राष्ट्रिय सभा सञ्चालन नियमावली पारित भएपछि ५९ सदस्यीय राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट टुङ्गो लाग्ने भएको छ । प्रत्येक प्रदेशका सदस्यबीच छुट्टाछुट्टै गोलाप्रथा गरेर एकतिहाइ सदस्यको २ वर्ष, अर्को एकतिहाइको ४ वर्ष र बाँकी सदस्यको ६ वर्ष पदावधि निर्धारण हुने भएको छ । यसको टुङ्गो भने असार ४ गते लाग्नेछ ।
नियमावलीअनुसार प्रत्येक प्रदेशका लागि क्लस्टरअनुसार गोलाप्रथाबाट सदस्यको कार्यकाल टुङ्गो लाग्ने भएको हो । यसका लागि प्रत्येक प्रदेशमा महिला तथा खुला समूहका लागि अलगअलग मतदान गरेर दुई, चार र ६ वर्षको पदावधि निर्धारण गरिनेछ ।
सबै प्रदेशबाट सात दलित सदस्यबीच हुने गोलाप्रथाबाट दुई–दुईजनाको क्रमशः दुई, चार र ६ वर्षको कार्यकाल निर्धारण हुनेछ । बाँकी एकजनाको हकमा भने शून्य वर्ष लेखिने र उसले दोस्रो चरणमा गोला तान्नुपर्नेछ ।
सबै प्रदेशबाट अपाङ्गता भएका वा अल्पसङ्ख्यक समूहबाट प्रतिनिधित्व गर्ने सातजनाको पनि दलित समूहकै शैलीमा कार्यकाल तय हुनेछ । शून्यमा पर्ने दलित र अपाङ्गता वा अल्पसङ्ख्यक समूहका दुईजनामध्ये एकजनाको चार र अर्कोको ६ वर्षको पदावधि निर्धारण हुनेछ । राष्ट्रपतिबाट मनोनीत तीनजनाको कार्यकाल पनि क्रमशः दुई, चार र ६ वर्षको हुनेछ ।
प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एक दलित र एक अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकसहित आठजनाका दरले ५६ जना निर्वाचित र राष्ट्रपतिद्वारा मनोनीत तीन गरी कुल ५९ सदस्य राष्ट्रिय सभामा हुनेछन् । नियमावली पारित भएसँगै उनीहरूको कार्यकाल विभाजनका लागि असार ४ गते निर्धारण भएको छ ।
नियमावली पारित भएसँगै अब १९ जनाको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको कार्यकाल ६ वर्ष तय गर्ने काम गोलाप्रथाबाट हुनेछ ।
यसअघि नियमावली पास हुन नसक्दा राष्ट्रिय सभाका सदस्यको कार्यकाल तय हुन सकेको थिएन ।
प्रतिक्रिया