नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला इञ्चार्ज प्रहरी नियन्त्रणमा पर्नबाट जोगिएका छन् । जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा उनी भाग्न सफल भएका तर प्रतिरोधका क्रममा उनका एक सहयोगीलाई भने प्रहरीले पक्राउ गरेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले गएराति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोजेको थियो । प्राप्त जानकारी अनुसार प्रतिरोधको क्रममा भएको झडपमा परेर एक प्रहरी जवान घाइते भएका छन् । प्रहरीलाई ढुङ्गा प्रहार गरेर नेकपा जिल्ला इन्चार्ज बिसी र उनका सहयोगी भाग्न खोज्दा प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका हुन् ।
प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान घाइते भएका प्रका चितवनका सूचना अधिकारी डिएसपी शिव शर्मा आचार्यले पुष्टि गरेका छन् । टाउकामा चोट लागेर घाइते भएका धोबीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सो क्रममा इन्चार्ज बिसी भाग्न सफल भएका र उनका सहयोगी वीरबहादुर तामाङलाई पक्राउ गरिएको डिएसपी आचार्यले जनाएका छन् । यसबारे थप विवरण उपलब्ध गरिएको छैन । विस्तृत अनुसन्धानपछि घटनाबारे प्रकाश पारिने प्रहरीको भनाई छ ।
प्रतिक्रिया