डा. अमरेशलाई रोक्न विमलेन्द्र सफल

डा. अमरेशलाई रोक्न विमलेन्द्र सफल


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गर्नुभएको पार्टी केन्द्रीय सदस्यको मनोनयनप्रति कांग्रेसका युवा नेता डा. अमरेश कुमार सिंहले असन्तुष्टि जनाउनुभएको छ । मनोनयन गरिएका पात्रहरुको विरोधमा नभई सिंहले आफूलाई मनोनयनमा नपारिएकोप्रति दुःखद आश्चर्य प्रकट गर्नुभएको हो ।

नेता सिंहका अनुसार सभापति देउवाले रिक्त कोटामा उहाँलाई मनोनित गर्ने विश्वास दिलाउनुभएको थियो । मधेसका जल्दोबल्दो र उदाउँदो नेता डा. अमरेश आफू केन्द्रीय सदस्यमा मनोनयन हुनेमा ढुक्क पनि हुनुहुन्थ्यो । जनकपुर अञ्चलभरबाट एक मात्र प्रत्यक्ष निर्वाचित कांग्रेसी सांसद हुनुको नाताले पनि अमरेश मनोनयनमा पर्ने कुरामा ढुक्क हुनुभएको उहाँका निकटवर्तीहरु बताउँछन् ।

तर, सभापति देउवाले डा. अमरेश कुमार सिंहलाई दिनुभएको वचन पूरा गर्न सक्नुभएन । अर्थात्, अमरेशलाई मनोनयन गर्न सभापतिलाई जबर्जस्ती रोकियो ।

विशेष सुत्रका अनुसार यसरी अमरेशको बाटो छेक्न देउवाले हालै उपसभापतिमा नियुक्त गर्नुभएका नेता विमलेन्द्र निधिको हात छ । प्रदेश नम्बर २ मा कसैलाई माथि उठ्न नदिई आफैं एकछत्र ‘सर्वमान्य कांग्रेसी नेता’ बन्ने महत्वाकांक्षाको वशमा पर्नुभएको छ निधि । यसैको शिकार बनाइयो डा. अमरेश कुमारलाई । विमलेन्द्रकै दबाबमा सभापति देउवा अमरेशलाई मनोनयन नगर्न प्रेरित हुनुभएको स्रोतको दाबी छ ।

ज्ञात रहोस्, वचन दिने तर पात्रलाई उपयोग गरिसकेपछि उपेक्षा गर्ने नेता देउवाको रवैया कुनै नौलो भने मानिदैन ।