‘साँघुरो’को फराकिलो चर्चा

‘साँघुरो’को फराकिलो चर्चा


funtimeसिनेमा कसका लागि बनाउने ? निर्माण–निर्देशकहरूले आफ्ना लागि कि दर्शकका लागि ? नयाँ प्रयोगको नाममा आफ्ना लागि बनाउने हो भने व्यापार गरेन भनेर असन्तुष्टि व्यक्त गर्नु बेकार छ, अनि व्यापारका लागि बनाउने हो भने सिनेमा हलमा आउने दर्शकलाई सन्तुष्ट तुल्याउने गरी बनाउनु पर्छ । दर्शकहरू सन्तुष्ट हुनैपर्छ अनि मात्र सफल मेकरमा गनिन सकिन्छ । व्यापारिक उद्देश्यले सिनेमा बनाउने तर व्यापार दुई पैसा पनि नगर्ने हो भने आत्मरतिमा रमाउनुको कुनै अर्थ छैन । नयाँ धारको नाममा नाम–दाम गुमाउँदै र दर्शक पनि भाँड्दै जाने हो भने सबैको नजरमा त्यो मेकर असफल नै हुन पुग्छ । यसरी आफैँमा स्पष्ट नभईकन सिनेमा मेकिङ गर्दा यतिबेला केही सिनेमा व्यापारिक रूपमा थला पर्न थालेका छन् ।
तर, थला परेका सिनेमाको भीडमा एउटा नयाँ सिनेमाले आशा जगाएको छ, त्यो सिनेमा हो– साँघुरो । यो चलचित्र हेर्दा नबुझ्नेहरूले ठान्न सक्छन् कि सिनेमाले उठाउन खोजेको विषय, सोच, मेकरको उद्देश्य र मानसिकता पनि साँघुरो नै छ । सीमित वर्ग, तह र तप्काको कथा उठाउने अनि आमदर्शकका लागि बनाएको भनेर हल्ला पिटाउने ? भन्ने आरोप पनि लाग्न सक्ला । वास्तवमा आफ्नै सिनेमा बारेमा ‘कन्फ्युज’ रहेका बुझिन्छन् साँघुरोका निर्देशक जोहेश पाण्डे ।
कुनै समय नौ मिनेट समयको डकुमेन्ट्री बनेका थियो यो । आज यही डकुमेन्ट्रीलाई तन्काएर लगभग दुई घन्टाको सिनेमा बनाइएको छ । तर पनि नौ मिनेटको समयमा जति चार्म, कुतूहल र उत्सकुता थियो, त्यो दुई घन्टाको समयमा छैन । यसलाई तन्काएर दुई घन्टामा पु-याउनु नै मेकरको ठूलो कमजोरी थियो भन्ने आलोचना कतिपय फिल्म समीक्षकले गरेका छन् । आमा, छोरा र बुहारीको कथालाई साँघुरोले समेटेको छ । एउटै कोठाभित्र आमा अनि छोरा र बुहारीबीचको कथालाई गजबसँग देखाएको छ यसले । कोठामा दुईवटा बेड छन् । एउटामा आमा सुत्छिन् भने अर्कोमा छोरा–बुहारी । सिनेमाको मूलकथा भनेको जवान छोरा र बुहारीबीच एउटै साँघुरो कोठामा भएका शारीरिक सम्पर्कका अवस्थाहरू हुन् । बिरामी आमाका कारण छोरा र बुहारीले आफ्नो यौनप्यास मेटाउन नसक्दाको अवस्थालाई सिनेमामा मार्मिक किसिमबाट दर्शाइएको छ ।
