अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्मेलनको आयोजना

अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्मेलनको आयोजना


काठमाडौंमा स्मार्ट सिटीका लागि अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्मेलनको आयोजना गरिने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सम्मेलन गर्ने भएको हो । स्मार्ट सिटीका लागि दिगो विकास लक्ष्य भन्ने मूल नाराका साथ असार ३ र ४ गते सम्मेलनको आयोजना गर्न लागिएको क्यानका अध्यक्ष हेमन्त चौरासियाले बताए । उनका अनुसार २ दिनसम्म चल्ने सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश लगायतका मुलुकका विषयगत विशेषज्ञहरुले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘सो अवसरमा समूहगत छलफलमा स्थानीय सरकारका प्रतिनिधिको उपस्थितिमा स्मार्टपालिका निर्माणसम्बन्धी अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्बन्धित निकायहरुलाई हस्तान्तरण गरिनेछ ।’ अध्यक्ष चौरासिया भन्छन्, ‘सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले दिगो विकासको लक्ष्यमा सूचना प्रविधिको प्रयोगमा सरकारका तर्फबाट अहिलेसम्म भइरहेको प्रयास र नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषयहरु कार्यन्वयन गर्न आगामी दिनहरुमा चाल्ने कदमबारे जानकारी दिइनेछ ।’

सम्मेलनको मुख्य प्रयोजक सुविसु केबल नेट र सह प्रयोजक मोटोरोला नेपालको आधिकारिक विक्रेता लाइफकम प्रालि रहेको क्यानका महासचिव रञ्जित पोदारले जानकारी दिए ।