एमाले र माओवादी नाममा अन्यले दल दर्ता गर्न नपाउने

एमाले र माओवादी नाममा अन्यले दल दर्ता गर्न नपाउने


नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दल निर्वाचन आयोगमा दर्ता भए पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अरू कुनै दलले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगद्वारा आज बिहीबार नेकपालाई दल दर्ताको प्रमाणपत्र वितरणपछि आयोगका सचिव बेगेन्द्रराज पौडेलले एक विज्ञप्तिमार्फत सो कुरा बताएका हुन् । विज्ञप्तिमा तत्कालीन पार्टीका नाम, झन्डा र चुनावचिह्न अन्य कुनै दलले प्रयोग गर्न नपाउने उल्लेख छ । विज्ञप्तिमार्फत राजनीतिक दलसम्बन्धी ऐनको दफा १० बमोजिम एमाले र माओवादीको नाम तथा र चुनाव चिह्न अरूले प्रयोग गर्न नपाउने बताइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निर्वाचन आयोगमा दल दर्ता नम्बर ३२ मा रहेको नेपाल कम्युनिस्ट पार्टी एमाले र दर्ता नमबर ३७ मा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रयोग गरेको यसै दलले एकीकरण भई माग गरेकोबाहेकका नाम, झन्डा र चिह्न राजनीतिक दलसम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम कुनै दलले प्रयोग गर्न नपाउने व्यवस्था गर्ने ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा १० को उपदफा ७ मा दल एकीकरण भएमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झन्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले एक वर्षसम्म कसैले प्रयोग गर्न सक्ने छैन भनिएको छ ।