प्रचण्ड र उपेन्द्र केपीसँग नजिकिनुको यस्तो छ रहश्य

प्रचण्ड र उपेन्द्र केपीसँग नजिकिनुको यस्तो छ रहश्य


सङ्घीय समाजवादी फोरमसमेत सहभागी भएपछि केपी ओली नेतृत्वको वर्तमान सरकार ‘दुईतिहाइ बहुमत’को समर्थन प्राप्त सरकारमा रूपान्तरित हुन पुगेको छ । प्रधानमन्त्री ओलीले फोरमलाई सरकारमा सहभागी गराउन धेरै पहिले नै प्रयास गरेको भए पनि कहिले संविधान संशोधन त कहिले पदीय भागबन्डा नमिलेकोजस्ता विषयलाई कारण बताउँदै फोरम नेतृत्वले सरकारमा सहभागी हुन आनाकानी गर्दै आएको थियो । तर, अहिले आफ्ना पूर्वअडानहरू छोडेर फोरम सरकारमा सहभागी हुन रातारात तयार हुनुलाई रोचक तथा रहस्यपूर्ण ठानिएको छ ।

दुई नम्बर प्रदेशमा राजपाको स्थिति कमजोर तुल्याउँदै उक्त प्रदेशको राजनीतिमा आफ्नो भूमिका सर्वाधिक बलियो बनाउन उपेन्द्र यादवले सरकारमा सहभागी हुने निर्णय लिएको बताइन्छ । राजपाले सरकारमा सहभागिता जनाउने चर्चा चल्न थालेपछि उपेन्द्र यादव राजपालाई उछिन्दै सरकारमा सम्मिलित हुन तयार भएको भन्ने एकथरीको भनाइ छ । तर, यसका पछाडि थप केही गम्भीर कारण भएको बुझिन्छ ।

ओलीसँग ईयूको सम्बन्ध चिसिएकै अवस्थामा प्रचण्ड ‘एमाले’सँग पार्टी एकता गर्न ‘बाध्य’ भएका छन् भने उपेन्द्र यादव सरकारमा सहभागी हुन ‘तयार’ भएका छन् । राजनीतिक विश्लेषकहरूले यी घटनाक्रमहरूलाई सहज र स्वाभाविक रूपमा लिइरहेका छैनन् ।

प्रधानमन्त्री केपी ओलीप्रति युरोपियन युनियनलगायत केही पश्चिमा मुलुक सशङ्कित भएको ठानिन्छ । निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा युरोपियन युनियनले खसआर्यलाई आरक्षणको सुविधा दिन नहुने व्यहोरा उल्लेख गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ईयूको कडा प्रतिवाद गर्नुभएको थियो । यससँगै ओलीले इसाई धर्म प्रचारमा कडाइ गर्ने पनि बताउनुभएको थियो । यस प्रकरणपछि ईयूसँग केपी ओलीको सम्बन्ध चिसिएको विश्वास गरिन्छ ।

ओलीसँग ईयूको सम्बन्ध चिसिएकै अवस्थामा प्रचण्ड ‘एमाले’सँग पार्टी एकता गर्न ‘बाध्य’ भएका छन् भने उपेन्द्र यादव सरकारमा सहभागी हुन ‘तयार’ भएका छन् । राजनीतिक विश्लेषकहरूले यी घटनाक्रमहरूलाई सहज र स्वाभाविक रूपमा लिइरहेका छैनन् ।

पश्चिमा इसाई मुलुक तथा इसाई सङ्घसंस्थासँग निकटतम मानिएका प्रचण्ड एमालेसँग पार्टी एकीकरण गर्न मानसिक रूपले तयार भइसक्नुभएको थिएन भने ईयूसँग निकट मानिने र जातीय एवम् क्षेत्रीय मुद्दा उठाउने उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमले पनि ओलीबाट सरकारमा सहभागी बन्न भएको पटक–पटकको आग्रहलाई बेवास्ता गर्दै आएको थियो । तर, अहिले ईयूसँग निकट ठानिएका दुवै (माओवादी र फोरम) समूह केपीसँग सहकार्यका निम्ति तयार भएका छन् । यसलाई जानकारहरूले रहस्यमयी भनी टिप्पणी गरेका छन् ।

केपीसँग प्रचण्ड र उपेन्द्र यादवको सहकार्य केपीलाई सहयोग पुऱ्याउनभन्दा पनि उहाँमाथि निगरानी र नियन्त्रणको अवस्था पैदा गर्नका निमित्त भएको ठानिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच सम्बन्ध सुमधुर भएसँगै मोदीप्रति बहुदूरीको दृष्टिकोण राख्नेहरू ओलीको वरिपरि पुग्नुको रहस्य खुल्न केही समय प्रतीक्षा गर्नुपर्ने ठानिएको छ ।