आयोजक अन्नपूर्ण चेस च्याम्पियन

आयोजक अन्नपूर्ण चेस च्याम्पियन


आयोजक अन्नपूर्ण स्कुलले १४औँ अन्नपूर्ण कप मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगितामा अन्नपूर्णले विभिन्न स्पर्धामा कुल १४ पदक जितेको थियो । अन्तिम दिन भएको खुला स्पर्धामा दीपज्योति स्कुलका प्रसन्नविक्रम कुँवर पहिलो, महाँकालका विजय टमाटा दोस्रो तथा अन्नपूर्णका प्रवेश लामा तेस्रो भए । यी तीनै खेलाडी छात्र यु– १४ स्पर्धामा पनि शीर्ष ३ स्थानमा अटाए । छात्रा यू– १४ स्पर्धामा ग्रिनल्यान्डका निर्जला पौडेल, कुसुम तामाङ र समृद्धि पाण्डे शीर्ष तीन स्थानमा रहे । छात्रा यू–१६ स्पर्धामा विन्ध्यवासिनीकी अम्ब्रिसा श्रेष्ठ पहिलो, सुप्रिमकी अस्मिता पुलामीमगर र विन्ध्यवासिनीका रश्मी डङ्गोल शीर्ष तीन स्थानमा रहे ।

छात्र यू–१६ स्पर्धामा अन्नपूर्णका दीपेन्द्र गमाल, विन्ध्यवासिनीका अनिश डङ्गोल र ल्याब स्कुलका विज्ञान घिमिरे शीर्ष तीन स्थानमा रहे । छात्रा यू–१२ स्पर्धामा अन्नपूर्णकी रोसरी डङ्गोल, जुगल स्कुलकी प्रत्युम्सा श्रेष्ठ र त्रियोगकी मार्सल तामाङ शीर्ष तीन स्थानमा रहे । छात्र यू–१२ स्पर्धामा त्रियोगका सम्पूर्ण न्यौपाने, लोकआदर्शका बुद्धकरण पण्डित र जुगलका आदर्श यादव शीर्ष तीन स्थानमा रहे ।

प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि विद्यालय व्यवस्थापन कमिटीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र विद्यालयका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीलगायतले पुरस्कार वितरण गरे ।