निन्जा उसु क्वानकी प्रेमकुमारी आलेमगरले अन्तरक्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको महिला नान छ्वानमा स्वर्ण जितेकी छन् । शिअ उसु क्वानकी अलिशा खाती दोस्रो र बलम्बु उसु क्वानकी अनुषा महर्जनले तेस्रो स्थान प्राप्त गरे । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको पुरुष नान् छ्वानमा पशुपति उसु क्वानका सागर खड्का पहिलो, बलम्बुका प्रवीण लामा दोस्रो र काठमाडौंका अम्बरबहादुर पुलामी तेस्रो भए ।
त्यस्तै महिला छाङ छ्वानमा बलम्बुकी अस्मिता श्रेष्ठ पहिलो, शिअकी एलिशा खाती दोस्रो र बुद्ध प्रकाशकी मुना मगर तेस्रो भए । थाइची छ्वानको पुरुषमा कैलाली उसु क्वानका जनक बुढा तथा महिलामा बुद्ध प्रकाशकी सम्झना लिम्बूले पहिलो स्थान हात पारे ।
नेपाल उसु सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको थाउलोतर्फ ११ र सान्सौंमा १४ गरी जम्मा २५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा अधिराज्यभरिवाट ३० क्वानबाट ३ सय खेलाडीको सहभागिता रहेको उसु सङ्घका कोषाध्यक्ष सुमन भट्टले जनाएका छन् ।
प्रतियोगितामा पहिलो हुने टिमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । थाउलो र सान्सौंतर्फ पुरुष, महिला उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ । प्रतियोगिता जेठ २४ गते बिहीबारसम्म जारी रहनेछ ।
प्रतिक्रिया