावासी मात्र पाएन कि व्यावसायिक रूपमा यो सिनेमा सफल पनि भयो ।
यसै सिनेमाको प्रदर्शनका लागि यसका निर्माता रमेश संवेदना अहिले बेलायतमा छन् भने चलचित्रका नायक धु्रव दत्तले बेलायतको प्रदर्शनको चाँजोपाँजो मिलाएका हुन् । उनी लामो समयदेखि बेलायतमा बसोबास गर्दै आइरहेका छन् । नायक धु्रवकै पहलमा चलचित्र ‘नाइन ओ क्लक’को हङकङमा पनि प्रदर्शन गरिने भएको छ । मार्च २४ तारेखका दिन यो चलचित्र हङकङमा लाग्ने भएको छ । जुन प्रदर्शनमा सहभागी हुन हङकङमा निर्माता रमेश संवेदना, निर्देशक बाबुराम ढकाल, नायक धु्रव दत्त र नायिका सुमिना घिमिरेको साथमा एकजना सञ्चारकर्मी पनि त्यसतर्फ जाने भएका छन् । बेलायतमा सोचेभन्दा राम्रो सफल हात लागेकोमा निर्माता संवेदना निकै दङ्ग देखिए । उनले बेलायतबाटै भने, ‘यदि राम्रो सिनेमा बनाउन सकियो भने बेलायतमा बजार राम्रो रहेछ । बेलायतमा रहनुभएका नेपालीहरूबाट पाएको साथले म उत्साहित भएको छु ।’ नायक धु्रव दत्त पनि कम हौसिएका छैनन् ।