एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबको फाइनलमा भिडन्त हुने भएको छ । आर्मीले प्रदेश नम्बर ५ र सशस्त्रले पुलिसलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । आर्मी र एपीएफबीचको फाइनल खेल जेठ २८ गते सोमबार टीयू मैदान कीर्तिपुरमा हुनेछ ।
ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश नम्बर ५ लाई १५४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलअन्तर्गत टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो । आर्मीका लागि पुनले ११८ रनको शतकीय पारी खेलेका थिए । ४१.५ ओभरमा लाल अधिकारीको बलमा क्याचआउट हुनुअघि पुनले १४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरेका थिए । सागर पुन खेलको म्यान अफ दी म्याच चुनिएका थिए ।
२९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नम्बर ५, ३५.५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीले १५४ रनको फराकिलो जित हासिल गरेको थियो । आर्मीका बलरहरूको कसिलो बलिङसामु प्रदेश ५ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । प्रदेश ५ का लागि नवौँ नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले बनाएको ३१ रन नै सर्वाधिक हो । कार्कीले २९ बलमा ३ छक्का र २ चौका प्रहार गरेका थिए । उनका अलावा शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापा र सौरभ खनालले १४–१४ रन बनाए ।
वर्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिसलाई ९ रनले हराउँदै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ४८.५ ओभरमा अलआउट हुँदै २०८ रन बनाएको थियो । एपीएफका लागि अनिल साहले ४५, पृथु बास्कोटाले ४०, रोहित पौडेलले ३२, प्रदीप ऐरीले २४, सुवास खकुरेलले २१ रन बनाएका थिए । पुलिसका दीपेन्द्रसिंह ऐरीले ३ र ललित राजवंशीले २ तथा आरिफ शेख र सुशील कँडेलले १–१ विकेट लिएका थिए ।
एपीएफले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा १४.४ ओभरमा २ विकेटको क्षतिमा ५९ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । करिब डेढ घन्टा ढिला गरी पुनः सुरु गरिएको खेल डकवर्थ लुइस नियमअनुसार २८ ओभरमा छोट्याइयो भने पुलिसले १४१ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो ।
तर, पुलिसले निर्धारित २८ ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सकेपछि एपीएफले ९ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
पुलिसका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । सातौँ नम्बरमा ब्याटिङमा आएका कुशल भुर्तेलले बनाएको ३० रन पुलिसका ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर हो । पुलिसका लागि ओपनर सुनील धमलाले २४ तथा दिलीप नाथले १६ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले १४, कप्तान मञ्जित श्रेष्ठले ११ तथा सिद्धान्त लोहनीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कको रन छुन सकेनन् ।
बलिङतर्फ एपीएफका अमरसिंह रौतेलाले ३, कप्तान वसन्त रेग्मीले २ तथा कमलसिंह ऐरी तथा करण केसीले १–१ विकेट लिए । रौतेला खेलको म्यान अफ दी म्याच चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको उपाधि विजेताले नगद २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख पुरस्कार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले ५०–५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय क्लब गरी १० टिमको सहभागिता थियो ।
प्रतिक्रिया