तीन विभागीय टोलीसहित प्रदेश नं. ५ सेमिफाइनलमा

तीन विभागीय टोलीसहित प्रदेश नं. ५ सेमिफाइनलमा


एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिससहित प्रदेश नम्बर ५ ले सेमिफाइनलमा स्थान बनाए ।

टियु क्रिकेटम मैदान कीर्तिपुरमा जेठ २३ गते बुधबार भएको खेलमा प्रदेश ५ लाई ७ विकेटले पराजित गर्दै नेपाल पुलिस समुह बीको विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । त्यस्तै पराजयका बाबजुद पनि प्रदेश ५ सेमिफाइनलमा पुगेको छ । समूह ए बाट आर्मी र एपीएफ क्रमसः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज जेठ २४ गते रेस्ट दिईएको छ ।

टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०० रनको मध्यम योगफल बनाएको थियो । उसका लागि शंकर रानाले ४४, शौरभ खनालले ४२, राजबीर सिंहले २१ र सन्दीप सुनारले २० र कृष्ण कार्कीले २६ रन बनाएका थिए । बलिङतर्फ पुलिसका ललित राजबंशीले २ बिकेट लिएका थिए ।

२०१ रनको विजय लक्ष्य पाएको पुलिसले दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकको सहयोगमा ४४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । सुस्त सुरुआत गरेको पुलिसका ऐरी र आरिफ शेखले चौथो विकेटका लागि १०४ रनको अविजित सतकीय साझेदारी गरेका थिए । ऐरीले ५३ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ५८ रन बनाउँदा शेखले ५१ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ४५ रन जोडेका थिए ।

यसअघि ओपनरहरु सुनील धमला र अमित श्रेष्ठले क्रमसः ३६ र ३० रन जोडेर आउट भएका थिए । त्यस्तै दिलिप नाथले पनि २४ रनको योगदान दिएका थिए । बलिङतर्फ प्रदेश ५ का सन्दिप सुनारले २ तथा लाल अधिकारीले १ विकेट लिएका थिए । दिपेन्द्र सिंह ऐरी खेलको म्याच अफ द म्याच चुनिए ।

जेठ २५ गते शुक्रबारदेखि सुरु हुने सेमिफाइनल खेलहरुमा समूह ए को विजेता आर्मीले समूह बीको उपविजेता प्रदेश नम्बर ५ सँग तथा समूह ए को उपविजेता एपीएफले समूह बीको विजेता नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ।