बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ ।
समाजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले भेलामा बिपी विचारलाई सिद्धान्तका रुपमा अंगिकार गरेको पार्टी तीनै तहको निर्वाचनमा किन पराजित भयो भन्ने विषयमा समीक्षा हुने बताए ।
‘हारको जिम्मेवारी काँग्रेस केन्द्रीय समितिले लिए पनि हारको कारण कार्यकर्तालाई भनिएको छैन, कार्यकर्ता के कारण हार भयो भन्ने जान्न चाहन्छन्, काँग्रेस प्रभावकारी प्रतिपक्ष पनि बन्न नसकेका सम्बन्धमा भेलामा छलफल हुनेछ’–उनले भने । काँग्रेसका विरुद्ध सबै दल एकजुट भएकाले गणतन्त्र र धर्मनिरपेक्षताका लागि पार्टीलाई प्रयोग मात्र गरिएको त होइन भन्ने आशंका भएको सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । राससका अनुसार काँग्रेससँगै प्रजातन्त्र र राष्ट्रियता समाप्त गर्ने षड्यन्त्र भइरहेकाले त्यसतर्फ सजग हुन समाजले आह्वान गरेको छ ।
भेलामा ३ नं प्रदेशका १३ जिल्लाका समाजका सदस्यको सहभागिता रहने प्रदेश संयोजक खेमराज सेढाईंले बताए । त्यस अवसरमा काँग्रेसले बिर्सन थालेको बिपी विचारका बारेमा समेत बहस हुने जनाइएको छ ।
प्रतिक्रिया