राष्ट्रका ज्वलन्त मुद्दामाथि सरोकार जनाउँदै राज्यका गलत कदमविरुद्ध आन्दोलित रहँदै आएका आठ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिएको छन् । आठ विद्यार्थी सङ्गठनको विहिबार अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यालय बागबजारमा बसेको बैठकले केपी सरकार र आयल निगमको मिलेमतोमा जनताको ढाड सेक्ने गरी पटक–पटक पेट्रोलियमको मूल्य बढाएकोमा आपत्ति जनाएको हो ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष्म श्यामबाबु गौतम, राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्र, अनेरास्ववियू (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई, अनेरास्ववियू (क्रान्तिकारी)का सचिव पेशल दाहाल, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्याल र अखिल (क्रान्तिकारी)का संयोजक आलोक रायमाझीको संयुक्त बैठकले आपूर्तिमन्त्रीलाई चेतावनी पत्र बुझाउने, उल्टो जुलुस प्रदर्शनलगायतका विरोधका कार्यक्रमहरु गर्दा पनि मूल्यवृद्धि फिर्ता नलिएको भन्दै सरकारलाई पुनः गम्भीर चेतावनी चेतावनी दिने निर्णय गरेको छ ।
सो बैठकले यही जेठ २७ गते आइतबार आठ विद्यार्थी संगठनको आयोजनामा आठवटै सम्बन्धित संगठनका पार्टी–प्रमुखहरूको उपस्थितिमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने समेत तय गरेको छ । उक्त अन्तरक्रिया कमलादीस्थित प्रज्ञा भवनमा हुने बताइएको छ ।
आठ विद्यार्थी सङ्गठनले नेपालको शिक्षा क्षेत्रमा भएको नीजिकरण, व्यापारीकरण र माफियाकरणको विरुद्ध संघर्ष गर्दै सार्वजनिक शिक्षामा पहुँच र गुणस्तर वृद्धि गर्ने गरी वृहद् कार्यक्रम तयार गर्नका लागि संयुक्त विद्यार्थी संगठनको तर्फबाट एक शक्तिशाली कार्यदल बनाउन लागेको पनि सम्बद्ध पक्षले जानकारी दिएको छ ।

प्रतिक्रिया