सुशील कोइराला काङ्ग्रेसको अन्तिम सभापति ? †-राजेश ढुङ्गाना

सुशील कोइराला काङ्ग्रेसको अन्तिम सभापति ? †-राजेश ढुङ्गाना


काङ्ग्रेसमा, अन्तिम समयताका स्वर्गीय गिरिजाप्रसाद कोइरालाका ‘दत्तकपुत्र’झै चिनिने झापातिरका एकजना पूर्ववकिलले काङ्ग्रेस बैठकमा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेविरुद्धको सर्वोच्च अदालतको निर्णयविरुद्ध काङ्ग्रेस संस्थागत रूपमै विरोधमा उत्रनुपर्ने प्रस्ताव राखेका छन् । यदि काङ्ग्रेसले उनकै कुरालाई आफ्नो घोषित-अघोषित नीति-निर्णय बनायो भने, मुलुकले एउटा राम्रो प्रहसन हेरेर हाँस्न पाउने भएको छ । काङ्ग्रेस जोकर बनेको त्यो हास्य रमाइलो मात्र होइन, काङ्ग्रेस समाप्तिको अर्को एउटा गतिलो चरण पनि हुनेछ ।
गिरिजाप्रसाद कोइरालाका दत्तकपुत्र भएपछि स्वतः सुशील कोइरालाका कान्छो भाइ भएका सिटौलाले चिरञ्जीवी वाग्ले वा काङ्ग्रेसको मायाले सर्वोच्च न्यायालयविरुद्ध काङ्ग्रेसले प्रतिकारमा उत्रनुपर्छ भनेका होइनन्, उनलाई न चिरञ्जीवीका प्रति कुनै माया छ न त काङ्ग्रेसका प्रति प्रेम उर्लेर नै उनले यस्तो प्रस्ताव ल्याएका हुन् । कुरा कत्ति हो भने- दुई करोडमा डेढ वर्ष जेल बस्नुपर्दा उनी आफू दुई अर्बले जेल बस्नुपर्दा उनको यो जीवनले मात्र पुग्दैन । अर्को जीवन पनि लाग्छ । पीडा योचाहिँ हो ।
न मुलुकको प्रजातान्त्रिक आन्दोलनमा बहुदल आउनुअघि न्यूनतम एक दिन, एक घन्टा वा एक मिनेट प्रहरीचौकीसमेत बसेका न काङ्ग्रेसका निमित्त कुनै देन । बरु शरदचन्द्र शाहको कुख्यात खेलकुद समितिका सदस्य रहेर अप्रत्यक्ष पञ्चायतलाई नै सघाएका यी ‘महान्’ त्यागीको काङ्ग्रेसमा उन्नति र प्रगति अस्वाभाविक र अप्रत्यासित मात्र छैन रहस्यमय पनि छ । कोइरालाहरू यीसँग किन नतमस्तक ? कुनै गुप्त रहस्यको भेद पक्रेर ब्ल्याकमेलिङ त होइन ? गिरिजाप्रसाद कोइरालालाई त पैसाको कमजोरी थियो । तर, साधु देखिन चाहने सुशीलको मोह के हो ? रक्तचन्दनलगायत अन्य भ्रष्टाचार थाहा नभए पनि सुडान भ्रष्टाचार प्रकरणमा उनलाई संसद्को राज्य व्यवस्था समितिले दोषी किटान गरेको थाहा हुनुपर्ने हो । संसद्ले भ्रष्टाचारी किटान गरेको मान्छेलाई काङ्ग्रेसको महामन्त्री बनाउनैपर्ने किन ?
यदि महामन्त्रीमा सुशीलको रोजाइ अहिले पनि यही हो भने- निश्चिय पनि चिरञ्जीवीविरुद्धको फैसलामा काङ्ग्रेस विरोधमा उत्रनैपर्छ । भ्रष्टाचारलाई काङ्ग्रेसको नीति र सिद्धान्त नै बनाउनुपर्छ । भ्रष्टाचारी हुन मात्र योग्यता निर्धारण गर्नुपर्छ । र, वाग्लेलाई जेलभित्रैबाट कार्यवाहक सभापति बनाउनुपर्छ । होइन भने, वाग्लेभन्दा पनि ठूलो कसुर गर्ने सिटौलालाई महामन्त्री बनाइनुहुँदैन । बरु कम्तीमा पनि सफाइ नपाएका मितिसम्म काङ्ग्रेस सदस्यबाट समेत निलम्बन गरिनुपर्छ । यसो गर्दा काङ्ग्रेस पुनः लोकप्रिय भएर मौलाउन सक्छ । भ्रष्टाचारी पुरस्कृत भए भने त काङ्ग्रेस समाप्त हुनबाट कसरी रोकिन्छ । चिरञ्जीवीको कुरामा एउटा र सिटौलाको सन्दर्भमा अर्को मापदण्ड बनाउन मिल्छ ? यसो भएमा सुशीलको साधुत्वको छवि स्वयम् उनका लागि व्यङ्ग्य हुनेछ । मुलुकका लागि हास्य । सेता दाह्री पालेर मात्र सन्त भइन्न- कर्म नै सन्तत्वको गर्नुपर्छ भन्ने कुरा सुशीलदाजस्तो मान्छेलाई सायद थप बुझाइरहनु नपर्ने कुरा हो ।
काङ्ग्रेस केन्द्रीय बैठकमा अदालतविरुद्ध उत्रने चर्चा निस्कनु नै काङ्ग्रेसको दुर्भाग्य र प्रजातान्त्रिक आन्दोलनको घोर अपमान हो । नेपाल भन्ने देशलाई पहिलोपटक र पटक-पटक क्रान्ति गरेर देखाउने पार्टीको केन्द्रीय समितिमा यस्ता फोहोरी कुरा उठ्नु मात्रले पनि काङ्ग्रेस नैतिक पतनबाट गुज्रेको प्रमाणित हुन्छ । यस्तो कुरा गर्नेलाई महामन्त्री बनाउने होइन । काङ्ग्रेसबाट लखेट्नुपर्छ । अन्यथा काङ्ग्रेसको मृत्युलाई कसैले रोक्न सक्तैन । आफैं अकुत भ्रष्टाचार गर्ने र भ्रष्टाचार गर्न पाउनुपर्छ भनेर काङ्ग्रेसले आन्दोलन गर्नुपर्छ भनेर केन्द्रीय समितिमा विषय प्रवेश गराउने मान्छे काङ्ग्रेसको महामन्त्री भएमा गिरिजाप्रसाद कोइरालाले सभापति भएर जीवनकालमा गर्न नभ्याउनुभएको एक मात्र काम यिनले चाहिँ महामन्त्री मात्र भएर पनि उनकै जीवनकालमा फत्ते गर्नेछन्- काङ्ग्रेसको दाहसंस्कार †
कि यही एक मात्र प्रयोजनका लागि सिटौला महामन्त्री बनाइँदै छन् ? सुशीलदा यदि यही प्रयोजन हो भने काङ्ग्रेस पनि मर्नेछ र तपाईं पनि काङ्ग्रेसको अन्तिम सभापति हुनुहुनेछ । ऐतिहासिक सभापति । नत्र अझै हेक्का राख्ने समय छ ।