यही फागुनमा भएको कम्युनिस्टहरूको एउटा भेलामा माओवादी अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूमा आफू मात्र ठीक हौँ भनी सोच्ने र व्यवहार गर्ने प्रवृत्ति ठीक नभएको उल्लेख गरे । उनलाई यो दिव्य ज्ञान लगभग बीस हजार मानिस मारिनुभन्दा या अन्य किसिमले लाखौँ पीडित हुनुभन्दा पहिला आएको भए कति राम्रो हुने थियो ! आफू मात्र ठीक भन्ने प्रवृत्ति नहुनका लागि आवश्यक पर्ने विशेषताहरूमा बहुदल, बहुलवाद, स्वतन्त्र न्यायपालिका, न्यायिक सर्वोच्चता, स्वतन्त्र सञ्चारमाध्यम, मानवअधिकारप्रतिको सम्मान आदि पर्दछन् । माओवादीले अहिलेसम्म पनि बहुलवाद मान्न सकेको छैन । प्रहरी र सेनामा समेत राजनीति गर्न चाहेकोमा अब न्यायालयलाई पनि प्रभावमा पार्न चाहेको दखिएको छ । प्रचण्डको यो नयाँ सोच सकारात्मक भए पनि यसको आधारमा विगतका बहुदलवादीकै जस्तो व्यवहारले नै प्रश्रय पाउने हो पुनः नयाँ माओवादीहरू जन्मनेछन् भने अर्कोतर्फ प्रचण्डको भनाइको कुनै ठेगान नहुने अवस्था त रहेको छ नै । यो सत्यलाई स्वीकार गर्नैपर्छ कि लोकतन्त्रलाई भ्रष्टाचार र आफन्तको पेवा बनाउने प्रवृत्तिले नै माओवादीहरू जन्मन सहायता भएको हो ।
त्यसो त माओवादी हिंसाको जन्म लोकतन्त्रवादीहरूकै कारणले अनिवार्य भएको थियो त ? यो भने होइन । लोकतन्त्रवादीहरूले गल्ती गरेपछि जनतामा माओवादीहरू पनि लोकतन्त्रको पक्षमा रहेर जनतालाई सजग गरेर चुनाव जितेर सरकारमा जान सकिने थियो । प्रचण्डले पहिला भन्ने गरेजस्तो स्वीट्जरल्यान्ड बनाउन पनि सकिने थियो । आखिर त्यो देशमा पनि लोकतन्त्र नै छ । बाटो बिराएर देशलाई लोकतन्त्रवादीहरूले बिगारेकोमा अझ माओवादीहरूबाट तहसनहस गर्ने कार्य भयो । माओवादीको कार्यकर्तालाई खुवाउने प्रवृत्ति, अरू दललाई निषेध गर्ने कार्यसमेतले माओवादीबाट लोकतन्त्रको माध्यमद्वारा देशलाई भूस्वर्ग बनाउने सम्भावना देखाउनु कल्पना बेच्ने कार्यमात्र हो भन्ने छ नै । तर, उनीहरू सुध्रेमा पनि राम्रो गर्ने सम्भावना देखिँदै देखिँदैन भन्ने पनि होइन र सुधारको सम्भावना पनि छ । सुधार गर्न चाहने हो भने यो दलले देश र जनताको लागि अरू दलहरूले भन्दा राम्रो गर्न सक्ने आधार छन् ।
सर्वप्रथम त यो दलले कार्यकर्तालाई राम्रो बहुलवादी प्रशिक्षण दिनुपर्ने हुन्छ । जनताको मन जितेर कमसेकम तीस वर्ष शासन गर्नका लागि कार्यकर्तामा आर्थिक इमानदारी चाहिन्छ र विकास गरेर नै र सरकारी सम्पत्तिको सदुपयोग गरेर नै कार्यकर्तालाई धनी पनि बनाउन सकिन्छ र देशको विकास गर्न सकिन्छ तथा अरूको पनि अवस्था सुधार गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ । माओवादी नेताहरूले लुटेका सम्पत्तिहरू लुकाएर साधा जीवन व्यतीत गर्न थाल्नुपर्छ । लुटेका सम्पत्ति लुकाउन उक्साउनु पनि अपराध हो तर यसो भन्नु बाध्यता हो । किनभने सम्पत्तिले सुरक्षित नभएको महसुस भएमा उनीहरू अझ त्रसित हुन सक्दछन्, देखाउँदा भ्रस्ट हुन्छन् नै । तै पनि माओवादीका सकारात्मक कार्य गर्ने केही आधारहरू नभएका पनि होइनन् ।
