विश्वकप खेल्दै बसका ‘खलाँसी’ !

विश्वकप खेल्दै बसका ‘खलाँसी’ !


२० वर्षको उमेरसम्म उनी आफ्नो गाउँ प्वेर्टोभन्दामै बस्थे । चरम गरिबीका कारण शहरको यात्रा उनका लागि सपनाभन्दा कम थिएन । यसै कुरालाई आत्मसात् गर्दै उनले पहिलो जागिर बसको खलाँसीबाट शुभारम्भ गरेका थिए । केही समयपश्चात् खलाँसीबाट कन्डक्टरमा उनको बढुवा भएको थियो ।

जब २०१३ मा कार्लोस बाका सेविला फुटबल क्लबमा अनुबन्धित भए त्यसपछि उनले आँखाबाट आँसु झार्दै पत्रकार सम्मेलनमा आफ्नो विगत वर्णन यसरी गरेका थिए ।

कार्लोस बाकाको जन्म कोलम्बियाको प्वेर्टो गाउँमा सन् १९८६ मा भएको थियो । आफ्नो जीवनको २० वर्ष चरम गरिबीमा बिताएका बाका सानै उमेरदेखि फुटबल खेल्ने भए पनि २३ वर्षको उमेरमा मात्र फुटबल कौशल देखाउने अवसर प्राप्त गरेका थिए । त्यसभन्दा अघि बाका स्थानीय रूपमा फुटबल खेल्थे । तर, जब उनले जुनियर डे बैंरेकिलामा ट्रायल दिए र अनुबन्धित भए त्यसपछि उनको जीवनले कोल्टे फेरेको थियो ।

आफ्नो फुटबल करिअर घरेलु प्रतियोगिताबाट शुरु गरेका बाकाले २४ वर्षको उमेरमा जुनियर डे बैंरेकिला व्यावसियक फुटबल शुरु गरेका थिए । यो क्लबबाट खेल्दा बाकाले उत्कृष्ट खेलको प्रदर्शन गर्दै अन्यको ध्यान आफूतर्फ आकर्षित गर्न सफल भएका थिए । यो २००६ देखि २००७ को कुरा हो । त्यसपछि उनी भेनेजुएलाको मिनरवेन स्पोर्टस् क्लबसँग अनुबन्धित भएका थिए । उक्त क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै बाका १९ खेलमा १४ गोल गरेर सर्वश्रेष्ठ खेलाडीसमेत बन्न सफल भएका थिए ।

यो प्रदर्शनसँगै बेल्जियमको फुटबल क्लब ब्रुक केबीले बाकालाई अनुबन्धित गरेको थियो । उक्त क्लबबाट एक सिजन खेलेका बाका उक्त व्यावसायिक लिगमा सर्वाधिक गोल गरेर चर्चाको शिखरमा पुगेका थिए । त्यसपछि स्पेनिस क्लब सेबिलाले ७ मिलियन अमेरिकी डलरमा बाकालाई खरिद गरेको थियो । बाकाले सेबिलाबाट थुप्रै सिजन खेलेका थिए । सो अवधिमा बाकाले गरेको उत्कृष्ट प्रदर्शनकै कारण सेबिलाले यूईएफए युरोपा लिगको उपाधि दुईपटक जितेको थियो । बाकाले सेबिलामा गरेको सानदार प्रदर्शनका कारण मिलानले ३० मिलियन डलरमा २०१५ का लागि करार अनुबन्धित गरेको थियो ।

यसभन्दा अघि बाका आफ्नो उत्कृष्ट प्रदर्शनकै कारण सन् २०१२ मा कोलम्बियाको राष्ट्रिय टिममा परेका थिए । साथै सन् २०१४ मा पहिलोपटक फिफा विश्वकप खेल्ने अवसर प्राप्त गरेका थिए । बाकाले आफ्नो देश कोलम्बियाका लागि अहिलेसम्म ४४ खेल खेलेर १४ गोल गर्नसमेत सफल भएका छन् । अहिले उनी विश्व फुटबल जगत्मा पावरफुल, स्किलफुल, गुड मुभमेन्ट र फास्ट स्ट्राइकरको रूपमा परिचित छन् । प्रतिभाशाली खेलाडी बाका सन् २०१८ को विश्वकपका लागि पनि राष्ट्रिय टिममा परेका छन् । उनले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने कुरामा विश्वास गर्न सकिन्छ ।