पार्टी सभापतिले सबै कांग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपाल विद्यार्थी संघ काठमाडौंले आज आयोजना गरेको ‘अबको कांग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीमा उनले देउवामाथि यस्तो आरोप लगाएका हुन् ।
मन्तव्यका क्रममा १३औँ महाधिवेशनको परिणाम अहिले कांग्रेसले भोगिरहेका खुलासा गर्दै नेता पौडेलले भने, ‘सत्तारुढ दल पैसाको खोल ओढेर कांग्रेस सिध्याउने खेलमा लागेको छ, कांग्रेसलाई घेराबन्दी पार्ने खेल भइरहेको छ, कांग्रेस समयमै सचेत हुनु जरुरी छ ।’
सरकारले दुईतिहाईको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको पनि उनले बताए ।
सोही अवसरमा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधिविधानलाई उल्लंघन गरेर पार्टी चल्न नसक्ने उल्लेख गर्दै पार्टी नै विधानअनुुसार चल्न नसक्दा भ्रातृ संस्था लथालिंग अवस्थामा पुगेकोबताए । यस्तै, पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सामन्तवाद र चाकडीबाज संस्कारले कांग्रेस अगाडि बढ्न नसक्ने तर्क गरे।
‘सभापतिले ४० सांसद मनोनीत गर्दा मजदुर, बुद्धिजीवी, वकिल कसैलाई पनि नगर्नु दुःखद् कुरा हो, यस्तो तरिकाले कांग्रेस चल्न सक्दैन,’ सिटौलाको भनाई थियो ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसलाई पहिलो बनाउने दृढ संकल्प बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे भने अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सबै जनतालाई समेटेर अगाडि बढे मात्र पार्टी सशक्त हुने सुझाव दिए ।
चर्चित नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेसलाई बलियो बनाउन स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनको मिति तय गरी जनतामाझ जानुपर्ने बेला आएको बताए । केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले र दीपक भट्टराईले वर्तमान नेतृत्वका कारण नेविसंघ कमजोर भएको छ भन्दै नेविसंघ जोगाउन सबै विद्यार्थी एकजुट हुनुपर्ने बताए ।
प्रतिक्रिया