माओवादीको भारतसँग साख बढिरहेको छ । यसलाई कूटनीतिबाट सत्ता बचाउने माध्यम होइन त्यहाँबाट जलविद्युत्मा लगानी गर्ने वातावरण बनाएर हजारौँ मेघावाट विद्युत् निकाल्ने कार्य गर्न सकिने हुन्छ र भारतले तथा भारतीय उद्योगीहरूले यो चाहिरहेका छन् । अशान्तिका बाहक माओवादी नै भएकाले उनीहरूले शान्ति र सद्भावनाको सन्देश दिनासाथ जलविद्युत्, जडीबुटी, फलफूल तथा पर्यटनको विकास हुन थाल्दछ । लोकतान्त्रिक किसिमले नै गर्न चाहने हो भने काङ्ग्रेस र एमालेले गर्न नसक्ने गरी सहकारीसमेतका योजना माओवादीले ल्याउन सक्दछ । किनभने माओवादीका कार्यकर्तामा अझै काङ्ग्रेस र एमालेका कार्यकर्तामाभन्दा धेरै बढी उत्साह र नेताहरूप्रति अहिलेसम्म भ्रमपूर्ण विश्वास छ, यो विश्वासलाई माओवादी नेतृत्वले वास्तविक विश्वास र देशका लागि विश्वासमा बदल्न सक्दछ । यो दलका नेताहरूले कार्यकर्ताहरूमा रहेको उत्साहलाई लुट, खसोट र आतङ्कमा होइन विकासको पक्षमा रूपान्तरित गर्न सक्छन् । माओवादीले चाहँदा देश विकासको गति बढाएर करिब पाँच वर्षमा देशको गार्हस्थ उत्पादन दोब्बर गर्न सकिन्छ । सद्बुद्धि दिनेहरूको कमी हुँदैन । बहुलवादलाई मानेमा र केही अग्रगामी कार्य गर्न सकेमा यो कायपलट माओवादीबाट मात्र हुन सक्दछ ।
तर अवसर पाउनासाथ माओवादीको बन्दुके प्रवृत्ति बढ्ने पो हो कि ? भन्ने शङ्का पनि उत्तिकै छ जसले जनतालाई अझ तर्साउन सक्दछ । उनीहरूप्रति वितृष्णा अहिले पनि छ र यो भरोसामा परिणत गर्न पनि केही डर केही कर्मको आधार लिनुपर्ने हुन्छ । आफ्नो मात्र विचार ठीक र आफ्नो मात्र श्रेष्ठ भन्ने कार्यले नयाँ र फरक विचारलाई प्रस्ट वा प्रकारान्तरले अस्वीकार गरेको हो । विरोधीलाई नसहने सोच माओवादीमा दलभित्र र बाहिर दुवैतिर रहेको हो । फरक मत, अलग धारजस्ता कुरा कम्युनिस्ट पार्टीभित्र सुनिए पनि फरक र अलग मतहरूलाई दबाउने कार्य हुने गरेकोमा यसलाई पनि लोकतान्त्रिक किसिमले समाधान गर्न आवश्यक हुन्छ । जाली, फटाहा, भ्रष्टहरूले लुट्नका लागि र लुटेर बच्नका लागि माओवादी चुनेकोमा तिनीहरूलाई या त सुधार्ने या दलबाट पाखा लगाउने कार्य हुन आवश्यक छ ।
