पटक पटकको मूल्यवृद्धिपछि पेट्रोलको मूल्य ११५ र डिजेलको ९५ पुगेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण महँगी बढेको छ भने विभिन्न विद्यार्थी संगठनहरुले औपचारिकतावश मूल्यवृद्धिको विरोध जनाइरहेका छन् ।
तर, नेपाल विद्यार्थी संघले यस प्रकरणमा औपचारिकता मात्र नभई खुलेरै विरोध जनाउँदै आएको छ । विभिन्न स्वरुप र शैलीमा विरोध जनाउँदै आएको संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा शनिबार पनि राँको बालेर विरोध प्रदर्शन गरेको छ । आज साँझ बागबजार, जमल र मैतीदेवीबाट राँको बालेर नेवि संघले विरोध प्रदर्शन गरेको हो ।
सो क्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म संघको आन्दोलन जारी रहने जिकीर उनले गरे ।
शनिबारको राँके जुलुसका क्रममा प्रहरीसँग भएको झडपमा परेर संघसम्बद्ध टीका भण्डारी र सञ्जिव ढकाल घाइते भएका छन् । घाइते विद्यार्थीको केएमसी अस्पताल, बागबजारमा उपचार भइरहेको बुझिएको छ ।
प्रतिक्रिया