प्रदेश पाँच र पुलिस सेमिफाइनलनजिक

प्रदेश पाँच र पुलिस सेमिफाइनलनजिक


मूलपानी मैदानमा भएको खेलमा प्रदेश ३ लाई ६ विकेटले पराजित गरेपछि नेपाल पुलिस क्लब सेमिफाइनलनजिक पुगेको छ । जितपछि पुलिसको ५ अङ्क भएको छ भने प्रदेश ५ र ७ को पनि समान ५ अङ्क छ । आज जेठ २४ गते बुधबार हुने प्रदेश ५ र पुलिसबीचको खेलले सेमिफाइनलमा पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ ।

बुधबारको खेलमा पुलिस वा प्रदेश ५ ले ठूलो अन्तरको जित हासिल गरेको खण्डमा प्रदेश ७ को पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । प्रदेश ७ ले समूह चरणका चारै खेल खेलिसकेको छ ।

वर्षाका कारण २० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । उसका लागि २ खेलाडीले मात्र दोहोरो अङ्कको रन बनाउन सके । अदिल खानले ४५ र सोनु तामाङले ४८ रन बनाउनुबाहेक अन्य खेलाडी क्रिजमा टिक्नै सकेका थिएनन् । बलिङतर्फ पुलिसका रामनरेश गिरीले ३ तथा ललित भण्डारीले २ विकेट लिए ।

१३७ रनको लक्ष्य पुलिसले इनिङको १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टाएको थियो । पुलिसका लागि ओपनर सुनील धमला र मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाएका थिए । यी दुईले चौथो विकेटका लागि ११० रनको साझेदारी गरेपछि पुलिसले जित हासिल गरेको हो ।

आरिफले ५४ बलमा २ छक्का र ४ चौकाको सहयोगमा ६० रन बनाउँदा सुनील धमलाले ४६ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ५० रन बनाए । अन्तिम ओभरको दोस्रो बलमा आरिफ क्याटआउट भएपछि आएका पुलिसका कप्तान मञ्जित श्रेष्ठले तीन रन लिँदै जित दिलाएका थिए । बलिङतर्फ प्रदेश ३ का रूपेश श्रीवास्तवले २ विकेट लिए । आरिफ खेलको म्यान अफ दी म्याच चुनिए ।