राष्ट्रिय क्रिकेटको सेमिफाइनल, पहिलो भीडन्त आर्मी र प्रदेश नम्बर ५ बीच

राष्ट्रिय क्रिकेटको सेमिफाइनल, पहिलो भीडन्त आर्मी र प्रदेश नम्बर ५ बीच


राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिताअन्तर्गत जेठ २५ गते शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता त्रिभुवन आर्मी र समूह बीको उपविजेता प्रदेश नम्बर ५ आमने–सामने हुनेछन् ।

प्रतियोगितामा त्रिभुवन आर्मी अहिलेसम्म अपराजित टोली हो । समूह ‘ए’बाट एपीएफलाई पराजित गर्दै समूह विजेता बनेको आर्मीमा राष्ट्रिय टोलीका खेलाडीका साथै युवा खेलाडीको बाहुल्यता छ ।

त्यस्तै राष्ट्रिय टोलीका भेट्रान बलर शक्ति गौचनको नेतृत्वमा रहेको प्रदेश नम्बर ५ मा प्रदेशका प्रतिभावान युवा खेलाडीहरुको सहभागिता छ । प्रदेश ५ ले समूह चरणमा एउटा पराजय ब्यहोरेको थियो । पुलिससँग पराजित भएको प्रदेश ५ ले दुई खेल जितेको थियो भने एउटा खेल वर्षाका कारण रद्ध भएपछि अंक बाँडेको थियो ।

जेठ २६ गते शनिबार दोस्रो सेमिफाइनल दुई बिभागीय टिमहरुबीच हुनेछ । एपीएफ र नेपाल पुलिसको बिभागीय विच बिहान ९ बजेदेखि टियू मैदान कीर्तिपुरमा हुनेछ ।

पहिलो पटक संघीय संरचनाअनुसार खेलाइएको प्रतियोगितामा पुलिस, आर्मी र एपीएफ गरी तीन बिभागीय टोलीका साथै सात प्रदेशका टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको विजेता टोलीले २० लाख र उपविजेताले १० लाख पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउँदा उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाइनल खेल जेठ २७ गते आइतबार हुनेछ ।