आमाबाबुको अगाडि शिर ठाडो पारेर पनि कुरा गर्न सक्ने हाम्रो समाज अझै पछौटेपनबाट ग्रस्त छ । यसको पर्वाह नगरी साँघुरोले एउटै कोठामा आमा सुतिरहेकी र छोरा–बुहारीले शारीरिक सम्पर्कको प्रयास गरिरहेका देखाइदिएका छन् निर्देशकले । हाम्रो समाजमा भएका सुकुम्बासीहरूको जीवनकथालाई सिनेमाले उठान गरेको छ । नेपालको वास्तविक कथा उजिल्याउने प्रयास गरेको छ– चलचित्र साँघुरोले । महिनाको १५ हजार तलब खाने जागिरे केटाले आफ्नी श्रीमतीलाई नयाँ डेरामा पनि राख्न सक्थ्यो होला, तर परिस्थितिले त्यो सहज भएको छैन साँघुरोका पात्रहरूका लागि । डराइडराइ आमाको उपस्थितिमै शारीरिक सम्पर्क गर्छ सिनेमाको नायक, त्यो एकपटक होइन बारम्बार । यो पक्षलाई कतिपयले आलोचना गर्न पनि सक्छन्, तर सिनेमाको सुन्दर पक्ष नै यही बनेको छ भन्नेको कमी छैन ।
समीक्षकहरूका अनुसार चलचित्र साँघुरो यसरी बनाइएको छ कि श्रीमती भनेकी वा बिहे गर्नु भनेको केवल शारीरिक सम्पर्कका लागि मात्र गर्नु हो । श्रीमतीको अर्को अर्थ छैन र जुन बेला पनि शारीरिक सम्पर्क गर्न मात्र पुरुषले बिहे गरेको हो जस्तो भान पर्ने गरेर कथालाई उठाइएको छ । घर हेर्ने वा आमाको हेरचाह गर्न र परिवारको रेखदेख र रोगी आमाको स्याहारका लागि बिहे गरेको अर्को पाटो देखाएको भए पनि साँघुरोलाई स्याबासी दिन सकिन्थ्यो तर यसले गलत सन्देश र फटाहा कुरालाई पर्दामा उठाएको छ ।
तर पनि नयाँ धार, कथा र प्रस्तुतिको आडमा भने साँघुरोको युनिट दङ्ग छ । बेडसिन यति लामो छ कि पर्दामा हेर्दा हेर्दा दर्शकको अनुहार लाजले रातोपिरो भइसकेको हुन्छ तर दृश्य सकिँदैन र पटकपटक यस्तो झमेलासँग सामना गर्नुपर्छ दर्शकले । सीमित वर्गको कथा लिने अनि आमजनताका लागि बनाएको भनेर भन्नु नै साँघुरोका मेकरको गल्ती थियो भन्ने ठाउँ पनि छ । एउटा बेडमा लोग्ने र स्वास्नी सुतेपछि के हुन्छ ? यो कुरालाई देखाइरहनु पर्दैन । जसले पनि सहजै बुझ्न सक्छ आजभोलि । तर, निर्देशक जोहेश पाण्डेले भने धुजाधुजा हुने गरेर हलमा दाजुबहिनी वा श्रीमान्–श्रीमती गए भने फिल्म हेर्दाहेर्दै उठेर जानुपर्ने अवस्थामा पु-याइदिएका छन् । उनले यो त देखाए–देखाए अन्त्यमा खाट चुइँकिएको दृश्य सुनाएर अर्को लाजमर्दो काम गरेका छन् । त्यसमा कहाँ देखिन्छ उनको क्रियसन अनि वाहवाही ? यो चाहिँ भन्नैपर्ने हुन्छ ।
