ग्रामीण क्षेत्रमा तेक्वान्दो पुऱ्याउने प्रतिबद्धता

ग्रामीण क्षेत्रमा तेक्वान्दो पुऱ्याउने प्रतिबद्धता


नेपाली तेक्वान्दोका प्रवासी पूर्वप्रशिक्षक तथा खेलाडीहरूको साझा संस्था युनिभर्सल युनाईटेड नेप्लिज तेक्वान्दो फेडरेसन (अनटिफ)को तेस्रो साधारणसभा सम्पन्न भएको छ । गत साता सम्पन्न साधारणसभाले प्रशिक्षक सन्तोष प्रधानको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन गर्नुका साथै तेक्वान्दो खेल विकासका लागि पाँचबुदे योजना पारित गरेको छ ।

ज्योति एभरेष्ट तेक्वान्दो एसोसियसनको प्रशिक्षण हलमा सम्पन्न साधारणसभाले उक्त पाँचबुदे योजनाअन्तरगत नेपालमा तेक्वान्दो विकासका लागि ग्रामीण क्षेत्रमा रहेका डोजाङहरूलाई खेल सामग्री वितरण गर्ने निर्णय गरेको छ । साथै मुलुकका कुना–कुनामा रहेको तेक्वान्दो प्रतिभाको पहिचान गरी परिस्कृत गर्न न्युनतम पूर्वाद्धार उपलब्ध गराउने नवनिर्वाचित अध्यक्ष सन्तोष प्रधानले प्रतिबद्धता जाहेर गरेका छन् । सो अवसरमा उनले वार्षिक रुपमा एकजना तेक्वान्दो प्रशिक्षक र खेलाडीलाई अनटिफ अवार्ड प्रदान गरिने जानकारी दिए ।

त्यस्तै, अनटिफका नवनिर्वाचित महासचिव लव गोर्खालीले संघको उद्देश्य समग्र रुपमा तेक्वान्दो खेलको विकास र विस्तार गर्ने हो भन्दै अन्य खेलको विकासमा पनि योगदान पुऱ्याउने खुलासा गरेका थिए । गोर्खालीले अन्य खेलका प्रशिक्षक र खेलाडी पनि अनटीफले वार्षिक रुपमा अवार्ड प्रदान गर्ने जानकारी गराए । तेक्वान्दो खेलको विकासमा सहयोग प्रदान गर्न अक्षय कोषको आवश्यकतालाई मध्यनजर गर्दै कोषलाई निरन्तरता दिँदै थप सहयोगका लागि अभियान थाल्ने संघले निर्णय गरेको जानकारी दिए ।

तेस्रो साधारणसभाको उदघाटन गर्दै एनआरएन आइसीसीका क्षेत्रिय संयोजक गौरीराज जोशीले तेक्वान्दोको समग्र विकासको लागि खोलिएको अनटिफसँग हातेमालो गरेर अगाडि बढेमा सकारात्मक परिणाम निस्कने दाबी गरेका थिए । सो अवसरमा कार्यक्रम सफल बनाउन भूमिका खेल्ने स्थानीय नेपाल समुदायलाई अध्यक्ष प्रधानले धन्यवाद दिए । एनआरएन अमेरिकाका खेलकुद संयोजक चन्द्र लामाले एनटीफलाई आफ्नो तर्फबाट सहयोगको पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा एनआरएन आइसीसीका सदस्य धर्म भट्टराई, स्थानीय समाजसेवी अमृत भट्टराईको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सम्पन्न गर्न रेड ओलिभ रेष्टुरेन्ट, राज प्यालेस रेष्टुरेन्ट, गोदावरी रेष्टुरेन्ट र प्रीटी आइजले सहयोग प्रदान गरेको अनटीफका आर्थिक उपसमितिका संयोजक जगनलाल श्रेष्ठले बताए ।