छोट्टियो प्रधानमन्त्रीको चीन भ्रमण

छोट्टियो प्रधानमन्त्रीको चीन भ्रमण


प्रधानमन्त्री केपी ओलीको असार ५ देखि ८ गतेसम्म हुने उत्तरी छिमेकी मुलुक चीनको भ्रमणबारे परराष्ट्र मन्त्रालले आज बिहीबार पत्रकार सम्मेलन गरी भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीको टोली एक निजी एयरलाइन्सबाट भ्रमणमा निस्किनेछ । यसअघि प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत ६ दिने हुने भनेकोमा भ्रमण तालिका छोट्याउँदै ४ दिने भएको जानकारी आज आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परम्परागत र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन भ्रमण केन्द्रित हुने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि नेपालका प्रधानमन्त्रीको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै त्यसबेला भएका सम्झौता कार्यान्वयनको चरणमा लैजान पनि भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।

‘यो भ्रमणले नेपाल–चीनबीचको सम्बन्धमा थप उचाइ मिल्छ भन्ने हाम्रो बुझाइ छ,’ पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने ।

भ्रमणका अवसरमा वर्षायाममा अवरुद्ध हुने गरेका नेपाल–चीन नाका सञ्चालन गर्ने विषयमा छलफल गर्ने तयारी रहेको सो अवसरमा जानकारी दिइयो । नेपाल र चीन जोड्ने हिल्सा, रसुवागढी, रिम्पु–तिप्लापास, दार्चुलाको टिंकर, बझाङको उराइपासलगायतका नाका वर्षामा अवरुद्ध हुँदा ती नाकाबाट खाद्यान्नलगायतका सामान ढुवानीमा वर्षेनी समस्या हुँदै आएको छ । नेपाल–चीन जोड्ने तातोपानी नाकासमेत आगामी मेबाट खुलाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

सम्झौता हुने विषय

रसुवामा बन्न लागेका दुईवटा पुल र कृषि र पशुपालनका क्षेत्रमा सम्झौता गरिनेछ । त्यसैगरी क्रस बोर्डर ट्रन्समिसन लाइनबारे सम्झौता गरिनेछ जसले ऊर्जा क्षेत्रमा एक हजार मेगावाट बिजुली उत्पादन गर्ने अनुमान छ । त्यसमा चिनियाँ र बुुटवल पावर कम्पनीको सहकार्य हुने उल्लेख छ ।

भ्रमण–कार्यतालिका

असार ५ गते दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने ।

असार ६ गते चाइनिज बिजनेस कमिटी (सीसीटीआईपी) सँग छलफल गर्ने । सो छलफलमा ऊर्जालगायतका विषयमा सम्झौता गरिनेछ । सोही दिन उच्चस्तरीय भेटघाट हुने कार्यतालिका रहेको छ ।

असार ७ गते नेपाल पर्यटन भ्रमण वर्ष २०२० कार्यक्रममा सहभागी हुने कार्यतालिकामा समेटिएको छ । सोही दिन चिनियाँ प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्ने प्रधानमन्त्रीको भ्रमण कार्यतालिकामा उल्लेख छ ।

असार ८ गते २२ तिब्बतियन स्वायत्त क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीका सेक्रेटरीसँग भेटघाट तथा तिब्बतका केही क्षेत्रको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने प्रधानमन्त्रीको भ्रमण कार्यक्रम रहेको छ ।