सिनेमा हेर्दा दर्शक हलमा गर्वले प्रवेश गरोस् र गर्वले नै हलबाट बाहिरियोस् । यो मेकरको सफलता हो । तर साँघुरो हेर्न खुसी भएर हलभित्र छिर्दा कि त बीचमा नै उठेर हिँड्नुपर्ने अवस्था छ कि त अरूले देख्लान् भनेर लुकिलुकी हलबाट बाहिरिनुपर्ने हुन आउँछ । त्यसमाथि परिवारलाई लिएर र परिवारसँग यो सिनेमा हेर्न कोही पनि जान सक्दैनन् । त्यसमाथि निर्देशकले पनि आफ्नो महिला सदस्यलाई यो सिनेमा आफैंले देखाएका छैनन् होला । आफ्नो परिवारलाई समेत आफ्ना काम गर्वका साथ देखाउन नसक्ने निर्देशकले कुन सोच, उद्देश्य र ध्येयले आमदर्शकका लागि साँघुरो बनाए ? उनलाई नै थाहा होला । कुनै समय बिदा वा छुट्टी मनाउन सपरिवार नेपाली सिनेमा हेर्न दर्शक हलमा जान्थे तर यस्तै साँघुरोजस्ता सिनेमाका मेकरले गर्दा नेपाली दर्शक भड्किएका छन् । पढेर आएका र नयाँ धार भन्नेहरूले बजार मात्र बिगारेनन् कि आफ्नो क्यारियर पनि भताभुङ्ग पारे । भनिन्छ नि सफा गर्नु सकिँदैन भने फोहोर पनि नगर्नु ।
यति भन्दाभन्दै पनि साँघुरोले उब्जाएको कुतूहल र चर्चाको भने तारिफ गर्नैपर्छ । यो चलचित्रले एउटा नयाँ र आशालाग्दा प्रतिभा सुशाङ्क मैनाली नेपाली चलचित्र उद्योगका लागि उपहार प्रदान गरेको नजरअन्दाज गर्न सकिन्न ।

सुष्माको यो कस्तो पे्रम ?
सुष्माले राम्रो अभिनय गरिन् । उनकै अभिनयका कारण चलचित्र चलेपछि निर्माताले उनलाई बक्सिसस्वरूप पारिश्रमिक थपिदिए रे भन्नेजस्ता प्रशंसाका कारण होइन कि उनको बे्रकअप भयो अनि पहिलो प्रेमी छाडेर सुष्मा कार्की अर्कोको खोजीमा छिन् भन्ने गलत खालका समाचारका कारण यतिबेला सुष्मा कार्की बजारमा छाइरहेकी छिन् ।
कलाकारितालाई भन्दा पनि यसको नाममा यौनिक सम्बन्ध र यस्तै अन्य हर्कत गर्दै हिँड्नेहरूको भीड बढिरहेको आजको अवस्थामा नायिका सुष्मा कार्की समयसमयमा केही न केही बोकेर चर्चामा आइरहन्छिन् । यो साता उनको पे्रमीसँग ‘बे्रकअप’ भएको चर्चाले व्यापकता कमायो । मिडियाले पनि यो कुरालाई निकै उछाल्यो । मानौँ सुष्मा कार्की मायापे्रमकी एउटी उदाहरण नै थिइन् वा अनुयायी नै हुन् र उनको मायापे्रमको सिको गर्नुपर्छ । रोमियो–जुलियट वा मुना–मदन र मालती–मंगलेको पे्रमभन्दा पनि माथि राखेर सुष्माको प्रेमलाई चर्चा–परिचर्चा गर्नेहरू प्रशस्तै भेटिए यो साता । पे्रमलाई फेसन र लहडको रूपमा लिएर त्यस्तै खालको व्यवहार गर्नेहरूको माया टुटेको प्रसङ्गले बजार तात्ने नेपाली चलचित्र बजारमा सस्ता कुरा, सस्तो चलचित्र र सस्ता कथाहरूले प्रश्रय पाइरहँदा यहाँ सस्ता कलाकारको बाहुल्य पनि बढिरहेको छ । भनिन्छ नि जस्तो–जस्तो बाहुन उस्तै–उस्तै स्वाहा ।
