संघीय समाजवादी फोरम नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । नेकपासँग दुई बुँदे सहमति गर्दै जेठ १८ गते सरकारमा सहभागी भएकोे फोरम नेपालले नेकपासँग पार्टी एकीकरण गर्न लागेको समाचारप्रति आपत्ति जनाउँदै फोरम अध्यक्ष यादवले कुनै सत्यता नरहेको प्रेस विज्ञप्ति जारी गरी स्पष्ट पारेका हुन् ।
‘विगत केही दिनयता विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालहरूमा संघीय समाजवादी फोरम, नेपाल र नेकपाबीच पार्टी एकीकरण हुन लागेको भनी प्रचार गरिएको छ’, फोरम अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसमा कुनै सत्यता छैन ।’ सुनियोजित ढंगले भ्रम सिर्जना गरिएको भन्दै फोरमले यसमा विश्वास नगर्न सबैमा आग्रह पनि गरेको छ ।
यसैबीच राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाई गराउन सरकारलाई दबाब दिने भएको छ । पार्टीको अध्यक्षमण्डल बैठकले ज्यान मार्ने अभियोग अन्तरगत जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई दबाब दिन लागेको हो ।
चौंधरीको रिहा गरी सपथको व्यवस्था गर्न पनि सरकारलाई पुनः दबाब दिनु परेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा तत्काल फिर्ता गर्न पनि राष्ट्रिय जनता पार्टी नेपालले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । बैठकमा संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया