युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता जेठ २३ गते बुधबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले प्रतियोगिताको ब्यानर अनावरणगरी एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री विश्वकर्माले नयाँ आर्थिक वर्षदेखि ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था हुने जानकारी गराउदै २०७५ सालमा खेलकुद पूर्वाधार निर्माणले अझ बढी गति लिने बताए ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नयाँ प्रतिभाको पहिचान गर्न उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै कुनैपनि खेलको जग नै विद्यालय खेलकुद भएको धारणा राखेका थिए ।
विभिन्न ६ खेल समावेस प्रतियोगिताअन्तर्गत एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २–२, कराते र तेक्वान्दोमा ८–८ तथा उसुमा ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगितामा ७ प्रदेशबाट ६ सय ३७ खेलाडी सहभागी छन् ।
टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।
अजित र राममायाको कीर्तिमान

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा छात्रतर्फ प्रदेश ३ का अजितकुमार यादव र छात्रामा प्रदेश ६ की राममाया बुढाले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
अजितले निर्धारित दूरी ४ मिनेट ०२.९ सेकेन्डमा पूरा गरी आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका थिए । राममायाले ५ मिनेट ००.८ सेकेन्डमा दूरी तय गर्दै जुम्लाकी मन्जु राउतले गत संस्करणमा बनाएको कीर्तिमान भंग गरेकि थिइन् ।
१ सय मिटर दौड छात्रतर्फ प्रदेश ४ का प्रकाश राना मगर र छात्रामा प्रदेश ३ की लुजला अमात्यले स्वर्ण जिते । प्रकाशले ११.३ सेकेन्ड तथा लुजलाले १३.३ सेकेन्डमा दौड पुरा गरेका थिए ।
त्यस्तै सटपुटमा छात्रतर्फ प्रदेश ६ का पदम परियार र छात्रामा प्रदेश १ की विनिता राई तथा लङजम्पको छात्रमा प्रदेश ३ का अमित राई र छात्रामा प्रदेश ३ कै रन्जिता राई प्रथम स्थान हासिल गरेका थिए ।
प्रतिक्रिया