हेभी इक्विपमेन्ट अपरेट गर्न शिक्षित युवाको खाँचो

हेभी इक्विपमेन्ट अपरेट गर्न शिक्षित युवाको खाँचो


– सुरेश सुवेदी

मुलुककै मुख्य नाका वीरगञ्जबाट विकास निर्माणमा प्रयोग हुने ठूला निर्माण उपकरणको आयात ह्वात्तै बढेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा यस्ता उपकरणको आयात करिब ६ गुणा बढेको छ ।

पछिल्ला वर्ष विकास निर्माणका कामले गति लिएकाले यस्ता उपकरणको आयात ह्वात्तै बढेको आयातकर्ता बताउँछन् । विगतको तुलनामा विकास बजेटको खर्चमा आएको सुधार र भूकम्पपछिको पुनर्निर्माणले गति लिएकाले पनि निर्माण उपकरणको आयात बढाएको उनीहरूको भनाइ छ ।

यसै सन्दर्भमा नेपाल हेभी इक्विपमेन्ट व्यवसायी सङ्घका अध्यक्ष ताराबहादुर कुँवर निर्माण उपकरणको आयात बढाउने नभई अपरेटरको सङ्ख्या बढाउनुपर्ने धारणा अघि सार्छन् । नेपालमा हेभी इक्विपमेन्टको इतिहासबारे प्रस्ट्याउँदै कुँवर भन्छन्– ‘तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा ल्याएको कानुनी व्यवस्थाका कारण निर्माणसम्बन्धी हेभी इक्विपमेन्ट नेपाल आयात गर्न सहज भएको हो । अन्यथा विदेशी प्रोजेक्टले मात्रै यस्ता ठूला मेसिनको प्रयोग गर्दथे । यस्ता मेसिनले सयौँ मानिसलाई दिनभर लाग्ने काम केही मिनेटमै गर्न सक्छन् । उनीहरूले प्रयोग गरेर छोडेका इक्विपमेन्टलाई नै नेपाली निर्माण कम्पनीले प्रयोग गरेका थिए । निर्माण कम्पनी आफैँ ल्याउने अवस्था थिएन ।’

उनका अनुसार ठूला मेसिनको सङ्ख्या बढेको छ । कामका लागि सजिलो भएको छ । सजिलो मात्रै होइन अनिवार्य नै भइसक्यो । यसले निर्माण जगत्मा नयाँ आयाम नै ल्याएको छ । सडक, पुल, ठूला भवनलगायतका निर्माण कार्यमा ठूला मेसिन नभइनहुने भएको छ । यस्ता मेसिनहरू भारत, जापान, जर्मनी, कोरिया, अमेरिका, चीनलगायत मुलुकबाट नेपाल भित्रिने गरेका छन् ।

बढ्दो आयातसँगै हेभी इक्विपमेन्टका नयाँ–नयाँ ब्रान्ड थपिएका छन् । यसको सङ्ख्या पनि दोब्बर भएर १५–१६ हजार पुगिसकेको छ । देशभर सञ्चालनमा रहेका हेभी इक्विपमेन्टमध्ये एस्क्याभेटरको सङ्ख्या सबैभन्दा बढी रहेको छ । यसैगरी, ब्याक–हो लोडर, बुल्डोजर, ब्रेकर, ग्रेडर मेसिन, क्रेन र अन्य मेसिनको अहिले यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । यस व्यवसायबाट देशभरमा प्रत्यक्ष रूपमा ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । यस क्षेत्रमा १ सय २० अर्बभन्दा बढी लगानी पुगिसकेको छ । त्यसैगरी, हेभी इक्विपमेन्ट बोक्ने गाडीतर्फ पनि अर्बौंको लगानी भइसकेको छ । ४२ वटा जिल्लामा ४ हजारभन्दा बढी हेभी इक्विपमेन्ट व्यवसायी छन् । व्यवसाय र बैंकले दिएको सहुलियती कर्जाका कारण यस्ता मेसिनको आयात बढ्दै गएको छ भने व्यवसायी पनि थपिएका छन् ।

कुँवरका अनुसार २० भन्दा धेरै ब्रान्डका हेभी इक्विपमेन्ट नेपालमा सञ्चालनमा छन् । कोमात्सु, जेसीबी, दुसान, क्याटरपिलर, हुन्डाई, कोबेल्को, टाटा हिटाची, भोल्भो, टेरेक्स, एक्ससीएमजी, स्यानी, बुल, स्कट, केस, महिन्द्रा, लिङगङलगायत संसारभर सञ्चालन हुने ब्रान्डका हेभी इक्विपमेन्ट नेपालको बजारमा देखिन थालेका छन् ।

ठूला मेसिनको बढ्दो सङ्ख्या बढेको कारण अपरेटरको अभाव भएको उल्लेख गर्दै कुँवर भन्छन्– ‘राज्यका निकायहरूबाट लाइसेन्स पाउन झन्झटिलो भएका कारण बिनालाइसेन्सका अपरेटर बढ्ने सम्भावना देखिन्छ । १५–१६ हजार मेसिन आयात हँुदा पनि दुई हजार मात्र लाइसेन्स भएका अपरेटर छन् । यस्तो विरोधाभास राज्यका निकायले हेरिरहेका छन् । ७०–८० हजार खर्च गरेर मात्र लाइसेन्स लिएर सम्भव छैन । १० वर्षे अनुभव भनेका कारण पनि झन्झटिलो भएको हो । अब त हाम्रो माग नै भन्सारमा थप सुविधा चाहिँदैन । हेभी इक्विपमेन्ट अपरेटरका लागि लाइसेन्स सहज बनाउनुप¥यो । सीपविहीन अपरेटरका कारण २० वर्षसम्म लाइफटाइम दिएका मेसिन ४ वर्षमै कवाडीलाई बेच्नुपर्ने बाध्यता छ । विकास निर्माण मर्यादित र सम्मानित पेसा हो । यसतर्फ शिक्षित युवा आकर्षित गर्नुपर्छ ।’