आफ्नो पे्रम बसेको कुरा आफैँ हल्ला गर्दै हिँड्ने र सम्बन्धमा चिसोपन आएको कुराको हल्ला पनि आफैँ गर्ने ? कस्तो पे्रम र माया हो नायिका सुष्मा कार्कीको । सम्बन्धलाई प्रचारप्रसारको खुराक बनाउने कार्कीहरूबाट यस्तो समाचार आउनु नौलो कुरा होइन, तै पनि सस्तो लोकप्रियताका लागि ‘मेरो फलानोसँग पे्रम बस्यो, फेरि फलानोसँग बसेको पे्रम टुट्यो’ भनेर सगर्व व्यक्त गर्नेहरूको पे्रमचाहिँ कस्तो होला ? बुझिनसक्नु छ । अहिले त आफू र आफ्नो जोडीबीचको सम्बन्ध अरूले थाहा पाउलान् भन्ने होइन कि थाहा नपाउलान् कि भन्ने चिन्ता र डर पो छ । यस्तो मानसिकता र सोचमा अगाडि बढेका कलाकर्मीहरूबाट कस्तो चलचित्र र कस्तो भूमिकाको आशा राख्ने ? अब त दैव नै जानुन् ।

पुस्तक समीक्षा
नेता ओमकार श्रेष्ठका विचार–रचना सार्वजनिक
जीवनभर अविच्छिन्न रूपमा प्रजातान्त्रिक आन्दोलनसँग जोडिनुभएका नेपाली काङ्ग्रेसका पुराना, प्रखर र बौद्धिक नेता ओमकारप्रसाद श्रेष्ठका विचार र लेख–रचना सङ्ग्रहित एक भव्य कृति प्रकाशनमा आएको छ । ‘ओमकारप्रसाद श्रेष्ठ : विचार र रचना’ नामक उक्त कृति पेशलकुमार निरौला र महामुनीश्वर आचार्यको सम्पादकत्वमा श्रीमती हीरादेवी श्रेष्ठले प्रकाशित गर्नुभएको हो ।
पुस्तकको शीर्षकबाट नै प्रस्ट्याउँछ कि प्रजातान्त्रिक आन्दोलनका दौडान पटक–पटक गरी दश वर्षभन्दा बढी जेल बस्नुभएका ओमकार श्रेष्ठको सङ्घर्षमय राजनीतिक जीवनबारे नभई यस पुस्तकले नेता श्रेष्ठका राजनीतिक विचार तथा भावनाबारे बोल्छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित अन्तर्वार्ता तथा लेख–रचनाको सङ्गालो भएकाले खासगरी ०४६ सालको जनआन्दोलन, त्यसपछि उत्पन्न राजनीतिक खिचातानी, नेपाली काङ्ग्रेसको अन्तरपार्टीसङ्घर्ष एवम् इमानदार खेमाको निरन्तर अवमूल्यनको सूक्ष्म राजनीतिलाई पुस्तकमार्फत तर्कपूर्ण रूपमा बुझ्न सकिन्छ । वरिष्ठ प्रजातन्त्रवादी एवम् राष्ट्रवादी नेता कृष्णप्रसाद भट्टराईसँगको लामो सहयात्राको स्पष्ट प्रभाव ओमकारका रचना र विचारमा परेका पाइन्छन् भने सर्वोच्च नेता गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाको राजनीतिक, सामाजिक पृष्ठभूमि, स्वभाव र कार्यशैलीलाई पुस्तकमार्फत यथार्थ चित्रण गर्ने प्रयास गरिएको छ । नेपालजस्तो मुलुकमा राष्ट्रवादी र प्रजातन्त्रवादी दुवै हुनु कति कष्टपूर्ण छ भन्ने बुझ्न ओमकारप्रसाद श्रेष्ठको यो पुस्तक महत्वपूर्ण छ । पुस्तकमार्फत नेता श्रेष्ठले पार्टी अनुशासन, इतिहास र योगदानको कदर पार्टी र