नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन आगामी साउन २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने भएको छ । संगठनभित्र विवाद चर्किएको र निर्वाचन पनि हुने वा नहुने भन्ने अन्योल बढिरहेका बेला महाधिवेशन तोकिएकै समयमा गर्न लागिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जनाएका छन् ।
नेपाल ल क्याम्पसमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष महरले संघीयतामा देश गएको अवस्थामा नेविसंघको विधान र नियमावलीलाई समयानुकूल बनाएर मस्यौदा तयार भइरहेको जानकारी दिँदै यही जेठ ३० गते संघको मस्यौदाबारे छलफल गर्न पूर्व केन्द्रीय अध्यक्ष र पदाधिकारीसँग छलफल गरिने बताए । विधानलाई अन्तिम रुप दिन असार ३ गते सातवटै प्रदेशका राजधानीमा सुझाव संकलन गरिने पनि अध्यक्ष महरले सो अवसरमा जानकारी दिए ।
बताइएअनुसार सुझाव संकलनका लागि नेविसंघले सातै प्रदेशमा विभिन्न व्यक्तिलाई जिम्मेवारीसमेत दिएको छ भने आगामी असार १ देखि सदस्यता वितरण गर्ने, असार २० देखि सबै शैक्षिक संस्था, स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने छ ।
नेवि संघका प्रवक्ता प्रेमराज जोशीले विसं २०७४ असोज ३१ को राष्ट्रिय रणनीतिक प्रशिक्षण भेलाको बन्दसत्रबाट पास भएको समयअनुसार नेविसंघको महाधिवेशन सम्पन्न गर्न लागिएको जानकारी दिँदै संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जेठ २७ मा सबै जिल्लामा सिठी जुलुस, जेठ २९ मा सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको बताए ।
प्रतिक्रिया