
केपी ओली नेतृत्वको उन्नाइस सदस्यीय मन्त्रिमण्डलमा आठ मन्त्रीहरूले आफ्नो काममा जाँगर चलाएको देखिए पनि बाँकी दशको क्रियाशीलता भने सामान्य स्तरको पाइएको छ । सय दिनभित्र मन्त्रीहरूको सक्रियता र तिनले लिएका निर्णयहरूसमेतका आधारमा अध्ययन गर्दा आठ मन्त्रीहरू विशेष रूपले नै जाँगरिला पाइएका छन् ।
गोकर्ण विष्ट, रवीन्द्र अधिकारी, रामबहादुर थापा बादल, गोकुलप्रसाद बास्कोटा, लालबाबु पण्डित, मातृका यादव, शेरबहादुर तामाङ र गिरिराजमणि पोखरेललाई जाँगरिला मन्त्रीका रूपमा हेरिएको छ । आ–आफ्नो मन्त्रालयको काममा ज्यादा सक्रियता दर्शाएका कारण उल्लिखित आठ मन्त्रीहरूलाई अलिक जाँगरिला मानिएको हो । गृहमन्त्री बादलको भूमिकाले प्रशंसा पाइरहेको भए पनि कानुनी शासनका ज्ञाताहरूले भने उनको क्रियाकलाप गैरकानुनी र हुकुमी शैलीको भएको ठहर गरेका छन् ।
बादलको कार्यशैली कानुनीभन्दा ज्यादा अधिनायकवादी भएको बौद्धिक समुदायको निष्कर्ष छ । गल्ती गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याएर कारबाही गर्नभन्दा हुकुमी शैलीमा कारबाही गर्ने क्रम शुरु गरिनुलाई बादलको अधिनायकवादी चरित्र भनी टिप्पणी भएको छ । तथापि जनसाधारणमा भने गृहमन्त्री बादलको कामलाई सकारात्मक रूपमा लिएको पाइएको छ । गोकर्ण विष्ट र रवीन्द्र अधिकारी वर्तमान सरकारमा सर्वाधिक क्रियाशील मन्त्रीका रूपमा चिनिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाका कामहरूको परिणाम आइनसकेको भए पनि उनको सक्रियतालाई पनि प्रशंसनीय मानिएको छ । लालबाबु पण्डित, शेरबहादुर तामाङ, गिरिराजमणि पोखरेल र मातृका यादव पनि क्रियाशील मन्त्रीहरूको कोटीमा रहेको मानिन्छ । यद्यपि उनीहरूले सम्हालेको मन्त्रालयको चरित्र अलिक भिन्न प्रकृतिको रहेकोले तत्काल ठोस परिणम हासिल भइसकेको छैन, हुने आशा भने गरिएको छ । शुरुवाती दिनदेखि नै सक्रियता देखाएका मातृका यादवको स्वास्थ्यमा देखापरेको समस्याका कारण उनले आफ्नो ‘पर्फर्मेन्स’ देखाउन पाएका छैनन् ।
एमालेको उच्च तहका तर एकीकृत कम्युनिस्ट पार्टी गठनपछि घटुवामा परेका ईश्वर पोखरेलले सम्हालेको रक्षा मन्त्रालय प्रत्यक्ष जनसरोकारको नभएको र उक्त मन्त्रालयमा मन्त्रीको भूमिका सीमित हुने भएकोले उनी यसपटक नराम्रोसँग छायामा परेका छन् । रघुवीर महासेठ कुरा ठूला गर्ने, तर काम गर्ने ढङ्ग नभएका व्यक्तिका रूपमा चिनिएका छन् । क्षमता भएर पनि वर्षमान पुन र चक्रपाणि खनाल यो मन्त्रिमण्डलमा निकम्माझैँ देखिएका छन् । मन्त्री बन्न पाएकैमा दङ्ग परेका विना मगर, शक्ति बस्नेत र जगत विक पनि पद्मा अर्यालझैँ पूर्णतः निकम्मा ठहरिन पुगेका छन् ।
मन्त्रिमण्डलमा अपेक्षा गरिएभन्दा ज्यादा निकम्मापन पद्मा अर्याल, विना मगर, ईश्वर पोखरेल, डा. युवराज खतिवडा, जगत विक, चक्रपाणि खनाल, वर्षमान पुन, शक्ति बस्नेत, प्रदीप ज्ञवाली र रघुवीर महासेठमा देखिएको टिप्पण्ी आमतवरमा भइरहेको छ । आर्थिक क्षेत्रमा कुनै सकारात्मक सङ्केत दिन नसकेको, कार्यशैली पनि अत्यन्त सङ्कुचित र निर्णय लिने क्षमता रुग्ण भएकोले अर्थमन्त्री डा. खतिवडालाई निकम्माका रूपमा बुझ्न थालिएको छ । खतिवडाप्रति आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रका उद्यमी–व्यवसायी कोही पनि सकारात्मक देखिएका छैनन् । त्यस्तै राम्रो छवि बनाएका प्रदीप ज्ञवाली पनि परराष्ट्र मन्त्रालयभित्र आफैँ अलमलमा परेको निकटवर्तीहरूले ठानेका छन् । मन्त्रालयभन्दा माथिको तहबाट भएका केही विशेष कार्यमा ज्ञवालीको औपचारिक सहभागिता र सक्रियता देखिए पनि उनको आफ्नै अग्रसरतामा खास केही भएको या हुन सक्ने ठानिएको छैन ।
एमालेको उच्च तहका तर एकीकृत कम्युनिस्ट पार्टी गठनपछि घटुवामा परेका ईश्वर पोखरेलले सम्हालेको रक्षा मन्त्रालय प्रत्यक्ष जनसरोकारको नभएको र उक्त मन्त्रालयमा मन्त्रीको भूमिका सीमित हुने भएकोले उनी यसपटक नराम्रोसँग छायामा परेका छन् । विद्या भण्डारी रक्षामन्त्री रहँदा भण्डारी आफ्नो विशेष भूमिकाका कारण निकै चर्चित एवम् लोकप्रिय बनेकी थिइन् । तर, ईश्वर पोखरेल मन्त्रालयमा लोलाएको अवस्थामा भेटिन्छन्, मन्त्रालयको भन्दा मन्त्रालयबाहिरको भूमिकालाई लिएर उनी चिन्तित रहने गरेका छन् ।
रघुवीर महासेठ कुरा ठूला गर्ने, तर काम गर्ने ढङ्ग नभएका व्यक्तिका रूपमा चिनिएका छन् । वर्तमान सरकारले सबैभन्दा ठूलो प्रशंसा पाएको सार्वजनिक यातायातको सिन्डिकेट तोड्न सफल भएकोले हो । महासेठले सम्हालेको मन्त्रालयअन्तर्गतको काम भए पनि सिन्डिकेट तोड्ने सफलताका निम्ति उनले ‘क्रेडिट’ पाउन सकेनन् । बरु सिन्डिकेट तोड्न सशक्त भूमिका निर्वाह गर्ने कर्मचारीलाई सरुवा गरेर उनी विवादास्पद बने ।
क्षमता भएर पनि वर्षमान पुन र चक्रपाणि खनाल यो मन्त्रिमण्डलमा निकम्माझैँ देखिएका छन् । मन्त्री बन्न पाएकैमा दङ्ग परेका विना मगर, शक्ति बस्नेत र जगत विक पनि पद्मा अर्यालझैँ पूर्णतः निकम्मा ठहरिन पुगेका छन् ।
प्रतिक्रिया