युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रथम बृहत राष्ट्रिय पारा खेलकुद प्रतियोगिताको उदघाटन भएको छ । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालाई खेल सामाग्री हस्तान्तरण गरी प्रतियोगिता उदघाटन गरेका हुन् ।
प्रतियोगितामा विभिन्न ४ समूहका फरक क्षमता भएका व्यक्तिहरूको १८ खेल समावेश गरिएको छ । प्रतियोगिता एक महिनाको अवधिमा सम्बन्धित संघले सम्पन्न गर्नु पर्नेछ । क्रिकेट भने यसअघि नै सम्पन्न भइसकेको छ ।
सो अवसरमा खेलकुदमन्त्री विश्वकर्मा, खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्टले सम्बन्धित खेल संघका पदाधिकारीलाई खेल सामाग्रीका साथै बजेट पनि हस्तान्तरण गरेका थिए । सो अवसरमा कुल ५७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो ।
प्रतियोगितामा १ हजार ७७ खेलाडी सहभागी छन् । पाराको बृहत राष्ट्रिय प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो ।
प्रतिक्रिया