सरकारद्वारा हिजो मंगलबार जारी २०७५÷०७६ को बजेट आमनागरिकले आशा गरेअनुसारको आउन नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जनाएको छ । बजेट वक्तव्यबारे विज्ञसहित बुधबार काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको काङ्ग्रेस संसदीय दलको बैठकले सो बताएको हो ।
बजेटले स्पष्ट प्राथमिकतासहित योजनाबद्ध रूपमा आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने अवसर गुमाएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्रोत साधनले धान्न सक्नेभन्दा प्राथमिकताविहीन कार्यक्रमको फेहरिस्त प्रस्तुत गरेको छ । स्रोत साधनका लागि बाह्य निभर्रता थप बढ्ने देखिन्छ । निजी क्षेत्रको लगानी हतोत्साही गर्ने उद्देश्य बजेटले राखेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘रोजगारी, कृषि र पर्यटन क्षेत्रमा बजेटमा उल्लेखित लक्ष्य प्राप्त गर्न आवश्यक ठोस योजना र कार्यक्रम छैनन् । समग्रमा देश, प्रदेश र स्थानीय तहको बजेटलाई ध्यानमा राख्ने हो भने राजस्वको लक्ष्य निकै महत्वाकाङ्क्षी छ ।’
‘नेपाली जनतालाई कर र ऋणको बोझ बोकाउने यो बजेटले सत्तासीन कम्युनिस्ट पार्टीका कार्यकर्तालाई भरणपोषण गर्ने रणनीति लिएको स्पष्ट छ । आमनागरिकलाई लगानीका लागि अभिप्रेरित गर्ने र नयाँ रोजगारीको अवसर जुटाउनेभन्दा आमनागरिकलाई निराशाजनक तुल्याएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया