राजेश भोज खुवाउने मुडमा

राजेश भोज खुवाउने मुडमा


funtimeनेपाली सिनेमाका महानायक राजेश हमाल यस्ता कलाकार हुन् जसको हरेक क्रियाकलाप समाचार बन्ने गर्छन् । हरेक समय चर्चाकै शिखरमा रहिरहने हमाल विगत बीस वर्षभन्दा अगाडिदेखि एकनास चर्चामा रहिरहे । विशेष गरेर अविवाहित यी नायकलाई विवाहको प्रसङ्गले भने प्राय: समाचारमा तानिरह््यो । अहिले पनि उनको विवाहको विषयले बजार गरम भइरहेको छ । आफ्ना समकालीनहरूले नाति–नातिनी खेलाइसक्दा पनि हमाल भने अविवाहित नै छन् । यसै सेरोफेरोमा रहेर यसपटक महानायक राजेश हमालसँग केही कुराकानी गरिएको छ ।
० फेरि उठ्यो नि विवाहको कुरा ?
– यो कुरालाई म नयाँ मान्दिनँ । पहिला पनि उठ्थ्यो अहिले पनि उठ्यो ।
० बजारमा आएको तपाईंको पे्रमिकाको तस्बिर के हो त ?
– त्यो तस्बिरबारे अहिले केही नबोलौँ, समय आफैँ बोल्छ, होइन र ?
० तपाईंको विवाहको कुरा त राष्ट्रिय चर्चाकै विषय भयो नि ?
– त्यस्तो हुनुनपर्ने हो तर साथीभाइहरूले त्यस्तो बनाइदिनुभयो ।
० साँच्ची विवाहचाहिँ अहिलेसम्म किन नगर्नुभएको नि ?
– नढाँटीकन भन्नुपर्दा समय नमिलेर ।
० भनेपछि अब समय मिल्लाजस्तो छ ?
– त्यस्तै भनौँ न ।
० आफ्ना साथीभाइहरूको परिवार, बच्चा वा नातिनातिनी देख्दा कस्तो लाग्छ ?
– भनिन्छ नि ! लेखेको पाइन्छ देखेको पाइँदैन । हो, मैले यो कुरालाई त्यही रूपमा लिएको छु ।
० आफ्ना अरूको पक्षको बारेमा भन्दा पनि बारम्बार सबैबाट विवाहकै बारेमा धेरै कुरा सुन्दा कस्तो लाग्छ ?
– मैले यसको जवाफ यति दिएँ कि अब त जवाफ नै छैन र अर्को कुरा यी कुराहरूले गर्दा मेरा अन्य पक्ष छायामा पर्ने त होइनन् ? जस्तो लाग्न थालेको छ ।
० भनेपछि अबचाहिँ तपाईं विवाह गर्ने मुडमा हुनुहुन्छ ?
– मुडमा त म सधैं छु नि । तर साइत नजुरेको हो भन्नुपर्छ यसलाई । आफूले मात्र मुड बनाएर हुन्न नि । उताबाट पनि मुड बन्नुप¥यो नि ।
० उताबाट भनेको कताबाट ?
– समय आएपछि सबै छर्लङ्ग हुन्छ ।
० विवाह केका लागि गरिन्छ होला त ?
– म अविवाहितलाई के थाहा ? यो त अनुभवीलाई सोध्नुप¥यो नि ।
० यदि विवाहको मुड बनाएको हो भने तपाईंचाहिँ केका लागि विवाह गर्दै हुनुहुन्छ नि ?
– म पनि सोच्दै छु कि म केका लागि विवाह गर्दै छु । अनि विवाह किन गर्ने ? त्यो प्रश्न पनि छ । यसको जवाफ म मेरा साथीहरूसँग माग्दै छु ।
० तपार्इंको विवाहको भोज ७० सलामा खान पाइन्छ त ?
– म त धेरै पहिलेदेखि नै भोज खुवाउने मुडमा छु नि । तर के गर्ने समयले साथ दिएन । एक दिन खानुपर्छ ।

करिश्माको घरमा फागुपर्व
नायिका करिश्मा मानन्धर सिनेमाको पर्दामा मात्र होइन वास्तविक जीवनमा पनि निकै फरासिली, रमाइली र आत्मीय छिन् । पारिवारिक वातावरणमा हुर्किएकी उनलाई समग्र नेपाली चलचित्र क्षेत्र र कलाकारिता पनि एउटै परिवारजस्तो लाग्छ रे ।
कुनै चाडवाड र महोत्सव आयो भने आफू लागेको क्षेत्रका व्यक्ति–व्यक्तित्वलाई बोलाएर जमघट गराउँदै सुखी साट्ने वा बाँड्ने कार्यमा उनी पछाडि पर्दिनन् । अन्य नायिकाहरूले यस्तो माहौललाई बिर्से तापनि वा यस्तो जमघट नगरे तापनि करिश्माले भने केही वर्षअघिदेखि एउटा विशेष चाड फागुपूर्णिमालाई सिनेकर्मीहरूमाझ निकै भव्य तरिकाले मनाउँदै आइरहेकी छिन् ।
यसपटकको फागुपूर्णिमा पनि उनले मंगलबार आफ्नो निवासस्थान ललितपुरको गोदावरीमा निकै रमाइलो गरेर मनाइन् ।
करिश्माको निजी घर गोदावरीमा फागुपूर्णिमाको दिन मंगलबार कलाकर्मीहरूको उल्लासमय बाक्लै उपस्थिति रहेको थियो । पुराना पुस्ताका कलाकर्मीदेखि नयाँ पुस्ताका कलाकर्मीहरूको जमघटले साँच्चै माहोल नै निकै रमाइलो बनाएको थियो । करिश्माजस्ती सदावहार नायिकाको निमन्त्रणामा कार्यक्रममा पुगेका कलाकर्मीहरूले प्रसन्नता व्यक्त गरेका थिए । उनीहरू भन्दै थिए, ‘चलचित्रसम्बन्धी कुनै सङ्घसंस्थाले यस्तो कार्यक्रम गर्नुपर्दथ्यो तर करिश्माले व्यक्तिगत पहलमा यस्तो भव्य कार्यक्रम गरेकी छिन् । उनलाई धन्यवाद दिनैपर्छ ।’
फागुपूर्णिमाको यो माहोलमा को जुनियर को सिनियर ? अनि को युवा को वृद्ध ? कसैमा फरक देखिएको थिएन । सबै आ–आफ्नै ताल, गफ र माहोलमा रमाइरहेका थिए ।

दलितलाई ‘प्रतिभा जाति’ भनाउने माग
नेपाली समाजलाई आफ्नो सीप र प्रतिभाबाट विकासको क्रममा अघि बढाउँदै आएका जातिलाई अपमानजनक रूपमा ‘दलित’ नभन्न आग्रह गरिएको छ । प्रतिभा जाति नागरिक समाज–नेपालले अब बन्ने संविधानमा ‘दलित’को साटो ‘प्रतिभा जाति’ उल्लेख गर्न माग गर्दै यस्तो आग्रह गरेको हो । समाजका अध्यक्ष दलवीर विश्वकर्मा रसाइलीले आगामी संविधानमा दलित शब्दको ठाउँमा ‘प्रतिभा जाति’ लेखाउन अभियान नै चलाएको बताए । उनले दलित शब्दले सधैँ प्रतिभासम्पन्न जातिलाई अपमानित र अपहेलित पारेको भन्दै यो शब्द नहटेसम्म मुलुकमा जातीय छुवाछुत र विभेद अन्त्य हुन नसक्ने दाबी गरे ।