नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको समृद्धि र विकासको आकांक्षा पूरा गर्न पार्टी एकता भएको बताएका छन् ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आइतबार कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा उहाँले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको उल्लेख गरे ।
निर्वाचन अघि पार्टी एकता गर्ने उद्घोष गरिएकामा त्यसलाई कार्यान्वयनमा ल्याइसकिएको बताउँदै उनले आगामी दिन विकास र समृद्धिका लागि लगाइने बताए ।
अन्नपूर्ण क्षेत्र पर्यटकीय रुपमा विश्वव्यापी नै चर्चा कमाएको क्षेत्र भएको बताउँदै उनले पछिल्लो समयमा आन्तरिक पर्यटकको वृद्धि पनि उत्साहजनक रुपमा अघि बढेको उल्लेख गरे ।
अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको स्तरोन्नति, होटेलको संख्या विस्तार, स्वामित्व ग्रहणलगायत विषयमा विद्यमान समस्यालाई सम्बन्धित मन्त्रालयमार्फत समाधानका लागि पहल गर्ने विश्वास उनले व्यक्त गरे ।
देशको विकास अब नयाँगतिका साथ अघि बढ्ने धारणा राख्दै प्रचण्डले आगामी एक दशकमा विकासले फड्को मार्ने गरी काम अघि बढाइने बताए ।
अन्नपूर्ण गाउँपालिकामा खानेपानी परियोजना परेको बताउँदै उनले फेवातालदेखि बाटो निर्माण, पोलिटेक्निकल इन्टिच्युट स्थापना जस्ता विषय अघि बढ्ने उल्लेख गरे ।
युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मुलुक र जनताको समृद्धिका लागि खेल पर्यटनको महत्वपूर्ण भूमिका रहेको बताए ।
मुलुकले खेल क्षेत्रमा लगानी बढाउन अपरिहार्य भएको बताउँदै उनले खेलकूदलाई व्यावसायिक रुपमा विकास गर्ने सरकारको तयारी रहेकामा जोड दिए । राससमा जनाइएअनुसार प्रदेशसभा सदस्य राजिव पहारीले अन्नपूर्ण पदयात्रासँग फेवाताललाई जोडेर पर्यटन प्रवद्र्धनमा जोड दिइनुपर्ने बताए ।
पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले साहासिक खेललाई व्यावसायिक र अन्तराष्ट्रियकरण गरिनु जरुरी रहेको उल्लेख गर्दै अन्नपूर्ण पदमार्गमा आवश्यक पूर्वाधार विकासलाई बोर्डले सहयोग गर्ने बताए ।
कार्यक्रममा महोत्सव संयोजक ललित गुरुङ, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारी, शिक्षा मन्त्रालयका उपसचिव विष्णु अधिकारी, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, म्याराथन संयोजक किसान गुरुङलगायतले अन्नपूर्ण क्षेत्रको प्रवद्र्धन र विकासमा महोत्सव महत्वपूर्ण हुने धारणा राखेका थिए ।
सो अवसरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका क्रममा सञ्चालित अन्नपूर्ण म्याराथन, महिला तथा पुरुष भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिताका विजेता खेलाडीलाई नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया