प्रचण्डले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को मुद्दा अर्को चुनावमा उठाउने

प्रचण्डले ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को मुद्दा अर्को चुनावमा उठाउने


नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको धारणा प्रचण्डले सार्वजनिक गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको खुलासा गरेका हुन् । उनले शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने अवस्था आउन सक्ने समेत बताए ।

नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनामा कम्युनिष्टको महत्वपूर्ण भूमिका रहेको दाबी गर्दै उनले सबलीकरणमा पनि कम्युनिष्टहरूको सक्रियता आवश्यक रहने तर्क गरे । पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका सम्बन्धमा करीब करीब सहमति भएपनि पछि तत्कालका लागि यही मोडेलअनुसार गर्ने भन्ने तय भएको उनको भनाई थियो ।

अहिले दुई तिहाई बहुमतको सरकार रहेको बेला संविधान संशोधन गरी कार्यकारी राष्ट्रपतिको प्रावधान गरिन्छ कि ? भन्ने सवालमा उनले नेकपा र भर्खरै सरकारमा आएको पार्टी फोरम पनि प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा रहेको, तर पार्टीगत तहमा यो छलफलको विषय भए पनि तत्कालीन एजेन्डा भने नभएको भन्दै दोधारे जवाफ दिए । अहिले बीचमा कार्यकारी राष्ट्रपतिको कुरा झिक्दा विकासको बाटो अलमलिने भएकोले अब निर्वाचन आउनुभन्दा केही समयअघि मात्र यो विषय उठाइने उनले प्रष्ट्याए ।


तस्बिर रासस