सिंहदरबारभित्रै पसेर प्रदर्शन गर्ने काङ्ग्रेसको चेतावनी

सिंहदरबारभित्रै पसेर प्रदर्शन गर्ने काङ्ग्रेसको चेतावनी


नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सडकमा मात्र होइन सिंहदरबारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालयअगाडि प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।

जेठ ३१ गते सुर्खेतमा नेविसङ्घका कार्यकर्तामाथि भएको प्रहरी धरपकडको विरोधमा प्रवक्ता शर्माले आज विज्ञप्ति जारी गर्दै सरकारको रवैया यस्तै रहे सिंहदरबारभित्रै पसेर प्रदर्शनी गर्ने चेतावनी दिएका हुन् ।

शर्माद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘हिजो मिति २०७५ जेठ ३१ गते सुर्खेतमा भएको घटनाका प्रति नेपाली काङ्ग्रेसको गम्भीरतापूर्वक ध्यानाकृष्ट भएको छ । निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपश्चात् नेपाली काङ्ग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अङ्ग हो । पञ्चायतकालमा समेत नेपाली काङ्ग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना भएका थिएनन् । तर, कम्युनिस्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ ।’

स्मरणीय छ, बजेट भाषणपछि दैनिक उपभोग्य वस्तुको मूल्य थेग्ने नसक्ने गरी वृद्धि भएपछि नेपाल विद्यार्थी सङ्घले सरकारसँग मूल्यवृद्धि फिर्ताको मागसहित देशैभर सडक आन्दोलन गर्दै आएको छ ।