कम्युनिस्ट पार्टीमा सदस्यले सामान्य जनतालाई, सदस्यलाई स्थानीय सेलको सचिवले, स्थानीय तहलाई उपल्लो तहले गर्दै केन्द्रीय समितिलाई पोलिटब्युरोले र पोलिटब्युरोलाई दलको महासचिव (अध्यक्ष)ले हाँकेको हुन्छ, वास्तवमा बन्धक नै बनाएको हुन्छ भन्ने नेपालमा समेत प्रमाणित भएको छ । बहुलवादप्रतिको आस्थाले यो सम्भावना कम हुन्छ तर दलको हितका लागि अन्य सुधार पनि आवश्यक हुन्छ । कम्युनिस्टहरू र मूलतः माओवादीहरू जनतालाई भ्रम बाँड्ने जात हुन् भन्ने प्रमाणित भएको हो । आन्तरिक विवाद र झगडा तथा पदको लडाइँले उनीहरूको लक्ष्य भनेको सिद्धान्तको आवरणमा हुने लुछाचुँडी हो भन्ने बारम्बार छरप्रस्ट भएको छ । जनतालाई सिद्धान्तको नाममा मर्न लगाउने, आफूहरू भने पदका लागि दललाई प्रयोग गर्ने गरेकोमा माओवादीबाट जनताले के पाए भन्ने सवाललाई पनि माओवादीले विकास र समानताको फ्युजनबाटै सकारात्मक बनाउन सक्नुपर्छ । कम्युनिस्ट फर्मुलाअनुसार जनतालाई दुःख दिने र अरू देशका विपत्तिहरूलाई बढाइचढाइ नकारात्मक प्रचार गर्दै आफ्ना गल्तीहरूलाई लुकाउने यो समय होइन । बरु राम्रो गरेर उदाहरण बन्ने आधार नेपालमा भने अरू दलले माओवादीलाई छोडेका छन् भन्ने माओवादीले सोचेर काम गरे हुन्छ ।
यी लक्ष्य पूरा गर्नका लागि शान्तिप्रक्रिया सही निष्कर्षमा पुग्नुपर्छ, लुटिएका सम्पत्ति, विस्थापितहरू, पीडितहरूसमेतको उचित व्यवस्था हुनुपर्छ । त्यस्तै मानव अधिकार र बहुलवादमा आधारित संविधान बन्नभन्दा पहिला पनि जनताको हितमा काम हुन आवश्यक थियो, जुन माओवादीले अहिलेसम्म सरकारमा रहेर पनि नगरेर मौका गुमाएको छ । स्वतन्त्र सञ्चारमाध्यम, न्यायालयसमेतले जनता बलिया भएर सरकारको गल्तीलाई सच्याउने साहस गर्न सक्दछन्् । प्रगतिले शान्ति दिन्छ तर शान्तिले पनि प्रगति दिन्छ । माओवादी संविधानमा बहुलवादको विपक्षमा रहनु संविधानवादविपरीत सोच हो । संविधानवादअनुसार स्वतन्त्र सञ्चारमाध्यम, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासमेतका अङ्गहरूको समान हैसियतको रोक र सन्तुलनमा आधारित स्वतन्त्रता, सीमित अधिकारसहितको सरकारको अवधारणा प्रमुख भएकोमा यीप्रतिको सम्मानले आफू प्रतिपक्षमा रहँदा सहयोग हुन्छ, त्यसैले पनि बहुलवाद मान्नेले संविधानवाद पनि स्वतः मान्दछ ।
पाकिस्तानी राष्ट्रपति जर्दारीले हामीहरूले हिजो विशेष उद्देश्यका लागि आतङ्ककारीहरू जन्मायौँ, पोस्ने कार्य ग-यौँ तर अहिले यो नराम्रो रूपमा जनताको पीडाको रूपमा फैलिएको छ, हाम्रो वशभन्दा बाहिर जाँदै छ र देश पीडा चरम बिन्दुमा पुगेको छ भनेका थिए । यो भनाइ माओवादीहरूका लागि पनि पाठ हुन सक्दछ ।
अब सूचनाको हक, विचारको स्वतन्त्रता, लोकतन्त्रको संरक्षणको ग्यारेन्टी, काम गरेपछि गाँस, बास, कपासको ग्यारेन्टी तथा स्वास्थ्य, शिक्षा एवम् रोजगारीका सम्बन्धमा समावेशीकरण, समानताको हक, स्वतन्त्रताको हकहरूप्रति माओवादी आस्थावान हुने हो भने अरू दललाई पनि यो दलले व्यवहारमा जनपक्षीय लोकतन्त्र र विकासको पक्षमा डो-याउन सक्दछ ।
प्रतिक्रिया