राष्ट्रपति ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुर पुग्दै

राष्ट्रपति ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुर पुग्दै


बहुप्रतीक्षित शिखरवार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आज आइतबार सिङ्गापुर पुग्दैछन् । राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका थिए, उनी त्यतैबाट सिङ्गापुर पुग्न लागेका हुन् ।

आफू क्यानाडा प्रस्थान गर्नुअघि शनिबार नै राष्ट्रपति ट्रम्पले त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको जानकारी दिएका थिए । जुन १२ को पहिलो वार्तापछि आफू त्यहाँ कतिदिन बसिन्छ भन्ने तय हुने पनि उनको भनाई थियो ।

आगामी मंगलबार (जुन १२) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा भेटवार्ता हुँदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेका छन् ।

सिङ्गापुर सरकारले यस महत्वपूर्ण वार्ताको अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ । उता उत्तरकोरियाले आफूले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ । उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारीअनुसार त्यहाँका नेता किम आइतबार सिङ्गापुर प्रस्थान गर्दैछन् ।

अमेरिका र उत्तर कोरियाबीच हुने शिखर वार्ता नाम दिइएको यस बैठकप्रति विश्वको नै चासो बढेको छ । यस वार्ताको बारेमा विश्वकै सञ्चारमाध्यमहरुले पनि चर्चा गरिरहेका छन् । यस वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन् ।

यसैबीच विश्वका कैयौँ देशका पत्रकारहरु पनि सिङ्गापुरमा जम्मा भएका छन् । सिङ्गापुरबाट प्राप्त समाचारअनुसार पत्रकारहरुमध्ये सबैभन्दा धेरै अमेरिकी छन् । यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारले होटल बुकिङ गरेका र ठूलो सङ्ख्याका फोटो पत्रकारहरु पुगेका एजेन्सीहरुले जनाएका छन् ।

यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ ।

तस्बिर एपी