राष्ट्रले गर्नुपर्ने आफ्नो धारणा बारम्बार दोहो-याउनुभएको छ । निष्ठाको राजनीति र राष्ट्रवाद उहाँको चुरो रहेको बुझ्न सचेत पाठकलाई गाह्रो पर्दैन । ‘पार्टी नीति, सिद्धान्त र सङ्गठन सम्बन्धमा’, ‘सङ्घीयता, गणतन्त्र र राज्य पुनर्संरचना सम्बन्धमा’, ‘राजनीतिक निकास र शान्तिप्रक्रिया सम्बन्धमा’ र ‘तस्बिर खण्ड’ गरी चार खण्डमा विभक्त तीन सय दुई पृष्ठको पुस्तक नेपालको राजनीतिक इतिहासको अध्येताका लागि उपयोगी हुनेमा दुईमत नहोला ।
‘ओमकारप्रसाद श्रेष्ठ विचार र रचना’को गत आइतबार काङ्गे्रस सभापति सुशील कोइरालाले विमोचन गर्नुभयो । ललितपुरमा आयोजित विमोचन समारोहमा सभापति कोइरालाले नेता ओमकारले प्रजातान्त्रिक आन्दोलनमा पु-याउनुभएको योगदानको चर्चा गर्दै खिलराज रेग्मीलाई सरकारप्रमुख र लोकमानसिंह कार्कीलाई अख्तियारप्रमुख बनाउनुपर्ने बाध्यता कसरी आयो भन्नेबारे स्पष्ट गर्नुभएको थियो । कार्यक्रममा काङ्गे्रसका अर्का बहुचर्चित नेता एवम् पूर्वसभामुख तानानाथ रानाभाटको पनि आफ्नो विचार प्रकट गर्नुभएको थियो । विद्वान् डा. तुलसी भट्टराईले पुस्तकबारे चर्चा गर्नुभएको थियो भने अर्का विद्वान् डा. रमेश ढुङ्गेलले काङ्गे्रसको वैचारिक विचलनबारे निकै मार्मिक ढङ्गले चर्चा गर्नुहुँदै ओमकार श्रेष्ठ र उहाँको वैचारिक अडानबारे विवेचना गर्नुभएको थियो । काङ्गे्रसका ललितपुर नगरसभापति भरतलाल न्ह्याछ्यौद्वारा स्वागत मन्तव्य प्रकट गरिएको समारोहको सञ्चालन उपप्राध्यापक पेशल निरौलाले गर्नुभएको थियो ।

केसीको यौन उपन्यास
युवकको यौनकुण्ठालाई अक्षरमार्फत छताछुल्ल पारेका छन् दिपेश केसीले । किशोरदेह पुस्तकले आधुनिक किशोरहरूको पहिचान सङ्कटलाई उजागर गरेको छ । यौनकुण्ठाले छटपटिएका किशोर परम्परागत समाजको मूल्य–मान्यतासँग जुधिरहेको विषयलाई पुस्तकले समेटेको छ ।
किशोर उमेरको उत्सुकता र अराजक स्वभाव समेट्दै यौन मामलामा ढोंगी समाजलाई चुनौती दिइएको छ । फ्रायडवादबाट प्रभावित पुस्तक दार्शनिक विचारहरूले भरिएको छ । ब्रोदर्श प्रकाशन प्रा.लि.ले यसै साता बजारमा ल्याएको पुस्तक चर्चामा छ । खोक्रा आदर्श र ढोंगी विचारले भरिएका लेखरचना थोपरिने प्रवृत्तिमाथि चुनौती थपिइरहँदा किशोरदेहले समाजको चिरफारको साहस देखाएको छ । युवा, अपराध र यौन विषयमा कलम चलाउँदै आएका केसी पुस्तक चर्चामा पुगेपछि उत्साही छन् । उनको अपराधसम्बन्धी अनुसन्धानमूलक तीनवटा पुस्तक बजारमा आउँदै छन् ।