श्रीविक्रम भण्डारी
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जेठ २३ गते बुधबारदेखि सञ्चालन हुँदै छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा भलिबल, तेक्वान्दो, उसु, कराते, कबड्डी र एथलेटिक्स गरी ६ खेल समावेश गरिएको छ । जसमा सातवटै प्रदेशका खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको आज सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर, स्वास्थ्यका कारण राष्ट्रपति भण्डारीले प्रतियोगिताको उद्घाटन नगर्ने जानकारी प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार अब राष्ट्रपति भण्डारीको साटो युवा तथा खेलकुदमन्त्री दलबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगिताको उद्घाटन गर्ने प्रतियोगिताका सचिव मीन शर्माले बताए ।
राष्ट्रपति रनिङ सिल्डअन्तर्गत पहिलो उद्घाटन खेलमा महिला भलिबलको प्रतिस्पर्धा हुनेछ । राखेपले महिला खेलाडीलाई ट्रयाकसुट, जुत्ता र प्रतियोगिताका क्रममा लगाउने ड्रेस प्रदान गरे पनि सम्बन्धित प्रदेशका पदाधिकारीले खेलाडीलाई ट्रयाकसुट मात्र प्रदान गर्दा अहिले एकै प्रदेशका खेलाडी रङ्गीचड्गी डे«समा कोर्टमा उत्रिन बाध्य भएको समाचार प्राप्त भएको छ ।
राष्ट्रपतिले उद्घाटन गर्ने प्रतियोगितामा कर्णाली प्रदेशका महिला खेलाडी आ–आफ्नो जिल्ला र क्लबको टिसर्ट लगाएर कोर्टमा उत्रिएपछि खेलकुद पदाधिकारीमा सनसनी फैलिएको थियो । ती खेलाडीले आफूलाई सम्बन्धित निकायले खेल्न पोसाक प्रदान नगरेको र आफूसँग भएको पोसाक लगाएर कोर्टमा उत्रिएको जानकारी गराएको स्रोतले बताएको छ ।
यो विषयमा कार्यक्रमका संयोजक मीन शर्मासँग सम्पर्क गर्दा उनले त्यो प्रदेशका पदाधिकारीहरूको गल्तीले गर्दा भएको बताएका छन् । राखेपले प्रतियोगितामा खेल्ने सबै खेलाडीका लागि ट्रयाकसुट, जुत्ता र खेल्ने पोसाक प्रदान गरेको बताए ।
प्रतिक्रिया