रमेश विक, गुल्मी
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले कांग्रेसले गुटबन्दी अन्त्य गर्नुपर्ने र संगठनलाई मजबुत बनाउनुपर्ने सुझाव दिनुभएको छ । नेपाली कांग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको ५० दिने महाअभियानको समापन समारोहमा कांग्रेसका केन्द्रीय सदस्य तथा विगतमा अर्थमन्त्रीको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएका डा. महतले विगतको निर्वाचनमा कांग्रेस पराजित हुनुमा गुटगत राजनीतिको भूमिका एक प्रमुख कारण रहेको बताउनुभयो । अब कांग्रेसले गुटगत क्रियाकलाप त्यागेर संगठन सुदृढीकरणका साथै समाज र देशको सेवामा समर्पित भई लाग्नुपर्ने सुझाव उहाँले दिनुभयो । गुल्मी काग्रेसको अभियानको सम्मान गर्दै अन्य जिल्लाले पनि यसबाट पाठ सिक्नुपर्ने उहाँको सुझाव छ ।
अहिले बामपन्थीहरुले प्रशासनमा समेत राजनीति गर्न थालेको भन्दै यसबारे सचेत गराउनु काग्रेसको कर्तब्य रहेको उहाँले बताउनुभयो । युवाहरु विदेशीने क्रम बढेको भन्दै डा. महतले श्रमको सम्मान गर्दै नेपाली अर्थतन्त्रलाई स्वदेशमै राख्नका लागि जोड दिनुभयो । नेपालमा श्रम गरेर हिन्दुस्तानतर्फ ५० प्रतिशत रकम गएको भन्दै उहाँले यसलाई रोक्नका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
सोही अवसरमा नेपाली कागे्रसका केन्द्रिय सदस्य एवम् नेता चन्द्र भण्डारीले अब काठमाडौमा बसेर चुनावको टिकट लिने जमाना अन्त्य भएको दाबी गर्नुभयो । गाउँ नजाने, ठुला कुरा गर्ने र चुनावको समयमा नेताको चाकडी गरी टिकट लिने जमानाको गुल्मी कांग्रेसले अन्त्य गर्ने उहाँको तर्क छ । पछिल्लो निर्वाचनमा जनताले कांग्रेसलाई सुधार्नका निम्ति पराजित तुल्याएको भन्दै नेता भण्डारीले अबको निर्वाचनमा काग्रेसले बहुमत ल्याउने दाबी गर्नुभयो । अहिलेको वाम सरकारले काग्रेसलाई विकास निर्माणमा र अन्य विषयहरुमा अपमान गरे १८ महिनासम्म पनि सत्ता टिक्न नदिने उदघोष उहाँको थियो ।
वैशाख १ गतेदेखि सुरु भएको ५० दिने गाउँ जाउँ गाउँमै रमाउँ महाअभियानको समापन कार्यक्रममा जिल्लाका ९३ वटै वडाका पार्टी सभापति एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया