लमजुङमा एसियाकै पहिलो क्यानोनिङ उत्सव

लमजुङमा एसियाकै पहिलो क्यानोनिङ उत्सव


-छविलाल बगाले
एसियामै पहिलोपटक लमजुङको स्याँगेमा अन्तर्राष्ट्रियस्तरको क्यानोनिङ उत्सव आयोजना हुने भएको छ । अन्नपूर्ण पदमार्गको ताघ्रिङ स्याँगेमा यही चैत २४ गतेबाट सुरु भई एक सातासम्म आयोजना हुने उत्सव आन्तरिक तथा बाह्य गरी ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । सन् १९८० मा युरोप र १९९० मा अमेरिकाबाट सुरु भएको क्यानोनिङलाई साहसिक खेलको रूपमा लिने गरिन्छ ।
बेसीसहरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले अमेरिका, युरोपलगायत १२ देशका करिब दुई सय क्यानोन, एक हजारभन्दा बढी बाह्य पर्यटकसहित ५० हजारले क्यानोनिङमा सहभागिता जनाउने बताए । क्यानोनिङबाट यस क्षेत्रका सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यहरूको उजागर हुने तथा यस क्षेत्रमा उत्पादन भएका कृषि सामग्री, हस्तनिर्मित सामग्रीलगायतका समानको समेत राम्रो कारोबार हुने भएकोले यस क्षेत्रका बासिन्दा क्यानोनिङ सम्पन्न गर्न लागिपरेका छन् । साथै बेसीसहरबाट २७ किलोमिटर टाढा पर्ने उक्त क्यानोनिङ स्थलसम्म पुग्नका लागि स्थानीय बासिन्दाद्वारा सडक मर्मत तथा सरसफाइ कार्य सुरु गरेका छन् । क्यानोनिङस्थलमा अहिले तीव्र गतिमा घर-टहरा निर्माणकार्य भइरहेको वाटर फल होटलका प्रोप्राइटर नरबहादुर गुरुङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ६ सय ५० मिटरको सञ्जापु झरना, ४/४ सय मिटर उचाइका स्याँगे, ढोडखोला र घोप्टे र दुई सय ६० मिटरको राइदुलगायतका आधा दर्जनभन्दा बढी झरनामा क्यानोनहरूले विभिन्न साहसिक छाँगारोहण गर्नेछन् । क्यानोनहरूले हिँडेर, चढेर, पौडी खेलेर लक्षित चुनौती पार गर्नेछन् । ‘यसका लागि क्यानोनिङसँगै अन्य साहसिक गतिविधि पदयात्रा, र्‍याफ्टिङ, रक क्लाइम्बिङ र पर्वतारोहणलाई समावेश गर्ने कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रियस्तरको क्यानोनिङ उत्सवले लमजुङको मात्र नभई देशकै पर्यटन उद्योगका लागि महत्त्वपूर्ण सहयोग पुर्‍याउने लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदकुमार श्रेष्ठले बताए ।
एसियामै पहिलोपटक अन्नपूर्ण पदमार्गमा हुन लागेको क्यानोनिङ उत्सवलाई सफल पार्न र जिल्लाको पहिचान विश्वसामु पुर्‍याउन स्थानीयवासीले परम्परागत कला र संस्कृति, जिल्लाका पर्यटकीय स्थलहरूको वृत्तचित्र र झाँकी तथा र्‍याली प्रदर्शन गरिने उत्सव आयोजक समितिका संयोजक सुमन गुरुङले बताए । नेपाल क्यानोनिङ सङ्घको आयोजनामा हुन लागेको क्यानोनिङलाई सघाउन ताघ्रिङ र घेर्मु गाउँ विकास समितिका स्थानीयवासीले सुमन गुरुङको संयोजकत्वमा एक सय एक सदस्यीय उत्सव आयोजक समिति, २१ सदस्यीय कार्यसम्पादन र सात सदस्यीय सचिवालय गठन गरेका छन् ।