पूर्वमाओवादी अध्यक्ष प्रचण्डद्वारा पूर्वएमालेलाई आफ्ना हितमा उच्चतम उपयोग गर्ने क्रमको शुरुवात गणतन्त्र दिवसको अवसर पारेर भएको छ । निर्दोष नागरिक उज्जैनकुमार श्रेष्ठको हत्यामा अदालतद्वारा दोषी ठहरिएका बालकृष्ण ढुङ्गेललाई सजाय माफी गराउन सक्नुलाई प्रचण्डको सफलता ठानिएको छ ।
कुनै समय माओवादीका नाममा भएका हत्या र हिंसाका घटनाप्रति सबैभन्दा आलोचनात्मक दृष्टिकोण राख्ने नेता केपी ओलीकै नेतृत्वमा बालकृष्ण ढुङ्गेललाई सजाय माफी गराउने कार्य हुनुलाई माओवादी पक्षले आफ्नो विजय ठानेको छ । प्रचण्डलाई साथ लिएर ओलीले पद पाउन सफल भए पनि यो सहकार्यबाट प्रचण्डले राजनीतिक लाभ हासिल गर्ने ठानिएको छ ।
ज्ञातव्य छ, उज्जैनलगायत उनको परिवारका अन्य सदस्यहरूको हत्या एवम् आत्महत्याका लागि जिम्मेवार ठहरिएका बालकृष्ण अदालतबाट दोषी ठहर भएर पनि निकै ठूलो प्रयासपछि पक्राउ परेका पात्र हुन् । जघन्य हत्या प्रकरणसँग जोडिएका पात्र हुनाले मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय निकायले समेत ढुङ्गेल प्रकरणलाई सूक्ष्म रूपले नियालिरहेको बताइन्छ ।
बालकृष्ण ढुङ्गेललाई सरकारको सिफारिसमा राष्ट्रपतिले क्षमादान गर्न नहुने आवाज सर्वत्र उठिरहेको परिवेशमा त्यसको उपेक्षा गर्दै ओली सरकारले ढुङ्गेलको रिहाइको निम्ति सिफारिस गरेबाट प्रधानमन्त्री केपी ओलीको छविमा समेत दाग लाग्न पुगेको छ । मानवअधिकारको क्षेत्रमा लामो समयदेखि क्रियाशील एक मानवाधिकारकर्मीले त यतिसम्म दाबी गरे कि ढुङ्गेललाई रिहा गर्ने प्रस्ताव बिनाप्रतिवाद हस्ताक्षर गर्ने ओली क्याबिनेटका सबै मन्त्रीसमेत अन्तर्राष्ट्रिय मानवअधिकारको कठघरामा तानिन सक्नेछन् ।
प्रतिक्रिया